प्रदेशको आर्थिक समृद्धिको यात्रामा सहकारी सहभागी हुुनुपर्छ : मुख्यमन्त्री राई

फाइल फोटो

प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईले प्रदेशको आर्थिक समृद्धियात्रामा सहकारी प्रत्यक्ष सहभागी हुनुपर्ने बताएका छन् ।

राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लिमिटेडको २१ औं वार्षिक साधारणसभाको शनिवार उद्घाटन गर्दै उनले छरिएर रहेका पूँजीलाई एकत्रित गरी कृषिको व्यावसायिकरण, आधुनिकीकरण र रोजगारी सिर्जना गरी प्रदेशलाई समृद्ध बनाउन महत्त्वपूर्ण योगदान दिन आग्रह गरे ।


Advertisement

उनले मुलुकको आर्थिक समृद्धको एउटा खम्बाका रुपमा रहेको सहकारीले जनताको विकास र समृद्धको चाहनालाई पूरा गर्न प्रदेश सरकारसँग हातेमालो गरी  हिँड्नुपर्नेमा जोड दिए । 

मुख्यमन्त्री राईले प्रदेश सरकारले सहकारीलाई व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालनका लागि ल्याएको सहकारी ऐनको चर्चा गर्दै अब चाँडै बन्ने नियमावली व्यवस्थाबाट उत्पादनमुखी र रोजगारी सिर्जनामा यसको प्रभावकारी कार्यान्वयनले ठोस रुप लिने विश्वास व्यक्त गरे ।


Advertisement

उनले प्रदेश सरकारले विकास र समृद्धका लागि गर्न लागेको लगानी सम्मेलनमा पेश गर्ने विभिन्न परियोजनाका विस्तृत अध्ययन प्रतिवेदनमा (डीपीआर) मा सहकारी पूँजी लगानीका लागि स्पष्ट छनोटको प्रस्ताव गरेको जानकारी समेत गराए ।

सहकारीका अध्यक्ष जीवन काफ्लेले आव २०७६/७७ का लागि ३३ करोड रुपैयाँको आयव्ययको प्रतिवेदन पेश गरे भने आव २०७५/७६ मा ४६ करोड रुपैयाँको कारोबार, २१ करोड रुपैयाँ निक्षेप संकलन, २३ करोड ऋण लगानी र ३१ खुद मुनाफा भएको जानकारी दिए ।

सोही अवसरमा मुख्यमन्त्री राईले सहकारीको आर्थिक विकासमा योगदान दिने रमेश पोखरेललाई दधिराम दाहाल सहकारी पुरस्कारबाट सम्मानित गरे । यसैगरी उनले सहकारीका ज्येष्ठ सदस्य, सहकारी सदस्यका छोराछोरीलाई उच्च शिक्षा अध्ययन गरेकामा सम्मान गरे । विक्रम संवत् २०५५ सालमा स्थापना भएको सहकारीमा ६३१ महिलासहित १ हजार ५८१ शेयर सदस्य छन् ।

कमेन्ट गर्नुहोस्