वनमन्त्री बस्नेत स्पेन प्रस्थान, तापमान वृद्धिको प्रभावबारे ध्यानाकर्षण गराउने

फाइल फोटो

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्ष राष्ट्रको २५औं सम्मेलन (कोप–२५)मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएराति स्पेन प्रस्थान गरेका छन् ।

स्पेनको म्याड्रिडमा भइरहेको  कोप–२५ को विशेष सभालाई मन्त्री बस्नेतले बुधबार सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।


Advertisement

म्याड्रिड प्रस्थानअघि मन्त्री बस्नेतले हिमालयहरूमा हिउँ पग्नले क्रम तीव्र रुपमा बढेकाले विश्व तापमानमा प्रत्यक्ष नकारात्मक प्रभाव पारेकोतर्फ नेपालले सभाको ध्यानाकर्षण गराउने बताए । साथै उनले त्यसबाट उत्पन्न विषम परिस्थितिको सामना गर्ने सम्बन्धमा योजना तय गर्ने प्रस्ताव राख्ने जानकारी गराए ।

सम्मेलनमा नेपालले अधिक कार्बन उत्सर्जन गरिरहेका विकसित मुलुकहरुले नेपालजस्ता जलवायु परिवर्तनमा कम योगदान भएर पनि अतिप्रभावित गरिब तथा तेस्रो मुलुकले क्षतिपूर्तिस्वरुप पाउनुपर्ने ‘हरित जलवायु कोष’ उपलब्ध गराउन लबिङ गर्ने बताइएको छ ।


Advertisement

यसअघि दक्षिण अमेरिकी मुलुक चिलीको सान्टियागोमा तय भएको कोप–२५ त्यहाँको सरकारले विषम राजनीतिक परिस्थितिका कारण व्यवस्थापन गर्न सक्षम नरहेको बताएपछि सम्मेलनको स्थल स्पेन सारिएको हो । 

यही मंसिर १६ मा शुरु भएर २७ गतेसम्म चल्ने सम्मेलनमा विश्वका १९७ मुलुकका राष्ट्र तथा सरकार प्रमुख, वातावरणमन्त्रीका साथै जलवायु परिवर्तनका क्षेत्रमा क्रियाशील सङ्घसंस्थाका प्रतिनिधि सहभागी छन् ।

मन्त्री बस्नेत सम्मेलनमा सहभागी भएर मंसिर २९ गते स्वदेश फर्कने कार्यक्रम छ ।

कमेन्ट गर्नुहोस्