लिबियाबाट १४० जना अवैध आप्रवासी फिर्ता

युरोप प्रवेश गर्न खोज्ने तर लिबियामा पक्राउ परेका १४० जना विदेशी आप्रवासीलाई लिबियाले उनीहरूकै देश फर्काएको छ । 

आप्रवासन केन्द्र लिबियाका अनुसार यी नागरिकहरू दक्षिणी लिबियाको कुर्फा शहरबाट फिर्ता गरिएका हुन् । केन्द्रले स्वदेश फर्काइएका ती व्यक्तिहरूमा अफ्रिकी मुलुकहरू चाड र सुडानका नागरिक रहेका छन् ।


Advertisement

केन्द्रले जारी गरेको पछिल्लो विज्ञप्तिमा अफ्रिकी मुलुकहरू चाड र सुडानका सरकारसँगको सहकार्यमा उनीहरूलाई फिर्ता गरिएको उल्लेख छ । 

अधिकांश अफ्रिकी मूलका व्यक्तिहरू युरोप प्रवेश गर्न लिबिया हुँदै भूमध्यसागर पार गर्ने गर्दछन् । तर लिबियामा बढेको असुरक्षा र अस्थिरताका कारण यी अवैध आप्रवासीको हत्या पनि हुने गरेको छ । तत्कालीन लिबियाली नेता मौमर गद्दाफीको शासन सन् २०११ मा पतन भएसँगै लिबियामा अझ असुरक्षा बढेको छ ।


Advertisement

अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार हाल ६ लाखभन्दा बढी अवैध आप्रवासी लिबियामा रहेका छन् । उनीहरूलाई तत्काल मानवीय सहायता आवश्यक रहेको पनि संगठनले जनाएको छ । 

समुद्रबाट उद्धार गरिएका वा लिबियाली सुरक्षाकर्मीले पक्राउ गरेका हजारौं आप्रवासीलाई निकै भिडभाडयुक्त अस्थायी आश्रयस्थलमा राखिएको पनि संगठनले जनाएको छ । असुरक्षाको कारण देखाउँदै अन्तर्राष्ट्रिय समुदायले यी अस्थायी शिविरहरू बन्द गर्न आग्रह गरेपनि लिबिया सरकारले यी शिविरहरू बन्द गर्न अस्वीकार गरिरहेको छ ।  

कमेन्ट गर्नुहोस्