नेकपाको प्रतिवेदनमा पार्टीकै आलोचना – ‘पार्टी संस्थागत छैन, गुटहरू झ्याँगिदै गए’

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटी बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा पार्टी संस्थागत नरहेको र गुटै-गुटले पार्टी अस्तव्यस्त भएको बताइएको छ ।

आइतवार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आइतवार अपराह्न बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।


Advertisement

‘पार्टी एकता प्रक्रियालाई पूर्णता दिन भएको ढिलाई, पार्टीको आधिकारिक र व्यवस्थित प्रकाशन, प्रचार प्रशिक्षण र स्कुलिङको अभावका कारण आज पार्टी संगठन अन्यौलग्रस्त अवस्थाम रहेको छ,’ प्रचण्डले तयार गरिएको प्रतिवेदनमा भनिएको छ, ‘पार्टी संस्थागत छैन । बरु विभिन्न प्रकारका गुटहरू झाँगिदै जान थालेका छन् । पार्टी भित्र घात, अन्तर्घात र अराजकताका प्रवृतिहरू बढिरहेको छन् ।’

प्रतिवेदनमा पार्टी अनुशासनको स्थिति दयनीय अवस्थामा रहेको भन्दै चिन्ता व्यक्त गरिएको छ । ‘पार्टी अनुशासनको स्थान गुट अराजकताले लिने खतरा दिनप्रतिदिन बढ्दै गएको छ,’ प्रतिवेदन भन्छ, ‘अलोचना, आत्मआलोचना, राम्रो काम गर्नेलाई प्रोत्साहन गल्ती गर्नेलाई दुरुत्साहन गर्ने जस्ता सजिव र गतिशील कम्युनिष्ट पार्टीका निम्ति अपरिहार्य विधि र प्रणालीको पालना भइरहेको छैन ।’


Advertisement

प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुर गएको बेलामा गत भदौमा प्रचण्डकै अध्यक्षतामा बसेको सचिवालय बैठकले पार्टी अनुशासनविरुद्ध जानेलाई कारवाही गर्ने निर्णय गरेको थियो ।

बैठकले गरेको निर्णयअनुसार पार्टीको निर्णय विरुद्ध जानेलाई कुनै कारवाही भएको छैन, बरू प्रचण्डले यस्तो स्थितिलाई प्रतिवेदनमार्फत सतहमा ल्याइदिएका छन् ।

 

कमेन्ट गर्नुहोस्