पुस ६, २०८०
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
कात्तिक २९, २०७६
महोत्तरीको पिपरा गाउँपालिकामा मंसिर १४ गते हुने उपचुनावका लागि उम्मेदवारी मनोनयन दर्ता भएलगत्तै चुनावी चहलपहल शुरू भएको छ ।
कात्तिक २७ गते पिपरामा २० जना उम्मेदवारले अध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका छन् ।
राजपा नेपालबाट रबिता कुमारी, नेकपाबाट विक्रम चौधरी, नेपाली कांग्रेसबाट विजयकुमार यादव, समाजवादी पार्टीबाट राम जानकी यादव, जनमत पार्टीबाट अञ्जनीदेवी मण्डलले उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाल लोकतान्त्रिक पार्टीबाट राज किशोर यादव, नेपाल जनता पार्टीबाट रामाकान्त झा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट श्याम सुन्दर चौधरी, इतिहासिक प्रजातान्त्रिक पार्टीबाट शुकराम यादव, राष्ट्रिय जनमुक्ति पार्टीबाट इसराजुल धुनिया, राप्रपा संयुक्तबाट सुनिल ठाकुरले उम्मेदवारी दिएका छन् ।
स्वतन्त्रबाट गणेशकुमार यादव, किशोरी यादव, प्रदीपकुमार यादव, प्रविन चौधरी, रामवृक्ष यादव, पुनित अधिकारी, शैलदेवी मण्डल, सञ्जयकुमार यादव र रञ्जितकुमार झाले उम्मेदवारी दिएका छन् ।
निर्वाचन अधिकृत विष्णु सुवेदीका अनुसार मनोनयन दर्तापछि उम्मेदवार उपर उजुरी दिने र उजुरी उपर जाँचबुझ गरी कात्तिक २९ गते उम्मेदवारको नामावली प्रकाशन गरिने छ । कात्तिक ३० गते नै उम्मेदवारले नाम फिर्ता लिएपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।
मंसिर १ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने छ । मंसिर १४ गते उपनिर्वाचन हुने निर्वाचन अधिकृत सुवेदीले बताए ।
राजपालाई प्रतिष्ठा जोगाउने चुनौती
पिपरामा स्थानीय तह निर्वाचनमा राजपा नेपालका तर्फबाट विनोदकुमार चौधरी अध्यक्ष पदमा निर्वाचित भएका थिए । उनको निधनपछि भइरहेको उपनिर्वाचनमा राजपा नेपालले उनकै पत्नी रविता कुमारीलाई उम्मेदवार बनाएको छ । स्थानीय तहको चुनाव भएकाले सहानुभूति समेत पाउने तथा जातिगत समीकरणका आधारमा समेत राजपाले रवितालाई चुनावी मैदानमा उतारेको छ ।
स्नातक उत्तीर्ण गरेकी रविताले पतिको निधनपछि उनको सपना पूरा गर्न चुनावमा आएको प्रतिक्रिया दिएकी छन् । ‘आफ्नो श्रीमानले विकास निर्माणसहित शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा धेरै काम गर्न चाहनुहुन्थ्यो तर उनको निधनपश्चात् अधुरा काम पूरा गर्न उम्मेदवारी दिएकी हुँ,’ उनले भनिन्, ‘आफूले बोल्नेभन्दा पनि जितेर कामै गरेर देखाउने छु ।’
गाउँपालिकामा जातिगत हिसाबले भूमिहार, ब्राह्मण, यादव र दलित समुदायको बाहुल्यता छ । रविता भूमिहार हुन् । उनको घर गाउँपालिकाको रतौली गाउँमा पर्छ भने माइती पनि गाउँपालिका अन्तर्गतकै हर्दिया पर्छ । चुनावमा भूमिहार, ब्राह्मण र दलित समुदायबाट अन्य कुनै पनि पार्टीले अर्को उम्मेदवार उठाएका छैनन् ।
