आर्यघाटमा जन्मोत्सव !

प्रदिप अधिकारी
प्रदिप अधिकारी

अधिकारी लोकान्तरका लागि मनोरञ्जन र खेलकुदमा कलम चलाउँछन् ।

काठमाडौं- सामान्यत: पशुपति आर्यघाटमा शव दाहन गरिन्छ । जन्मेपछि मान्छे मर्छ । यो अकाट्य सत्य हो । तर देवेन्द्र बल्लुलाई मानिसको जन्म र मृत्युबारे धेरै शंका छ । हामी जीवनमा मान्छेको जन्म र मृत्यु एक-एक पटक हुन्छ भन्छौं । तर देवेन्द्र यसलाई अर्कै ढंगले प्रस्तुत गर्छन् ।

मान्छेले जन्मदिन मनाउन केक काट्छन्, असहाय, दिनदु:खीलाई सहयोग गर्छन् । साथीभाइ बोलाएर पार्टी गर्छन् । आफू जन्मेकोमा खुशी मनाउँछन् । 


Advertisement

तर देवेन्द्रले फरक शैलीले मंसिर ८ गते जन्मदिन मनाए । त्यो पनि पशुपति आर्यघाटमा । ठ्याक्कै शव दाहन गर्ने ठाउँमा आफू बसेर केक काटे । अनि भने, 'ह्याप्पी बर्थ डे टु मी' ! त्यसपछि उनले टोकरीबाट एउटा वाइनको बोटल निकालेर एक घुट्की लगाए ।

उनले त्यसको भिडियो बनाएका छन् । र अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।


Advertisement

उनले आर्यघाटमै किन जन्मदिन मनाएको होला भन्ने प्रश्न आउँछ भनेर भिडियोमा त्यसलाई प्रष्ट पार्न पनि खोजेका छन् । भिडियोमा बोलिएका अडियो शब्दमा हेर्नुहोस् !

मान्छे जीवनमा एकपटक जन्मन्छ या हरेक वर्ष?

या प्रत्येक वर्ष जन्मेको दिनलाई स्मरणमात्रै गर्छ

मान्छे जीवनमा एकपटक मर्छ या प्रत्येक वर्ष?

जीवन एउटा खण्ड हो या खण्डखण्ड हो?

मानिसले नै बनाएको समयसीमा हेर्ने हो भने त जीवन खण्डखण्ड नै हो ।

त्यस्तै आजबाट मेरो एक खण्ड सकियो,फेरि अर्को एक वर्ष सकियो ।

अझ भनौं अहिलेसम्म बाँचेको एक जीवन सकियो ।

हिजोमात्र मैले,मैले बाँचेको वर्षको अन्तिम हाँसो हाँसें । अन्तिम शब्द बोलें,अन्तिम सपना देखें । मेरा आफन्तहरूसँग अन्तिम माया साटें ।

आजबाट मैले फेरि त्यही सपना कहाँ देख्न पाउँछु र?त्यही हाँसो कहाँ हाँस्न पाउँछु र?त्यही माया कहाँ साट्न पाउँछु र?

त्यही उमेर कहाँ बाँच्न पाउँछु र?

थाहा दिएजस्तो गरी,थाहा नदिएजस्तो गरी

केही पूरा भएजस्तो गरी,केही अधुरा भएजस्तो गरी

फेरि मेरो एक वर्ष बितेछ

केही कुरा बित्नु,हराउनु,छुट्नु या त्यही अवस्थामा फर्काउन नसक्नु

के मृत्यु हुनु या मर्नु होइन र?

धेरै कुरा दिएर,धेरै कुरा भताभुंग छोडेर

रहरैरहरमा बितेको मेरो यो वर्षलाई भावपूर्ण श्रद्धाञ्जलि

खैर,आजबाट मेरो अर्को खण्ड शुरू भएको छ

म जन्मेको र अहिलेसम्म बाँचेकोमा मलाई अनकौं बधाई

भएका केही थान सपना,रहर र आकांक्षाहरू पूरा गर्न सकौं

अझ धेरै वर्ष बाँच्न सकौं

आफू र आफन्तलाई खुशी बनाउन सकौं

ह्याप्पी बर्थ डे टु मी!

राजधानी यात्रा

दाइ प्रकाश सपुत दुई-तीन वर्षअघि नै बागलुङको धम्जाबाट काठमाडौं आइसकेका थिए । एसएलसी सकेपछि उनलाई दाइले काठमाडौं बोलाए । उनी यतै बस्न थाले ।

दाइले उनको रुचिलाई मध्यनगर गर्दै पत्रकारिता ज्वोइन गराइदिए । पढ्दै गर्दा उनले ठमेलमा वेटरको काम गर्न थाले । प्लस टु सकियो । जापानको लागि एप्लाइ गरे । तर भिषा लागेन । भन्छन्, 'नेपालमै केही गर भन्यो होला जस्तो लाग्यो ।'

गायनमा पनि उनको रुचि थियो । ठमेलमा वेटर गर्दागर्दै त्यहीँ गीत गाउन थाले । त्यसपछि रेडियोमा पनि काम गर्न थाले । त्यसपछि थिएटर जान थाले ।

उनी कहिलेकाहिँ नाटक हेर्न जान्थे । हेर्दा उनलाई 'म पनि गर्न सक्छु होला' झैं लाग्थ्यो रे ! उनको  भेट शैली थिएटरका नवराज बुढाथोकीसँग भयो ।

