'कोपिला भ्याली' विद्यालय : उच्चतम् प्रविधि, निशुल्क अध्ययन

शेरबहादुर थापा
शेरबहादुर थापा

थापा लोकान्तरकालागि कर्णाली प्रदेशका प्रतिनिधि हुन् ।

बिहानै विद्यार्थीको लर्को, बसहरूले विद्यार्थी ओसार्दैछन् । गेटको जिम्मेवारी पाएका व्यक्तिलाई विद्यार्थी भित्र बोलाउन हम्मेहम्मे परिरहेको छ ।

यो दृश्य हो- वीरेन्द्रनगर वडा नं. १ मा रहेको कोपिला भ्याली विद्यालयको । कोपिला भ्यालीमा आमा भएका तर बुवा नभएका विद्यार्थीहरूलाई पढाइन्छ । विसं २०६७ मा स्थापना भएको विद्यालयलाई कोपिला भ्याली सेवा समाजले सञ्चालन गरिरहेको छ ।


Advertisement

अमेरिकन नागरिक म्यागी डोयनको सक्रियतामा स्थापित कोपिला भ्याली विद्यालयमा अहिले ४२२ जना विद्यार्थी अध्ययन गरिरहेका छन् । विद्यालयमा नेपालका १७ वटा जिल्लाबाट सुर्खेत आएर अध्ययन गरिरहेका छन् । विंल्क नाउ फाउण्डेशनको आर्थिक एवम् प्राविधिक सहयोग रहेको उक्त विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूले एक रुपैयाँ पनि शुल्क तिर्नु पर्दैन । बसले निःशुल्क रूपमा विद्यार्थी विद्यालय ल्याउने र पुर्‍याउने गर्छ । विद्यालयले विद्यार्थीलाई आवश्यक पर्ने कापी, कलम, किताब, झोला, ड्रेस निशुल्क वितरण गर्छ । विद्यार्थीलाई खेलकुद सामग्रीको पनि अभाव छैन । विद्यालयले दिउँसो एक बजे खाजा पनि उपलब्ध गराउँदै आएको छ । विद्यालयमा विद्यार्थीले अर्ग्यानिक दाल, भात, तरकारी, अचार खान्छन् । फेरि साँझ नास्ता खाएर घर फर्कन्छन् ।


Advertisement

विद्यालयमा खाना पकाउन अत्याधुनिक मेसिन राखिएको छ । उक्त मेसिनमा ५०० जनालाई एकैपटक खाना पकाउन सकिन्छ । मेसिन सोलार प्रविधिबाट चल्छ । तरकारी तथा दाल पनि मेसिनबाटै पाक्छ । विद्यालयमा २५ किलोवाटको सोलार जडित छ । तीन लाख लिटर क्षमताको पानी ट्यांकी छ । फोहोर पानीलाई प्रशोद्धन पनि गर्ने गरिन्छ । प्रयोगपछि खेर गएको पानीलाई तरकारी खेतीमा प्रयोग गरिएको छ ।

विद्यालयको भवन पनि भूकम्पप्रतिरोधी छ । एकातिरका भवन माटैमाटोले बनाइएको छ भने अर्कोतर्फको भवनमा मात्र बाँसको प्रयोग गरिएको छ । विद्यालयमा १७ वटा कक्षा कोठा छन् ।

विद्यालयले प्लस टूमा व्यवस्थापन संकाय अध्यापन गराउँदै आएको छ । कक्षा ११ र शिशु कक्षामा मात्रै विद्यालयले बाहिरबाट विद्यार्थी भर्ना लिन्छ । विद्यालयमा अन्य कक्षामा भर्ना लिन सोर्स फोर्स लगाएपनि सम्भव हुँदैन ।

विद्यालयले बालगृह पनि सञ्चालन गरिरहेको छ । उक्त बालगृहमा अनाथ विद्यार्थीहरू छन् । ३७ जना विद्यार्थी बाल गृहमा बस्दै आएका छन् । उनीहरूसँगै म्यागी डोयन पनि बस्छिन् । १८ वर्ष भन्दा माथिका किशोरीको लागि सेफ हाउस छ । उक्त सेफ हाउसमा १० जना किशोरी बस्दै आएका छन् ।

विद्यालय ५७ कठ्ठा क्षेत्रफलमा फैलिएको छ । विद्यालय आफैंले नजिकै रहेको खोलामा दुई वटा झोलुंगे पुल पनि निर्माण गरेको छ । जसमध्ये एउटा पुल अपांगमैत्री छ भने अर्को सामान्य छ ।

खोलाको पारी पट्टी विद्यालयले खाली जमिनमा खेती गरिरहेको छ । प्रविधिको भरपुर प्रयोग गरेर तरकारी खेती पनि विद्यालयले गर्दै आएको छ । हाँस, लोकल कुखुरा, गाई पनि पालिएका छन् । विद्यालयका प्रधानाध्यापक नयन चौधरीका अनुसार विद्यार्थीको रूचिअनुसार उनीहरूलाई काम पनि सिकाइन्छ । विद्यार्थीलाई खेतीपातीदेखि गाई दुहुन समेत सिकाइन्छ ।

