बाबुरामको प्रतिवेदन : ‘कांग्रेस – नालायकीको भारले थाङथिलो, नेकपा – उठ्न नसक्ने गरी पतनको दिशामा !’

फाइल फोटो

समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारुढ दल नेकपा र प्रतिपक्षी दल नेपाली कांग्रेस देशको समस्या समाधान गर्न पूरै असफल भएको दाबी गरेका छन् ।
उनले यी दलबाट देशको विकास र समृद्धिको आकांक्षा राख्नु मूखर्ता हुने टिप्पणी गरेका छन् । 
बिहीवार काठमाडांैमा शुरू भएको समाजवादी पार्टी नेपालको संघीय परिष्द बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा भट्टराईले पुराना दलले आफ्नो औचित्यता गुमाएको जिकिर गरेका हुन् ।
सत्तारुढ नेकपाप्रति टिप्पणी गर्दै उनले आउँदा केही वर्ष वा दशकभित्र नेकपा भविष्यमा फेरि उठ्न नसक्ने गरी पतनको दिशामा अभिमुख भएको आरोप लगाएका छन् ।
‘आउँदा केही वर्ष वा दशकभित्र नेकपा भविष्यमा फेरि उठ्न नसक्ने गरी पतनको दिशामा अभिमुख छ । नेकपाको राजनीतिक व्यवहार र नेकपाले सञ्चालन गरिरहेको सरकारले यहीँ कुरा पुष्टि गर्दैछ,’ भट्टराईले राजनीतिक प्रतिवेदनमा लेखेका छन् ।
बाबुरामले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसप्रति पनि कठोर प्रहार गरेका छन् । ‘आज कांग्रेस आफ्नै असक्षमता, अकर्मण्यता र नालायकीको भारले थिचिएको छ । प्रमुख प्रतिपक्षको भूमिका समेत राम्ररी निभाउन नसक्ने गरी थङथिलो भएको छ,’ भट्टराईले राजनीतिक प्रतिवेदनमा लेखेका छन् । 

नेपाली कांग्रेस


Advertisement

वैचारिक दृष्टिकोणले नेपाली कांग्रेस ‘उदार–लोकतान्त्रिक’ धारको नेतृत्व गर्ने दल हो । औपचारिक तवरले दस्तावेजमा ‘प्रजातान्त्रिक समाजवाद’ लेखेपनि २०४६ साल यताका उसका कुनै पनि व्यवहार र एजेण्डाले कांग्रेस समाजवादी दल भएको पुष्टि हुँदैन । २०४६ सालपछि कांग्रेस नेतृत्वमा सरकार बन्यो र उसले आफ्ना नीतिहरू पूँजीवादी बजार अर्थतन्त्रको पक्षमा लक्षित गर्दै गयो । सन् १९९० को नवउदारवादको विश्वव्यापी लहरले कांग्रेसलाई ‘प्रजातान्त्रिक–समाजवाद’को आवरणबाट बाहिरिन सहज बनाइदियो । यो धारसँग हाम्रो पार्टीको मिल्ने विषय भनेको दलीय स्वतन्त्रता र बहुदलीय व्यवस्था मात्र हो । अरु सबै कुुरामा यो दलभन्दा हामी फरक छौं ।

यो पार्टी हिजो संवैधानिक राजतन्त्रको पक्षधर थियो । परिस्थितिवंश लतारिएर गणतन्त्रमा आयो तर हामी सिद्धान्ततः नै गणतन्त्रवादी हौं । गणतन्त्रजस्तै यो पार्टी हिजो संघीयता र समावेशिताको विरुद्धमा थियोे । अनिच्छावश मान्न बाध्य भयो तर हामी वैचारिक प्रतिवद्धताकै हिसाबले संघीयता र समावेशिताको पक्षमा छौं । धर्मनिपेक्षता हाम्रो वैचारिक प्रतिबद्धता हो । कांग्रेसका कैयौं नेताहरू अहिले पनि यसलाई उल्टाउन सार्वजनिक रुपमा जनमत निर्माण गर्दै हिँडेका छन् । 


