पुरुष क्रिकेटमा नेपाल पराजित

फाइल फोटो

एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेट खेलमा नेपाल बंगलादेशको यू–२३ टोलीसँग पराजित भएको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिवार भएको खेलमा नेपाल बंगलादेशसँग ४४ रनले पराजित भएसँगै नेपालको स्वर्ण जित्ने सपना समाप्त भएको हो ।


Advertisement

बंगलादेशले जीतका लागि दिएको १५६ रनको विजयी लक्ष्य पच्छाएको नेपाल निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १११ रनमा समेटियो । खराब शुरूआत गरेको नेपालले १४ रनमा ३ विकेट गुमाएको थियो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४३ रन बनाए भने उपकप्तान दीपेन्द्रसिंह ऐरीले १६ रन बनाउनुबाहेक अन्य खेलाडीले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । अविनाश बोहरा १३ रनमा अविजित रहँदा रोहित पौडेलले ८, ललित राजवंशीले ५ तथा सुसन भारीले २ रन जोडे । 


Advertisement

बंगलादेशका तान्भिर इस्लाम, सौम्या सरकार, सुमोन खान र मेहेदी हसनले समान २/२ विकेट झारे । त्यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको थियो । उसका लागि कप्तान नाजमूल होसेन सान्तो र आफिफ होसेनको ९४ रनको साझेदारी गरेका थिए । 

कप्तान नाजमूलले सर्वाधिक ७५ रनको योगदान दिए । ६० बलको सामना गरेका उनले ४ छक्का र ४ चौकाको मद्दतमा अविजित ७५ रन बनाएका हुन् । आफिफ होसेनले ५२ रन जोडे । बलिङतर्फ नेपालका पारस खड्काले ३ विकेट हात पारे । यस्तै दीपेन्द्रसिंह ऐरीले २ तथा अविनास बोहराले १ विकेट लिए । 

४ खेलमा २ जीत र २ हार व्यहोरेको नेपाल अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । नेपालले ४ खेलमा ४ अंक जोडेको छ । पहिलो खेलमा श्रीलंकासँग पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले भूटानलाई पराजित गरेको थियो ।

शुक्रवार भएको खेलमा नेपालले माल्दिभ्सलाई पराजित गरेको थियो ।

३ खेल खेलेको बंगलादेश तीनै खेलमा जीत हात पार्दै शीर्ष स्थानमा उक्लिएको छ । बंगलादेशले ६ अंक बनाएको छ । समान ६ अंक नै जोडेको श्रीलंका रनरेटका आधारमा अंक तालिकाको दोस्रो स्थानमा छ । जारी प्रतियोगितामा बंगलादेश र श्रीलंका फाइनलमा प्रवेश गरेका छन् । नेपालले अब कास्य पदकका लागि माल्दिभ्ससँग खेल्ने छ ।

कमेन्ट गर्नुहोस्