विद्यालयले एकल महिलाहरूलाई विभिन्न तालिमसमेत दिँदै आएको छ । फाउण्डेसनको सहयोगमा ब्यूटी पार्लर, सिलाइ कटाइ जस्ता तालिम दिइरहेको छ । आगामी दिनमा पनि विद्यालयका छिमेकमा बस्ने यस्ता महिलालाई आत्मनिर्भर बनाउन विभिन्न तालिम दिने सोच विद्यालयले बनाएको छ । ‘अहिले हामीसँग ११२ जना कर्मचारी काम गर्दै आइरहेका छन्,’ चौधरी भन्छन्, 'तीमध्ये चार पाँच जना बाहेक सबै स्थानीय नै हुन् । शिक्षकहरू पनि यतैका छन् ।’ अहिले फाउण्डेसनको सहयोगमा विद्यालय सञ्चालन भइरहेको उनको भनाइ छ ।

‘अहिले फाउन्डेसनकै सहयोगमा हामीले विद्यालय सञ्चालन गरिरहेका छौं । बाहिरबाट शिशु कक्षा र ११ कक्षामा विद्यार्थी कम हुने भएका कारण हामीले विद्यार्थी भर्ना लिन्छौं । अन्य कक्षामा लिन मुस्किल छ,’ उनी भन्छन्, ‘तर ती विद्यार्थीबाट विद्यालयले कुनै पनि खालको शुल्क लिँदैन ।’ भविष्यमा पनि यसरी नै चल्छ त विद्यालय भन्ने प्रश्नमा उनले यसको विकल्पबारे विद्यालय प्रशासनले सोच्नुपर्ने बताउँछन् । ‘हामीले अन्य कक्षामा केही विद्यार्थी थप गरेर भएपनि विद्यालयको आम्दानीबार सोच्नुपर्ने बेला आएको छ ,’ उनले भने, ‘अन्य विद्यार्थीलाई हामीले कक्षामा मिसाउन पाएको खण्डमा यहाँ अध्ययनरत विद्यार्थीहरू समाजमा सहजै घुलमिल पनि हुन सक्ने र विद्यालयलाई आम्दानी पनि हुने देखिन्छ । त्यसले गर्दा विद्यालयको परनिर्भरता कम हुने मैले देखेको छु ।’

ब्लिंक नाउ फाउण्डेशनका सञ्चालन निर्देशक सुजन न्यौपाने विद्यालयको भौतिक संरचना निर्माण तथा अन्य खर्च वार्षिक रूपमा १५ करोडको हाराहारी खर्च हुने गरेको बताउँछन् । ‘हामीले विद्यालयको व्यवस्थापन मात्रै गर्छौं । विद्यालयमा अध्ययन तथा अध्यापनका विषयमा हस्तक्षेप गर्ने वा निर्देशन दिने काम गर्दैनौं । भनाइको मतलब प्राविधिक पक्ष हेर्ने र आर्थिक लगानी गर्ने काम हाम्रो हो,’ उनी भन्छन्, ‘यसरी हेर्दा अहिले वार्षिक रूपमा १५ करोड हाराहारीमा खर्च भइरहेको छ । भविष्यमा १० करोडसम्म खर्च हुन सक्छ । अहिले भौतिक संरचना निर्माणका कारणले खर्च अलि बढी देखिएको हो ।’

कोपिला भ्यालीका अध्यक्ष टोपबहादुर मल्लले आगामी दिनमा विद्यालयलाई निरन्तरता दिने र गुणस्तरीय शिक्षाको आधार स्तम्भको बनाउने बताउँछन् । ‘अहिले हामीले कक्षा १० सम्म निःशुल्क रूपमा अध्यापन गराइरहेका छौं । यति मात्रै होइन, कक्षा ८ मा अध्ययन गर्ने हरेक विद्यार्थीको बैंक खाता खोल्ने र त्यसमा १० हजार जम्मा गरिदिने गरेका छौं । उक्त रकम विद्यार्थी कक्षा १२ पास भएपछि मात्रै निकाल्न पाउने व्यवस्था छ । अन्य अवस्थामा निकाल्न मिल्दैन तर आवश्यक नै परेको खण्डमा विद्यालय र अभिभावकबीच सहमतिमा निकाल्न मिल्ने गरी उक्त पैसा बैंकमा जम्मा गरिन्छ,’ अध्यक्ष मल्लले भने, ‘विद्यालयमा म्यानेजमेन्ट मात्रै अध्यापन हुने भएकाले अन्य टेक्निकल विषय अध्ययन गर्न चाहने कोपिला भ्यालीका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति पनि दिने गरेका छौं । हाल सयभन्दा बढी विद्यार्थीहरू देशैभर छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् । कक्षा १२ मा ७५ प्रतिशत भन्दा बढी ल्याउने विद्यार्थीलाई विद्यालयले १५ लाख रुपैयाँ छात्रवृत्ति दिने गरेको छ ।’

उनले कोपिला भ्यालीमा अध्ययन गर्ने विद्यार्थी ठूलो हुँदा परनिर्भर नबनोस् भन्ने ध्येयका साथ उसका लागि शिक्षामा पर्याप्त लगानी गर्ने गरेको बताए । उनले भने, 'शिक्षा नै सबैभन्दा ठूलो कुरा हो । शिक्षामा गरिएको लगानी खेर नजाओस् भन्नेमा विद्यालय त सचेत छ नै अभिभावक पनि सचेत बन्न जरुरी छ ।'

 

कमेन्ट गर्नुहोस्