अनि उनले नवराजलाई भनेछन्- म पनि जान्छु नि थिएटर ।

नवराजले 'ओके' भने ।

कोर्ष नलिए पनि उनी थिएटर निरन्तर गए र नाटकसम्बन्धी ज्ञान लिए । उनी थिएटरमा अभिनयसँगै नाटककै म्युजिकमा बढी सक्रिय हुन थाले ।

कस्सेप्टहरू कसरी आउँथे ? 'अभिनयमा रुचि हुने भएपछि कहिलेकाहिँ भिडियो मेकिङका लागि कन्सेप्टहरू आउँथ्यो । र साना भिडियोहरू बनाउँथे,' उनी भन्छन्, 'ती भिडियोहरू पछि फेसबूक र टिकटकमा हिट हुन थाल्यो । जसलाई मैले 'ट्रेलर अफ लाइफ' भनेर छोटा-छोटा भिडियोहरू बनाउन थालेँ ।'

जन्मदिन र आर्यघाट

उनलाई जन्मदिनलाई केक काटेर भयंकर रूपमा मनाऔं जस्तो कहिल्यै लागेन रे ! अघिल्लो वर्ष पनि सानो भिडियो बनाएर जन्मदिन मनाए । त्यो पनि राति १२ बजे एक्लै केक काटेर ।

यसपालि किन आर्यघाटमै केक काट्नुभयो ? उनको उत्तर जस्ताको त्यस्तै :

अघिल्लो वर्षभन्दा यसवर्ष मेरो उमेर घट्यो । उमेर घटेकोमा म कसरी उत्सव मनाऔं?मेरो मृत्यु नजिक आइरहेको छ । मृत्यु नजिक आयो भनेर दु:ख मान्ने कि जन्मेको दिनलाई सम्झेर उत्सव मनाउने?वा अझै धेरै वर्ष बाँच्छु भनेर उत्सव मनाउने हो?भनेर प्रश्नहरूले हिर्काइरह्यो ।

मान्छे एक पटक जन्मन्छ । जन्मेको वर्ष'जन्मिएँ'है भनेर केक काटे त भइहाल्यो नि!तर मान्छे वर्ष-वर्षमा मैनबत्ती बालेर केक काटेर सेलेब्रेसन गर्छ नि!तर अर्को वर्ष पनि जन्मदिन भनेर केक काट्छ भने उ फेरि जन्मन्छ त?वा एक वर्ष बाँचे भनेर केक काट्छ?यो कन्फ्युजवाला प्रश्नले मलाई घुमाइरह्यो । यसको उत्तर अझै पनि थाहा भएको छैन । त्यही भएर भिडियोमा मैले जन्म र मृत्युबारे केही प्रश्नहरू छोडेको छु ।

वर्ष त सिद्धिरहेको हुन्छ । अघिल्लो वर्ष मेरो एक वर्ष बाँकी थियो । त्यो त मैले सक्काएँ । सक्निनु भनेको मर्नु हो नि त । यो उमेरलाई मैले कुनै पनि हालतमा फर्काउन त सक्दिनँ नि । केही कुरा ल्याउन नसक्नु वा जानु भनेको मर्नु होइन र?जीवन र मृत्युलाई कसरी सेलेब्रेसन गर्ने सोच्दै जाँदा दिमागमा आर्यघाट क्लिक भयो ।

बितेको वर्षलाई आर्यघाटमा बिसाएर अर्को वर्षलाई स्वागत गर्ने सोच बनाएँ । र गरेँ पनि ।

यो कन्सेप्ट शुरूमा मैले साथीहरूलाई सुनाएँ । यसपालिको बर्थ डे मा तिमीहरू पशुपति आउनुपर्छ भनेँ । सुन्नेबित्तिकै पागल भइस् कि क्या हो भने ।

त्यसपछि अलि बौद्धिक साथीहरूलाई यसबारे भने । उहाँहरूले बर्थ डे कै दिन नगर्नु अगाडि नै शूटिङ गरेर त्यस दिन हाल्नु भने ।

मलाई पशुपति आर्यघाटमा गएर सेलेब्रेसन गरेको सम्झना राख्न भाइलाई लगेर मैले जे-जे गर्छु त्यो चुपचाप खिच् भनेँ ।

उसले शुरूमा मानेन पछि धम्कात्यमक शैलीमा भनेपछि मान्यो । र भिडियो बन्यो ।

भिडियो सार्वजनिक भएपछि दाइ प्रकाश सपुतले भाइमा क्रियसन भएको तर अलि बढी नै भावनामा बहेको भनेर सामाजिक सञ्जालमा लेखे । उनलाई शुरूमा यस्तो कामका कारण धेरैको गाली खाइने डर लागेपनि सोचेअनुसार गाली नआएको तर प्रशंसा समेत भएको बताए ।

देवेन्द्र बल्लु थिएटर आर्टिस्टसँगै गायक पनि हुन् । उनले 'कसरी कसरी' र 'बुढाबुढी' बोलको गीत बजारमा ल्याएका छन् । दुवैमा शब्द तथा संगीत आफैंले दिएका छन् ।

उनले तीज गीत 'के छ ओई' पनि निर्देशन गरेका छन् । उनका भिडियोहरूमा क्रियसन देख्न सकिन्छ ।

आर्यघाटमा जन्मदिन मनाउनुलाई पनि क्रियसन नै भनेका छन् ।

कमेन्ट गर्नुहोस्