संगठनात्मक आधारमा हेर्दा गाउँपालिकामा राजपा नेपालको ठूलो संगठन गाउँपालिकामा छैन । विगतमा मधेश आन्दोलनको रापताप र लहरका कारण स्थानीय तहसँगै प्रदेश सभा र प्रतिनिधि सभामा समेत राजपा नेपाल विजयी भएको थियो । प्रतिनिधि सभामा राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर, प्रदेश सभामा अभिराम शर्मा जितेका छन् । रविताको उम्मेदवारी दर्ताका क्रममा प्रदेश सरकारका राज्यमन्त्री समेत रहेका प्रदेशसभा सदस्य अभिराम शर्मा, रानी शर्मा तिवारी, जयनुल राईन, जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्र लगायतका नेता सहभागी थिए ।
राजपाबाट अध्यक्षको टिकटका लागि राज्यमन्त्री शर्माले आफ्नै ससुरा रामपुनित मिश्रको नाम अगाडि सारेका थिए तर रविताले टिकट पाएकी छन् । ‘मैले आफ्नो ससुराका लागि पनि लबिङ गरेकै हो । उहाँ पनि पार्टीको कार्यकर्ता हुनुहुन्छ । त्यसैले उहाँको लागि टिकट माग गरेको थिएँ तर पार्टीले रवितालाई उम्मेदवार बनाएपछि पार्टीको निर्णय मान्य हुन्छ,’ राज्यमन्त्री शर्माले भने, ‘आफ्नो प्रदेश सभाको संसदीय क्षेत्र समेत भएकाले मेरो आफ्नो प्रतिष्ठा जोगाउन पनि मैले रविताजीलाई जिताउनैपर्छ ।’
एकीकरणपछि नेकपा बलियो
नेकपाले अध्यक्ष पदका लागि विक्रम चौधरीलाई चुनावी मैदानमा उतारेको छ । साविकमा गाविस अध्यक्ष भइसकेका चौधरी पनि अध्यक्ष पदका लागि सशक्त उम्मेदवार बनेर चुनावी मैदानमा भिडेका छन् ।
यसअघि स्थानीय तह निर्वाचनमा उनी साविकको एमालेबाट चुनाव लडेका थिए । उनी निकटम प्रतिद्वन्द्वी थिए । ९०२ मत अन्तरले उनी चुनावमा पराजित भएका थिए ।
विगतमा अलग–अलग चुनाव लडेको एमाले र माओवादी हाल एकता भएर नेकपाको रुपमा चुनाव लड्दै गरेका कारण संगठनात्मक आधारले उनी धेरै नै बलियो उम्मेदवारको रुपमा देखिएका छन् । साविकमा भएको चुनावमा एमाले दोस्रो र माओवादीले तेस्रो स्थान प्राप्त गरेको थियो । राजपाले २ हजार ७७५ मत ल्याएर विजयी हुँदा एमाले उम्मेदवारले १ हजार ८७३ र माओवादी उम्मेदवारले १ हजार ५७८ मत ल्याएका थिए । एमाले र माओवादी दुवैको मत जोड्दा विजयी उम्मेदवारभन्दा बढी हुन्छ ।
तर विगतमा माओवादीबाट चुनाव लडेका रामजानकी यादव हाल समाजवादी पार्टीबाट चुनाव लडेका छन् । जसले गर्दा यादवको उम्मेदवारी नेकपालाई चुनौती हुनसक्ने अनुमान समेत गरिएको छ ।
‘रामजानकीजी समाजवादी पार्टीबाट उम्मेदवार बनेपनि पार्टीका कार्यकर्ताहरू उहाँसँग नगएका कारण खासै चुनौती छैन,’ नेकपाका उम्मेदवार चौधरीले भने, ‘२०४८ सालदेखि नै यहाँ कम्युनिस्ट पार्टीका कार्यकर्ताहरू छन्, विगतमा पनि कम्युनिस्टले जितेका कारण अहिले पार्टी एक भएको अवस्थामा चुनाव जितिन्छ ।’
