भारतको महाराष्ट्रमा शिवसेना, कांग्रेस र एनसीपीको गठबन्धन सरकारको कोशिश सार्थक बन्न सकेको छैन ।
भाजपा र शिवसेनाले मिलेर सरकार नबनाउने निश्चित भएपछि एनसीपी र कांग्रेसका नेताहरूबीच अनेकौं चरणमा बैठक भइसकेको छ । अनि शिवसनाले पनि सरकार बनाउने ब्लूप्रिन्ट तयार भइसकेको बताएको छ ।
सञ्चारमाध्यममा आएका खबरमा सरकारको रूपरेखा निश्चित गरिएको लेखिएको छ । मुख्यमन्त्री, उपमुख्यमन्त्री र मन्त्री पदको विभाजनको कुरा पनि पक्का भइसकेको छ । तर यी दाबीहरू गरिए पनि महाराष्ट्रमा सरकार बनाउने बाटो स्पष्ट छैन ।
शनिवार बिहान कांग्रेस, शिवसेना र एनसीपीले बेलुका साढे ४ बजे राज्यपाल भगत सिंह कोशियारीसँग भेटघाट गर्ने खबर आयो । तर दिउँसो राज्यपालसँगको भेट रद्द गरिएको खबर आयो । त्यसको कुनै कारण पनि दिइएन ।
शनिवार नै महाराष्ट्रमा सरकार बनाउने मुद्दामा एनसीपी अध्यक्ष शरद पवार र कांग्रेस अध्यक्ष सोनिया गान्धीबीच महत्त्वपूर्ण बैठक हुने खबर आयो । तर रात अबेर अचानक बैठक रद्द गरियो । यसरी बैठक गर्ने भन्ने अनि अन्तिममा रद्द गर्ने गर्दा यी तीन दलबीच कुन विषयमा कुरा नमिलेको हो भन्ने विषयमा अनुमानका खेती हुन थालेका छन् ।
एनसीपी अध्यक्ष शरद पवारले तीन दलहरूले कमन मिनिमम प्रोग्राममा चर्चा गरिरहेको बताएका छन् । भाजपासँग मिलेर सरकार बनाउनलाई दबाब परेको भन्ने खबरलाई पवारले खारेज गरेका छन् ।
महाराष्ट्रमा सरकार बनाउन इच्छुक तीन दलबीच चलिरहेको पावर गेममा भाजपाको पनि नजर छ । भाजपाले अझै पनि आफ्नो नेतृत्वमा सरकार बन्ने आशा गरेको छ । महाराष्ट्र भाजपा अध्यक्ष चन्द्रकान्त पाटिलले महाराष्ट्रमा भाजपाकै सरकार बन्ने दाबी शनिवार गरेका छन् ।
एजेन्सी
लोकान्तर संवाददाता