अनु मलिक फेरि इन्डियन आइडलबाट आउट

भारतका चर्चित संगीतकारलाई फेरि एकपटक रियालिटी शो इन्डियन आइडलबाट निकालिएको छ । 

मलिकमाथि यौन दुर्व्यवहारको आरोप छ, त्यसैले उनले शो छोडेका हुन् । इन्डियन आइडल चलाउने सोनी च्यानलले यसको पुष्टि गरेको छ । मलिकको ठाउँमा को आउने हो भन्ने निश्चित गरिसकिएको छैन । 


Advertisement

बिहीवार गायिका सोना महापात्राले महिला तथा बाल विकास मन्त्री स्मृति इरानीलाई खुलापत्र लेखेर अनु मलिक मामिलामा दखल दिन आह्वान गरेकी थिइन् । त्यसपछि राष्ट्रिय महिला आयोगले यसमा चासो लिँदै सोनी टीभीसँग सफाइ माग्यो । आयोगले सोनीका अध्यक्ष रोहित गुप्तालाई नोटिस पठाएको थियो ।

बिहीवार लेखेको पत्रमा सोनाले उल्लेख गरेकी थिइन्, ‘दुर्व्यवहारको आरोप लागेका मानिसलाई काम दिइरहने संस्थाहरूलाई के भन्ने ? त्यस्तो संस्था सोनी टीभी पनि हो जसले अनेकौं महिलाको आरोपलाई बेवास्ता गरेर अनु मलिकलाई फेरि भित्र्यायो र राष्ट्रिय टीभीमा इन्डियन आइडलमा निर्णायक बनायो ।’


Advertisement

सन् २०१८ मा गायिका सोना महापात्रा, नेहा भसीन र श्वेता पण्डित समेत अनेकौं महिलाले अनु मलिकमाथि यौन शोषणको आरोप लगाएका थिए । त्यसपछि उनलाई शोबाट निकालिएको थियो । तर ११औं सीजनमा उनलाई फेरि निर्णायक बनाइएको थियो । त्यसपछि सोना, नेहा र श्वेताले सामाजिक सञ्जालमार्फत विरोध गरिरहेका थिए ।

एजेन्सी
 

कमेन्ट गर्नुहोस्