चोरीको घटनामा संलग्न रहेको आरोपमा ४ जना पक्राउ

प्रतिकात्मक तस्वीर

गोरखा – जिल्ला सदरमुकाम र आससापका क्षेत्रमा लगातार भइरहेको चोरीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । 

चाडपर्वका मौकछोपी गरगहना, टिभी, मोबाइललगायत चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय गोरखाले उनीहरूलाई पक्राउ गरेको हो ।


Advertisement

पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका–८ का २३ वर्षीय बाघे भनिने सुमन बराम, गोरखा नगरपालिका–५ का २१ वर्षीय राजकुमार नेपाली, २० वर्षीय राजकुमार मग्राती, गोरखा नगरपालिका–१ ताप्लेका भुवन नेपाली रहेको गोरखाका प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए ।

उनका अनुसार बाघे भनिने बरामलाई प्रहरीले पिछा गरी जिल्लाको भीमसेन थापा गाउँपालिकाको ध्याम्पेसालबाट पक्राउ गरिएको होे । अन्य २ अभियुक्त नेपाली र मग्रातीलाई गोरखा सदरमुकामको बसपार्क क्षेत्रबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।


Advertisement

अर्का अभियुक्त भुवन नेपालीलाई गोरखा  नगरपालिका–८ आहालेबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूले कात्तिक २० गते गोरखा नगरपालिका–६ स्थित धु्रवकुमार भट्टको घरबाट सुनका गरगहना चोरी गरेको प्रहरीले जनाएको छ । 

अर्का अभियुक्त नेपालीले गोरखा नगरपालिका–६ स्थित हिमालय केवल नेटवर्क प्रालिमा चोरी गरेको खुल्न आएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।  

पक्राउ परेको अभियुक्तहरूको साथबाट औठी, रानीहार, तिलहरी, सिरबन्दी, चन्द्रमा १/१ थान बरामद गरेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।

सुनको झुम्का भने स्वरुप परिवर्तन गरिसकेको अवस्थामा बरामद भएको उनले बताए । पक्राउ परेको अभियुक्तहरूको साथबाट चाँदीको धातुजस्तो देखिने ब्रासलेट र सिक्रीसमेत १/१ थान बरामद गरेको उनले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्