चौधरी पनि यादव समुदायकै हुन् । जातिगत आधारमा प्रमुख दलदेखि कतिपय साना दलबाट समेत यादव समुदायकै नेता उम्मेदवार बनेकाले यादव समुदायको मत बाँडिएर भूमिहार समुदायकी राजपा उम्मेदवार रविताले चुनाव जित्न सक्ने सम्भावना पनि छ ।
जातिगतभन्दा पनि विगतदेखि नै जनताको लागि काम गर्दै आएकाले आफू चुनाव जित्नेमा ढुक्क रहेको चौधरी बताउँछन् । ‘चुनाव हारेपनि चुनावको मत परिणाम आएकै दिनदेखि जनताको काम गर्दै आएको छु,’ चौधरीले भने, ‘जनताको हरेक सुखदुःखमा जनताको साथ दिँदै आएको छु, जनतामा वर्षौंदेखि भिजेर काम गर्दै आएकाले पनि आफूलाई नै जनताले मत दिएर जिताउने छन् ।’
नेकपाको पक्षमा माहोल बनाउन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य तथा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलसहित २ नम्बर प्रदेशका विभिन्न केन्द्रीय नेता यसअघि नै शुभकामना आदानप्रदान कार्यक्रम गरेर आफ्नो पक्षमा माहोल बनाउन चुनावीसभा नै गरिसकेका छन् ।
चौधरीलाई चुनाव जिताउन केन्द्रीय सदस्य रामकुमार शर्माले प्रतिनिधिसभा सदस्य समेत रहेकी पत्नी इन्दु शर्माका साथ पिपरामा डेरा नै लिएका छन् । ‘जनताको मनोविज्ञान नेकपासँग जोडिएको हुनाले यस चुनावमा नेकपाका उम्मेदवार नै विजयी हुनेमा कुनै शंकै छैन,’ शर्माले भने ।
तर नेकपाभित्र टिकटका अर्का दाबेदार कालिचरण साहलाई उम्मेदवार नबनाएकाले अन्तर्घात हुने सम्भावना समेत छ । चौधरीभन्दा वरिष्ठ रहेका साहले टिकटका लागि जबरजस्त लविङ गरेका थिए । सहोर्वा गाउँका साहको पक्षका नेकपाको मत त्यसै गाउँका कांग्रेसका उम्मेदवार विजय यादवको पक्षमा जान सक्ने सम्भावना पनि देखिएको छ ।
‘दुवै जना टिकटका लागि दाबेदार थिए तर पार्टीमा सर्वसम्मत रुपमा नै चौधरीलाई टिकट दिइएको हो,’ नेकपाका केन्द्रीय सदस्य शर्माले भने, ‘अर्का आकांक्षी साह असन्तुष्ट हुने कुरा नै छैन । किनभने उहाँलाई पनि पार्टीले उचित सम्मान गर्ने प्रतिबद्धता दिएको छ ।’
नेपाली कांग्रेसको विरासत !
पिपरा गाउँसँग नेपाली कांग्रेसको राजनीति विरासत जोडिएको छ । नेपाली कांग्रेसका स्व. नेता रामनारायण मिश्रको गाउँ हो पिपरा । बीपी कोइरालाको प्रथम जननिर्वाचित सरकारमा मिश्र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री थिए । त्यसैले विगतमा कांग्रेसले जित्ने गरेको भएपनि पछिल्लो समयमा आएर कांग्रेस धरासायी बनेको छ ।
बलियो संगठन हुँदाहुँदै पनि टिकट वितरणमा हुने असन्तुष्टिका कारण कांग्रेसमा हुने गरेको अन्तर्घातले पराजय भोग्दै आएको छ । यस पटक पनि विजय यादवलाई उम्मेदवार बनाउँदा संसदीय बोर्डमा २ जनाले ‘नोट अफ डिसेन्ट’ नै लेखेका कारण फेरि पनि कांग्रेसमा अन्तर्घात हुने चर्चा हुन थालेको छ ।
