अवैध कब्जा र एकतर्फी नक्साविरुद्ध निर्णायक विन्दुमा नेपाल

पुष्प न्यौपाने
पुष्प न्यौपाने

वामपन्थी राजनीतिमा कलम चलाउने न्यौपाने प्रेस संगठन निकट पत्रकार हुन् ।

कालापानी नेपालको भूमि थियो, नेपालकै हो र नेपाल भन्ने देश रहेसम्म त्यो नेपालकै भूभागका रुपमा रहिरहने छ । कालापानीमाथि भारतको अवैध कब्जा र एकतर्फी नक्सालाई नेपालले कहिल्यै मान्यता दिएको छैन र दिने छैन ।

पश्चिमी किल्ला काँगडा पूर्वमा टिष्टा पुगेथ्यौं
कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौं ?


Advertisement

यो हरफमा कुनै रुमानी साहित्य छैन । आधुनिक नेपालको आरम्भ अभियानको विजयगाथा र ब्रिटिश साम्राज्यसँग नाङ्गो खुकुरीले लडेको बहादुरीपूर्ण इतिहासको मर्मलाई पुस्ता हस्तान्तरण गर्न, आफ्नो जेनेटिक लडाकु विरासतलाई कायम राख्न र स्वतन्त्रता, स्वाधिन एवं स्वाभिमानका लागि जुनसुकै मूल्य चुकाउन प्रेरणा प्रदानका लागि ऐतिहासिक तथ्यको जगमा उभिएर कोरिएको कालजयी पंक्ति हो यो ।


Advertisement

वीरतापूर्ण विरासतको अपवादका रुपमा नेपालले गएका ७० वर्ष गुजारेको छ । त्यसअघि नेपालको ४–५ हजार वर्ष लामो इतिहासमा उसले आफ्नो सम्पन्नता, वैभवता, वीरता र कीर्तिमानलाई अनवरत कायम राखेको छ । नयाँदिल्लीले नेपालको प्राचीनदेखि आधुनिक इतिहासलाई नजरअन्दाज गर्नु हुँदैन । यदि दिल्ली आफ्नो जिद्दीमा अडिग रहन्छ भने उसले यस युगको सबैभन्दा ठूलो संकटको सामना नेपाली भूमिबाटै व्यहोर्नुपर्छ । किनकि अब नेपाल आफ्ना क्षेत्रीय र विश्वव्यापी मित्रसँगको घनिष्ट सम्बन्धमा छ ।

अबको लडाइँमा नेपाल एक्लै हुँदैन । शक्ति राष्ट्रको चासो, सरोकार र उपस्थिति नेपालमा छ । नेपालसँग भरपर्दा छिमेकी छन् र वैकल्पिक छिमेकी पनि छन् । आवश्यकतामा मोर्चा निर्माण गरेर जाउँ भन्ने छिमेकी छन् । आफूमाथिको गहिरो संकटमा सच्चा मित्रलाई साथ लिनसक्ने ठाउँमा छ नेपाल ।

नेपालले नजिकको छिमेकी भारतलाई सदैव सकारात्मक आँखाले हेर्‍यो । उसको स्वतन्त्रता संग्राममा नेपालको बौद्धिक वर्ग खुलेरै लाग्यो । अन्य छिमेकीसँगका भारतीय विवाद र बहसमा नेपाल टाढै बस्यो तर आफू व्यवस्थित बन्दै जाँदा भारतले नेपालमाथिको गिद्धेदृष्टि बढाउँदै आयो ।

देशव्यापी रुपमा सीमा अतिक्रमणलाई भारतीय पक्षले तीब्र तुल्यायो । नेपालले एक असल छिमेकी सम्झँदै त्यसो नगर्न आग्रह गरिरह्यो । पछिल्लो पटक २ देशको सीमा विवाद समाधानका लागि राजनीतिक स्तरमा समझदारी जुट्यो । नेपालले ठान्यो भारतले आफूलाई सच्याउनका लागि एउटा औपचारिक बाटो अपनायो, सीमा विवादकै कारण विगत केही दशकदेखि २ देशको जनस्तरसम्म बढ्दै गएको तिक्तता अब अन्त्य हुन्छ ।

सीमा विवाद समाधानको नेपाली आशामाथि भारतीय पक्षले तुषारापात मात्रै गरेन, बरु यसपटक २ देशको सीमा विवाद समाधानका लागि गठित प्रवुद्ध समूहका प्रतिवेदनलाई थाती राख्दै एकतर्फी रुपमा कालापानी आफ्नो नक्साभित्र पार्ने कुरा मिचाहा प्रवृत्तिको अझ बढी विस्तारित रुप अपनायो । यो आरएसएस विचारधाराको तिब्बती श्रृंखलासम्म भारतकै भूभाग बनाउने उग्र अहंकारको नयाँ कदम हो । यसलाई नेहरु डक्ट्रिनको नेपाल खाने अवधारणाकै निरन्तर प्रयासको आक्रामक शैलीका रुपमा लिनुपर्छ ।