Advertisement

यो पार्टीले संसदीय लोकतन्त्रलाई आफ्नो अडान बनाएको छ । संविधान सभाले संविधान बनाउँदा प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसदको व्यवस्था हुन नसक्नुको कारण कांग्रेसको यो अडान पनि थियो । यो पार्टी उत्पीडित जनसमुदायको मुक्ति, पहिचान र अधिकारको विपक्षमा छ । संघीयताको सही मोडेल निर्धारण हुन नसक्नुमा कांग्रेसको ठूलो हात छ । कांग्रेस सहभागितामुलक, समावेशी समानुपातिक लोकतन्त्रको विरुद्धमा उभिने गरेको छ । यो पार्टीको सरकारले नै नेपालमा निरपेक्ष निजीकरण र उदारीकरण शुरुवात गरेको थियो । राष्ट्रिय उद्योगधन्दाहरू समाप्त गर्ने, कृषि अनुदान कटौती गने, कृषि प्रधान देशलाई कृषि वस्तुमै परनिर्भर र आयातकर्ता बनाउने, श्रम निर्यात गर्ने बाँकी सबै वस्तुहरू विदेशबाट आयात गर्ने, देशलाई निरन्तर व्यापार घाटामा पार्ने, शिक्षा र स्वास्थ्यको अतिव्यापारीकरण तथा माफियाकरण गर्ने, भूव्यवस्थाको व्यापारीकरणमार्फत् अव्यवस्थित शहरीकरण र शहरी सुकुम्बासी समस्या सिर्जना गर्ने, नियमक संस्थाहरूको भूमिका कमजोर पार्ने, जताततै मूल्य कार्टेलिङ र सिन्डिकेटलाई प्रश्रय दिने, ठेक्कापट्टा र राजकीय स्रोतहरूमा निश्चित वृत्तलाई मात्र पोस्ने र कमिसनतन्त्रलाई बढावा दिनेजस्ता प्रवृत्तिहरू कांग्रेसले संस्थागत गरेको हो । 

कांग्रेसको शासनकालमा लाउडा, धमिजा, सुडानजस्ता ठूल्ठूला भ्रष्टाचार काण्डहरू भए तर कहिल्लै विश्वासनीय छानबिन भएन । सुशासनको सवालमा यो पार्टीको प्रतिवद्वता व्यवहारमा देखिएन । आज कांग्रेस आफ्नै असक्षमता, अकर्मण्यता र नालायकीको भारले थिचिएको छ । प्रमुख प्रतिपक्षको भूमिका समेत राम्ररी निभाउन नसक्ने गरी थङथिलो भएको छ । तथापि यो पार्टीको देशभरि फैलिएको संगठन र परम्परागत जनमत छ । वैकल्पिक लोकतान्त्रिक तथा समाजवादी दलको अभावमा राजावादी र साम्यवादीलाई भोट दिन नचाहने जनमतले यो पार्टीलाई भोट दिदै आएको छ । हाम्रो पार्टीले यो जनमतमाथि उल्लेखनीय हस्तक्षेप गर्नु पर्दछ । वैकल्पिक लोकतान्त्रिक शक्तिको उदय भइसकेको सन्देश दिनु पर्दछ ।

नेपाल कम्युनिस्ट पार्टी

नेपालमा कम्युनिस्ट पार्टीको स्थापना शास्त्रीय साम्यवादको सिद्धान्त, सोभियत प्रणालीको अनुुप्रेरणा र चिनियाँ मोडेलको ‘नयाँ जनवादी क्रान्ति’ गर्ने उद्देश्यबाट भएको थियो । सन् १९९० को दशकमा सोभियत संघको पतनपछि एमालेले ‘जनताको बहुदलीय जनवाद’ मार्फत् परम्परागत संसदीय बाटो समात्यो । माओवादीले १० वर्षे जनयुद्ध मार्फत् प्रारम्भिककालको ‘जनवादी गणतन्त्र नेपाल’ स्थापना गर्ने उद्देश्यलाई स्थगन गर्दै ‘संघीय लोकतान्त्रिक गणतन्त्र’को स्थापनामा महत्त्वपूर्ण योगदान गर्‍यो । पछि प्रचण्ड नेतृत्वको माओवादी र एमाले एक भएर बनेको सत्तारुढ नेकपा फेरि एकैसाथ ‘संसदवादी’ र ‘कम्युनिस्ट’ बन्ने अन्तरविरोधपूर्ण बाटोमा अग्रसर भएको छ ।

पार्टीको स्थापनाकालीन मान्यता, सिद्धान्त र उद्देश्यहरू विश्वव्यापी रुपमा असफल भएपछि नेपालको कम्युनिस्ट आन्दोलन कुहिरोको कागजस्तो बन्न पुगेको छ । एकातिर उनीहरूले माक्र्सवाद–लेनिनवाद–माओवादप्रति शाब्दिक निष्ठा व्यक्त गर्न छोडेका छैनन् । 

