बाबुरामको विश्लेषण: नेकपा सरकारको गन्तव्य ‘दुःखी नेपाली र दरिद्र नेपाल’ !

काठमाडौं – सत्तारुढ समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नै पार्टी सम्मिलित सरकारले लिएको लक्ष्यमाथि तिखो व्यंग्य प्रहार गरेका छन् ।

‘सुखी नेपाली, समृद्ध नेपाल’ नारा जतिसुकै रटेपनि व्यवहारमा त्यो ‘दुःखी नेपाली र दरिद्र नेपाल’ नै हुने उनको टिप्पणी छ ।


Advertisement

बिहीवार काठमाडौंमा शुरू भएको समाजवादी पार्टी नेपालको संघीय परिषद् बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा वर्तमान सरकारबाट समृद्धि सम्भव नभएको जिकिर गरेका हुन् ।

‘कांग्रेस–कम्युनिस्टजस्ता पुराना पार्टीहरूले ‘विकास, सुशासन, समृद्धि र समाजवाद’को जति चर्को नारा लगाए पनि त्यो भ्रम बाहेक केही हुने छैन । उनीहरूको सोच, संस्कार र सिद्धान्तको सीमाले नै यी कार्यभार उनीहरूबाट पूरा हुन सम्भव छैन,’ २५ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘सुखी नेपाली, समृद्ध नेपाल’ नारा जतिसुकै रटेपनि व्यवहारमा त्यो ‘दुःखी नेपाली र दरिद्र नेपाल’ नै हुनेछ । वैचारिक तथा संस्थागत संरचनात्मक दोषहरूले गर्दा चाहेरै पनि उनीहरूले समृद्धीकरणको युगको नेतृत्व लिन सक्ने सम्भावना रहन्न ।’


Advertisement

पूर्व प्रधानमन्त्री समेत रहेका नेता डा. भट्टराईले समृद्ध नेपालको कार्यभार समाजवादी पार्टीले मात्र पूरा गर्न सक्ने दाबी गरेका छन् । 

‘यो कार्य हाम्रो पार्टी, समाजवादी पार्टीले मात्र पूरा गर्न सक्छ । समाजवादी कार्यभार र मार्गचित्र पूँजीवादी र साम्यवादी शक्तिहरूले लागू गर्ने अपेक्षा आफैंमा हाँस्यास्पद हो । समाजवादी कार्यभार, समाजवादी मार्गचित्र, समाजवादी राज्य न पूँजीवादीबाट, न साम्यवादीबाट, न कांग्रेसबाट न कम्युनिस्टबाट हुन सक्छ । यो स्वभावैले समाजवादी पार्टीको नेतृत्वमा मात्र सम्भव छ,’ भट्टराईको प्रस्तावमा उल्लेख छ । 

कमेन्ट गर्नुहोस्