काठमाडौं महानगरले २५ औं वार्षिकोत्सव मनाउँदै

कठमाडौं महानगरपालिकाले आफ्नो २५ औं वार्षिकोत्सव विगतका वर्षमा जस्तै मनाउने तयारी गरेको छ ।

दिवसका अवसरमा यस वर्ष पनि आगामी २८ र २९ गते २ दिन विभिन्न कार्यक्रम गर्ने भएको छ ।  


Advertisement

दिवसको मूल समारोह समितिको अध्यक्षमा कामपाका प्रमुख विद्यासुन्दर शाक्य रहेका छन् । दिवसका अवसरमा सांस्कृतिक कार्यक्रम, सांस्कृतिक झाँकी, वाद्यवादन तथा प्रदर्शनी हुने कामपाले जनाएको छ ।

दिवसलाई व्यवस्थित गर्न वडा १८ का अध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक न्हुच्छेकाजी महर्जनको संयोजकत्वमा व्यवस्थापन उपसमिति, वडा ३२ का अध्यक्ष एवं सुशासन समितिका संयोजक नवराज पराजुलीको संयोजकत्वमा कर्मचारी, करदाता सम्मान तथा पुरस्कार उपसमिति, वडा १५ का अध्यक्ष एवं प्रवक्ता ईश्वरमा डंगोलको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ ।


Advertisement

संयोजक महर्जनका अनुसार यस वर्ष कार्यक्रम वसन्तपुरमा आयोजना हुनेछ । कार्यक्रममा कामपाले तयार पारेका सहरी पूर्वाधार, संस्कृति तथा सम्पदासँग सम्बन्धित तस्बीर प्रदर्शनी र सांस्कृतिक कार्यक्रम हुनेछ । विक्रम संवत् २०५२ मंसिर २९ गते तत्कालीन काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो । 

महानगर घोषणा भएको यस वर्ष २५ वर्ष भएको छ । यस अवसरमा महानगर घोषणा गर्ने तत्कालीन प्रमुख पिएल सिंहलाई सम्मान गर्ने महानगरको योजना रहेको संयोजक महर्जनले जानकारी दिए ।

गएको वर्ष काठमाडौंका प्रथम जननिर्वाचित सभापति जनकमान श्रेष्ठलाई सम्मान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्