अर्कोतिर यी विचारको सान्दर्भिकता र प्रयोगबारे उनीहरुमा व्यापक अन्यौल, अविश्वास, निरासा र हिनताभाष छ । यही वैचारिक संकटबीच उनीहरूले आफूलाई ‘दार्शनिक तथा वैचारिक कम्युनिस्ट नभएर केवल राजनीतिक रुपमा मात्र कम्युनिस्ट’ भएको बुुझिदिन आग्रह गर्दै आएका छन् । 

एकातिर लोकतन्त्रप्रतिको आफ्नो निष्ठामा शंका नगर्न अनुनय विनय गर्दछन् अर्कोतिर ‘कम्युनिस्ट–कम्युनिस्ट’को नाममा सामिप्यता र आडभरोसा खोज्न पनि छोडेका छैनन् । एकदलीय सर्वहारा राज्य वा कम्युन प्रणालीलाई मौका पर्ने वित्तिकै गौरवीकरण गर्दछन् । यसरी नेपालको कम्युनिष्ट आन्दोलन वैचारिक रुपले अध्याँरो सुरुङभित्रको यात्रा गरिरहेको छ । हामीले यहाँनेर बुझ्नुपर्ने कुरा के के छ भने दार्शनिक, वैचारिक रुपमा अन्यौलग्रस्त र नैतिक रुपमा स्खलित भइसकेको पार्टी संगठनात्मक रुपमा मात्र लामो समय बलियो भइरहन सक्दैन । आउँदा केही बर्ष वा दशकभित्र नेकपा भविष्यमा फेरि उठ्न नसक्ने गरी पतनको दिशामा अभिमुख छ । 

नेकपाको राजनीतिक व्यवहार र नेकपाले संचालन गरिरहेको सरकारले यही कुरा पुष्टि गर्दैछ । यो पार्टीका ठूल्ठूला नेताहरु भ्रष्टाचार तथा नैतिकपतनका घटनामा लज्जास्पद ढंगले उदांगिँदैछन् । आर्थिक क्षेत्रमा नेकपाले कांग्रेसको नवउदारवादी नीतिलाई नै निरन्तरता दिइरहेको छ । शिक्षा र स्वास्थ्यको व्यापारीकरण कम्युनिष्ट नेतृत्वको सरकारमा पनि रोकिएको छैन । एनसेलको पूँजीगत लाभकर, बुढीगण्डकीको गेजुवा तथा वाइडवडी कमिसन प्रकरण भएका छन् । सम्पत्ति शुद्धीकरण आयोगलाई निस्क्रिय बनाउने तथा ठूला आयोजनाहरू विना टेन्डर सिधै सम्झौता गर्न सक्ने प्रकरणको भित्री रहस्य कालो धन र कमिसनतन्त्रसंगको साँठगाँठ हो भन्ने कुरामा कुनै शंका छैन ।

वर्तमान संविधान जारी गर्दाका बखत कांग्रेससँग मिलेर मधेसी, जनजाति/आदिवासी, थारु, मुस्लिम, खस, शिल्पी/दलित, महिला आदि आन्दोलनलाई निर्मम दमन गर्ने, सप्तरीको मलेठजस्ता घटना गराउन उद्यत हुने, टिकापुर थारु विद्रोहको निर्ममतापूर्वक दमन गर्ने, संसदीय शासकीय प्रणाली कायम राख्ने, १०+१ को मोडेलमा प्रदेश सीमांकन हुन नदिने कार्यमा नेकपाको प्रत्यक्ष हात छ । ‘कम्युनिस्ट आन्दोलनको लोकतान्त्रिकीकरण’ नाममा नेकपा नेपाली कांग्रेसजस्तै औपचारिक–प्रतिनिधिमूलक संसदीय लोकतन्त्रको पक्षपाती बन्न पुगेको छ । आफूलाई समानुपातिक–समावेशी, सहभागितामूलक तथा प्रत्यक्ष लोकतन्त्र को विरुद्धमा उभ्याएको छ । यस्तो प्रवृत्तिविरुद्ध हाम्रो पार्टीले तीव्र वैचारिक तथा राजनीतिक संघर्ष गर्नु पर्दछ । कम्युनिस्ट समर्थक र तल्लो तहका इमान्दार कार्यकर्ता पंक्तिलाई समाजवादी–लोकतन्त्रको मार्गचित्र र कार्यदिशाबारे प्रशिक्षित गर्दै ध्रुवीकृत गर्ने प्रयास गर्नु पर्दछ ।

कमेन्ट गर्नुहोस्