कश्मीर र सिक्किम पूर्णरुपमा आफूभित्र विलय गराउँदै भुटानको सार्वभौमसत्ताको चाबी आफ्नो हातमा लिएपछि अब नेपालमाथि पाइला विस्तार गर्ने भारतीय दादागिरीको संकेतका रुपमा कालापानीमाथिको आक्रमण देखापरेको छ तर नेपाल आफ्नो सार्वभौमसत्ताको निम्ति संवेदनशील छ र नेपाल जुन दिन अन्तिम मुठभेडका लागि तयार भएको घोषणा गर्छ, त्यो दिन दक्षिण एसियाको मानचित्र पूर्णरुपमा बदलिने छ ।

सम्भवतः तेस्रो विश्वयुद्धको शुरूवात त्यहीँ विन्दुबाट शुरू हुनेछ । कुरा स्पष्ट छ, जुन दिन नेपाल भन्ने देश रहने छैन, त्यो दिन भारत भन्ने देश पनि रहने छैन । नेपाल सानो छ, त्यसैले शक्तिका हिसाबले सामान्य लाग्ने एउटा पाटो हुनसक्छ तर सामरिक रुपमा यसको रणनीतिक महत्त्व इतिहासका तमाम युद्धमोर्चाले पुष्टि गरेका छन् । यस माटोको बहादूरीपनलाई संसारको कुनै शक्तिले बन्धक बनाउन सक्ने छैन र पराजित गर्न सक्ने छैन भन्नेमा आमनेपाली सदैव विश्वस्त छन् । 

नागरिकको यहीँ अनुपम साहस, विश्वास, वीरता र राष्ट्रका लागि बलिदानीको समर्पित भाव नै मुलुकको बलियो सैन्य शक्ति हो । हामी इतिहासमा कहिल्यै पनि संगठित सैन्य शक्तिमाथि मात्रै निर्भर थिएनौं र आज पनि आमनागरिक नै आवश्यकतामा सैन्य शक्तिकै रुपमा मैदानमा ओर्लन सक्छन् भन्ने कुरामा नेपाल विश्वस्त छ । कालापानी आफ्नो नक्साभित्र पार्ने भारतीय चालबाजीलाई नेपालले तथाकथित षड्यन्त्रको एउटा हिस्साका रुपमा लिएको छ । नेपालको परराष्ट्र मन्त्रालयले एउटा श्वेतपत्र जारी गरी स्पष्ट रुपमा भनेको छ, कालापानी नेपाली भूमि हो यसमा नेपाल स्पष्ट छ र भारतले एकतर्फी रुपमा जारी गरेको नक्सा नेपाललाई मान्य छैन ।

सीमांकन र नक्सांकनबारे नेपालसँग लिखित दस्तावेजका रुपमा ब्रिटिश साम्राज्यसँग गरिएका सन्धिहरू छन् । त्यसअघिका लडाइँ र विजयका शृंखला छन् । नेपालले कुनै साम्राज्यले आर्जन गरेको भौगोलिक नक्सालाई धर्मपुत्रका रुपमा वा दासीपुत्रका रुपमा भाग्यले प्राप्त गरेको छैन । नेपाल जुन भूभागमा उभिएको छ, त्यहाँ कसैको दया, माया, करुणा, भिख, बक्सिस, अपुताली र उत्तरदानका गुन्जायस छैनन् । नेपालले पाखुराको बलमा जे आर्जन गरेको थियो, ब्रिटिश साम्राज्यको चलाखी र धुर्त्याइँका कारण उसले बरु त्यो गुमायो तर ब्रिटिशले जम्मा र एकत्रित गरिदिएको भूमि, विकास, शिक्षा र औद्योगिक आधारस्तम्भ जस्ता महत्त्वपूर्ण पूर्वाधारमा नेपालले कहिल्यै लालसा गरेन । सीमाका विषयमा नेपालले अब उप्रान्त भारतसँगका कुनै पनि द्विअर्थी, जालसाजीपूर्ण र नेपालका शासकलाई ट्रयापमा पारेर गर्न खोजिएको गोेप्य वा खुला असमान सन्धिलाई वैधता र मान्यता दिनु हुँदैन ।

कालापानी मात्रै होइन, भारत ऐतिहासिक तथ्यको विवरण चाहन्छ भने उसले १८०२ देखि नेपालले ब्रिटिशसँग लडेका लडाइँ हेरोस् । अमरसिंह थापा र बलभद्रको कमाण्डमा लडेको टोलीले कुमाउका राजा मोहन चन्द र गढवालका राजा प्रद्युम्न शाहलाई पराजित गरेको तथ्य आँखा खोलेर हेरोस् । कुमाऊ र गढवालले नेपाललाई बर्सेनि बुझाएको करदेखि श्रीनगरमा राखिएको एक टुकडी गोर्खाली सेनाको फौज प्रद्युम्न शाहले आफ्नै निजी खर्चमा व्यहोर्ने सम्झौता हेरोस् । काँकडाको किल्लामा लडिएको इतिहास र देहरादुनमा वीर बलभद्र ब्रिटिश फौजसँग लडेको इतिहास हेरोस् । पूर्वमा टिष्टामा तत्कालीन सरदार पाण्डेहरूको विजयका मिथक र किंवदन्ती दार्र्जिर्लिङ हुँदै सिक्किमको भूभागसम्म अझै वर्णित छन् । नेपालका यी ऐतिहासिक तथ्यबारे भारत विस्तृत जान्न चाहन्छ भने उसले ब्रिटिश शासकसँग हाउस अफ गोर्खाबारे गहिरोसँग बुझोस् ।

