दण्डहीनताको अन्त्य र प्रेस स्वतन्त्रताको रक्षाका लागि महासंघले प्रदर्शन गर्ने

नेपाल पत्रकार महासंघले पत्रकार हत्या तथा प्रेस स्वतन्त्रता हनन्का घटनामा संलग्नलाई कारवाही गरी पीडितलाई न्याय दिलाई दण्डहीनताको अन्त्य गर्न माग राख्दै प्रदर्शन गर्ने भएको छ । महासंघले ‘विश्व अन्तर्राष्ट्रिय दण्डहीनताविरुद्ध दिवस’का अवसरमा यही मङ्सिर ८ गते उपत्यकासहित सातै प्रदेशमा दण्डहीनताको अन्त्य र प्रेस स्वतन्त्रताको रक्षाको लागि प्रदर्शन गर्ने आज जनाएको छ ।

महासंघको अभिलेखअनुसार नेपालमा विसं २०५२ देखि शुरु भएको सशस्त्र द्वन्द्वयता हालसम्म विभिन्न पक्षबाट ३७ जना पत्रकार मारिएका छन् भने पाँच पत्रकार बेपत्ता अवस्थामा छन् । मारिएका ३७ पत्रकारमध्ये पाँच पत्रकारको हत्यामा संलग्नलाई कारवाही गरी पीडित पक्षलाई न्याय दिलाइएको र चार जनाको न्यायिक प्रक्रियामा रहेको महासंघले जनाएको छ ।


Advertisement

अन्यको हकमा अझै प्रभावकारी ढङ्गले कानूनी कारवाही अघि बढ्न सकेको छैन । बेपत्ता भएका पाँच जना पत्रकारको अवस्था अहिलेसम्म पत्ता लाग्न नसकेको र पीडित परिवारले न्याय नपाएको महासंघद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । 


Advertisement

महासंघको सञ्चार अनुगमन एकाइका अनुसार २०७४ सालमा ६३ वटा र २०७५ सालमा ६० वटा तथा २०७६ वैशाखदेखि हालसम्म २६ वटा प्रेस स्वतन्त्रता हनन्का घटनाहरु अभिलेख भएका छन् ।

प्रेस स्वतन्त्रता हनन्का घटनाहरुमा पत्रकारमाथि धम्की, दुव्र्यवहार, आक्रमण, समाचार संकलनमा अवरोध जस्ता घटनाहरु बढी भएको महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । पत्रकारलाई राजनीतिक आस्थाका आधारमा पक्राउ गर्ने क्रम बढ्दो क्रममा रहेको विज्ञप्तिमा उल्लेख छ ।

द्वन्द्वकाल मारिएका पत्रकारका परिवारलाई न्याय र दोषीलाई कारवाहीका लागि महासंघले सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिएको भए पनि गम्भीर छानबिन र थप प्रक्रिया अघि बढ्न सकेको छैन । त्यस्तै बेपत्ता पत्रकारको हकमा पनि सत्यतथ्य पत्ता लगाउने विषयमा ठोस प्रगति नभएको महासंघले जनाइएको छ ।

कमेन्ट गर्नुहोस्