'साग' चलिरहेको बेला काठमाडौँमा पाकिस्तानी मन्त्रीले के गर्दैछिन् ?

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिताको उद्घाटन समारोहमा सहभागी हुने सिलसिलामा नेपालको तीनदिने भ्रमणमा रहेका अन्तरप्रान्तीय समन्वयसम्बन्धी पाकिस्तानका मन्त्री डा फेहमिदा मिर्जाले आज युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनारसँग भेटवार्ता गरिन् ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्रका युवा खेलाडीको विशाल प्रतियोगिता नेपालले आयोजना गरेकामा नेपाललाई बधाई दिँदै उनले सार्कको भावनाबमोजिम लोकतन्त्रलाई सुदृढ तुल्याउन तथा परस्परमा समझदारीको वातावरण बनाउन सागजस्ता प्रतियोगिताबाट बल मिल्ने बताइन् ।


Advertisement

त्यस अवसरमा उनीहरूबीच नेपाल–पाकिस्तान सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।

सन् २०२० मा नेपालले भ्रमण वर्ष मनाइरहँदा पाकिस्तान–नेपालबीच कूटनीतिक सम्बन्धले पनि ६०औँ वार्षिकोत्सव मनाउने सुखद संयोग परेको बताउँदै पाकिस्तानी मन्त्रीले खेलकूद र युवा विकासका क्षेत्रमा दुई देशबीच सघन सहकार्य हुनुपर्नेमा जोड दिइन् ।


Advertisement

मन्त्री सुनारले नेपाल र पाकिस्तानबीचको सरकारीस्तरको मात्र नभई जनस्तरको सम्बन्धलाई खेलकूदका माध्यमबाट अझ प्रगाढ एवं सुदृढ बनाउन आफू क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।

 

कमेन्ट गर्नुहोस्