सन्धिका आधारमा नेपालको नक्सा

नेपालको नक्सा सन्धिका आधारमा छ । कुनै जालसाजी, षड्यन्त्र, खुसामद र विपक्षीलाई टर्चरमा पारेर रातारात कसैको सीमा हडप्ने उद्देश्यले प्रेरित भइ नेपालले नक्सा तयार पारेको छैन । सन् १८१५ अघि नेपालको सीमाना पूर्वमा टिष्टा र पश्चिममा काँकडासम्म थियो । दार्जिलिङ र श्रीनगरमा गोर्खाली फौज तैनाथ थियो । १८१५ को पहिलो विश्वयुद्धका क्रममा नेपाल र ब्रिटिश साम्राज्यबीच घमासान लडाइँ भयो । त्यो अन्तिम र निर्णायक लडाइँ बनाउन ब्रिटिशले पृथ्वीनारायण शाहको काठमाडौं उपत्यकामाथि विजयकै बेलादेखि सोच बनाइसकेका थिए । पटक–पटक गोर्खाली फौजमाथिको अघोषित युद्ध र अघोषित पराजयले ब्रिटिशहरू आगो थिए । त्यसैले उनीहरूले १८१५ को लडाइँमा नेपाल भन्ने देशलाई इस्ट इन्डिया शासित नक्साभित्र गाँभ्नुपर्छ भन्ने निष्कर्ष निकाले । जसको फलस्वरुप ५ वटा ठाउँबाट एकैचोटी आक्रमण गर्ने र विशाल फौजलाई मैदानमा उतार्ने इस्ट इन्डियाले रणनीति अख्तियार गर्‍यो । उनीहरूको त्यस्तो गोप्य योजनाबारे नेपाली फौज पूर्ण सचेत भएपनि पूर्व सूचित थिएन । ५ ठाउँमा ब्रिटिश फौजको एकैसाथ आक्रमणपछि नेपाली फौजको काठमाडौंमा निरन्तर सूचना सम्पर्क हुन सकेन ।

हातहतियार, गोला बारुद, लत्ताकपडा र खाद्यान्नको जोहो के कस्तो छ भन्ने कुराको जानकारी हासिल र आपूर्तिको काम काठमाडौंस्थित हेडक्वार्टरबाट सम्भव थिएन । त्यस्तो अस्तव्यस्तताका बाबजुद पनि नेपालले हारेको नालापानीको लडाइँ हो । टिष्टाको लडाइँमा आंशिक असफलता हो र काँकडाको फौज कब्जा जमाएरै बसेको थियो । त्यो केन्द्र सरकारको निर्देशनपछि फिर्ता भएको हो र बुटवल, पर्सा तथा विराटनगरको लडाइँमा नेपालले युद्ध जितेकै हो । विशेषगरी नालापानीको एउटा मोर्चामा पानीको मुहान काटिँदा भोग्नुपरेको पराजयले केन्द्र सरकारलाई मनोवैज्ञानिक टर्चर दिन ब्रिटिशहरू सफल भए र त्यसैको जगमा १८१६ को सुगौली सन्धि भयो र नेपालले आफ्नो विशाल भूभाग गुमायो ।

१८१६ को सुगौली सन्धिमा कालापानी नेपालकै नक्सामा छ । महाकाली नदिको मुहान काली नदी भारतले अहिले देखाएको सानो खोल्सो होइन । त्यसको स्पष्ट नक्सा छ, काली नदीको परिभाषा छ र काली नदीको आफ्नै पहिचान छ । नेपालको नापी विभागसँग भएका प्रमाणका आधारमा कालापानीमा ३७४ वर्ग किलोमिटर सामरिक रणनीतिक महत्त्वको भूगोल हडप्न भारतले बलमिच्याइँ र नक्कली दस्तावेजको साहरा लिएको छ । भारतले आफ्नो नक्साभित्र पार्ने प्रयास गर्दै आएको कालापानीको भूभाग नेपालको हो भन्ने कुराको सबैभन्दा ठूलो प्रमाण ब्रिटिश सर्वेअर अफ इन्डियाले १८२७ मा जारी गरेको कुमाऊ–गढवालको नक्सा हो, जहाँ अहिले भारतीय नक्सामा देखिएको कालापानी स्पष्ट रुपमा नेपालमा छ ।

त्यसैगरी १८५६ भारतको सर्वेक्षण विभागले प्रकाशित गरेको नक्सा, २०१८ सालको नेपालको जनगणनामा कुती, नाभी लगायत स्थानका विवरण संकलन र २०२२ सालको नापजाँच कालापानीका लागि यथेष्ठ प्रमाण हुन् ।

कमेन्ट गर्नुहोस्