अन्य राजनीतिक दलका अधिकांश उम्मेदवार पिपरा गाउँबाटै रहेको अवस्थामा कांग्रेसका उम्मेदवार भने अर्को गाउँ सहोर्वाका वासिन्दा हुन् । त्यसैले यादवले आफ्नो गाउँको अधिकांश मत पाउने सम्भावना छ तर उनको दाजु हरिनारायण यादव समाजवादी पार्टीका केन्द्रीय सदस्य रहेकाले गाउँको मत समाजवादी पार्टीमा समेत जाने उत्तिकै सम्भावना पनि छ । पूर्व मन्त्री समेत रहेका यादवलाई समाजवादी पार्टीका उम्मेदवार रामजानकी यादवलाई जिताउने जिम्मेवारी समेत दिएको छ ।
‘म धेरै पहिलेदेखि गाउँमा राजनीति गर्दै आएको छु, जनताका हरेक सानादेखि ठूला समस्यामा सधैं साथ रहेकाले मैले चुनाव जित्ने छु,’ कांग्रेसका उम्मेदवार यादवले भने, ‘पार्टी संगठनको मत पनि त्यतिकै संख्यामा छ भने राजपा वा समाजवादी पार्टीको चरित्र समेत उदांगो भइसकेकाले जनताले मलाईलाई नै आशिर्वाद दिनेछन् ।’
समाजवादी पनि प्रतिस्पर्धामा
समाजवादी पार्टीले पिपरा गाउँकै पूर्व गाविस अध्यक्ष रामजानकी यादवलाई चुनावमा उठाएको छ । गत चुनावमा यादव साविकको माओवादी केन्द्रबाट चुनाव लडेका थिए । त्यतिबेला उनी तेस्रो स्थानमा आएका थिए तर यस पटक उनी समाजवादी पार्टीबाट लडेका कारण उनको सम्भावना पनि प्रबल छ ।
‘नेकपामा साविकको माओवादी रहेका कार्यकर्ताको पनि मत मैले पाउने आशा गरेको छु,’ यादवले भने, ‘यता समाजवादी पार्टीको समेत मत पाउने हुनाले चुनाव मैले नै जित्छु ।’
नयाँ खेलाडी सीके राउत
मधेशको चुनावी मैदानमा यसअघि नदेखिने नयाँ पार्टी जनमत पार्टी पनि पहिलो पटक चुनावमा होमिएको छ । विगतमा स्वतन्त्र मधेशको माग गर्दै चुनाव बहिष्कार गर्दै आएका डा. सीके राउतको नेतृत्वको पार्टीको तर्फबाट अञ्जनीदेवी मण्डल उम्मेदवार बनेकी छन् ।
पिपरा गाउँपालिका–५ हर्दिया गाउँकी मण्डल पहिलो पटक चुनावी मैदानमा उत्रेकी छन् । ‘जनजाति तथा पिछडिएको समुदायबाट प्रतिनिधित्व गरेकाले मैले चुनाव जित्छु,’ मण्डलले भनिन्, ‘विगतमा सबै पार्टीलाई जनताले हेरिसकेको तथा डाक्टर सा’बको पार्टी पहिलो पटक चुनावमा आएकाले मैले जित्नेमा कुनै शंका छैन ।’
जनमत पार्टीका केन्द्रीय सदस्य सञ्जयकुमार यादव ‘स्वराजी’ मधेशैभर डा. राउतप्रति ठूलो क्रेज रहेको तथा जनताले नै चुनावमा आउन भनेकाले चुनावमा आएको बताउँछन् । ‘उम्मेदवार छनौट गर्नुअघि सबै गाउँमा गएर घरदैलो गर्दा चुनावमा उठ्न भनेकाले पनि हामीले उम्मेदवारी दिएका छौं,’ स्वराजीले भने, ‘फेरि डाक्टर सा’बले चुनावी सभालाई सम्बोधन गरेपछि पूरै माहोल समेत पार्टीका उम्मेदवारको पक्षमा आउने छ ।’
पिपरामा स्वतन्त्र उम्मेदवार विभिन्न पार्टीका उम्मेदवारको ‘डमी’ उम्मेदवार बनेका छन् । चुनावको दिन सवारीसाधन प्रयोग गर्न पाउने उद्देश्यले उम्मेदवारले स्वतन्त्रबाट ‘डमी’ उम्मेदवार उठाउने गरेका छन् ।
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...