प्रदेश ५ को राजधानीबारे प्रचण्डको नयाँ अवधारणा

फाइल फोटो

जुन ठाउँमा पुग्यो त्यही ठाउँ प्रदेशको राजधानीका लागि उपयुक्त रहेको भनेर अभिव्यक्ति दिने गरेको भनी आलोचना खेप्दै आएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश ५ को राजधानीबारे फेरि बोलेका छन् ।

उद्योग व्यापार संगठन रूपन्देहीले मंगलवार भैरहवामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले शहर नभएको नयाँ ठाउँमा पनि प्रदेशको राजधानी राख्न सकिने बताएका हुन् ।


Advertisement

‘प्रदेशको राजधानीबारे एकजना साथीले ताकेरै भन्नुभयो । पक्कै पनि जनताको बीचमा जिज्ञासा छन्, प्रश्न छन् । बाँके–बर्दिया गयो भने एउटा भावना पाइन्छ, दाङ जाँदा रुकुम–रोल्पाका जनताको एउटा भावना छ । मैले बोल्दा सकेसम्म सबैलाई सहज हुने र सबैलाई लाभ हुनेगरी गर्नुपर्छ भनेर नेपालगञ्जमा जाँदा पनि दाङमा जाँदा पनि बोलें, अहिले पनि बोल्छु– सबैलाई सबैभन्दा बढी सुविधा कहाँ हुन्छ, त्यही राजधानी हुनुपर्छ,’ प्रचण्डले भने, ‘नयाँ ठाउँमा पनि राजधानीको विकास गर्न सकिन्छ, यो विषय अहिले पनि छलफलको चरणमा छ, मेरो भनाइलाई गलत नबुझिदिनुहोला ।’


Advertisement

प्रदेश ५ को अस्थायी राजधानी अहिले रुपन्देहीको बुटवलमा छ । प्रदेश सरकार गठन भएको दुईवर्ष पुग्न लाग्दा समेत प्रदेश सभाले राजधानी र प्रदेशको नाम टुंग्याउन सकेको छैन ।

पूर्वाधारको हिसाबले प्रदेश राजधानीका लागि रुपन्देही नै उपयुक्त हुने नेकपाका शीर्ष नेताबीच अनौपचारिक सहमति भएको छ ।
 

कमेन्ट गर्नुहोस्