अरबदेखि युरोपसम्म

दिलनिशानी मगर
दिलनिशानी मगर

समसामयिक विषयमा कलम चलाउने दिलनिशानी मगर लोकान्तरका नियमित स्तम्भकार हुन् । 

कुखुरालाई छोयो भने जात जान्छ भन्नेहरू आजकल कुखुराको मासु खान थालेका छन् । यो अरब भन्ने मुलुकहरू कतिपयका लागि त्यही कुखुरा जस्तो भएको छ ।

जस्तोः अबर गयो कि उसको स्वाभिमान गयो भन्या जस्तो । तर पनि मानिसहरू अरब जान छाडेका छैनन् । जसले सबैभन्दा धेरै अरबको विरोध गरेको छ, उ नै सबैभन्दा धेरै अरब बसेको छ । सायद उ उठबस गर्न नसक्ने बुढो भएपछि मात्रै स्वदेश फर्कने छ ।


Advertisement

बलिप्रथाको विरोध गर्न गएका कथित अभियन्ताले होटलमा मासु र भात खाए जस्तै अरब गएर घरको नूनपानी गुजारा टारेकाहरू प्रायः आफू बसेको धरातलकै आलोचना गर्ने गर्छन् । आफू सेक्यूरिटी गार्डको नोकरी गरेर पंक्तिकारलाई सेक्यूरिटी गार्ड भन्दै बद्नाम गर्न खोज्नेहरू पनि धेरै निस्किए । आफूले काम गरेको पेशा आफैंलाई लाज हुन्छ भने किन गर्नु हौ ? किन अरबको सस्तो प्याजमा खब्बुज घोलेर खानु हौ ?

म ड्यूटीमा रहेको जुन फोटो सामाजिक सञ्जालमा भाइरल भएको थियो, त्यो मेरै हो । म आफैंले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको हो । चोरेर खाएको हैन, ढाँटेको हैन । के को लाज ? मेरो परिवारको पुस्ता विनोद चौधरीहरू जस्तो अर्बौको खानदानी परिवार पनि होइन । खेतीकिसानी गरेर हुर्किएको सामान्य परिवार हो । 


Advertisement

फेरि श्रम के हो ? श्रमजीवी किन हुन्छन् ? के कारणले हुन्छन् ? यो दर्शन बुझेको म, मलाई सेक्यूरिटी गार्डको नोकरी गर्नुमा कुनै पश्चाताप थिएन । यूएईमा ४ वर्ष सेक्यूरिटी गार्ड गरेकै हो । म त नेपालमा पनि सेक्यूरिटी गार्डको काम गर्न तयार थिए तर तलब थोरै हुने भएकाले नगरेको मात्र हो । 

कुनै समय मोदीले पनि रेलको स्टेसनमा चिया बेच्ने काम गरेका थिए । काम कुनै ठूलो–सानो हुँदैन । मलाई त जे काम गरे पनि इमान्दार भएर गर्नुपर्छ, लामो हात गर्नुहुँदैन भन्ने लाग्छ ।

लामो हात गरेर हिँडेको भए सायद अहिलेसम्म आर्थिक रुपमा धेरै परिवर्तन गर्न सकिन्थ्यो होला । त्यो ‘पावर एक्सिस’ पहुँच राख्ने हैसियत नभएको होइन । २ दिनमै करोडपति हुने साथीहरू मेरै आँखा अगाडि देखिए तर मैले त्यो सोच कहिल्यै राखिनँ । त्यसैले म अरब गएको थिए – ईमानदारिताको साख जोगाउन । मैले यूएईमा ४ वर्ष सेक्यूरिटी गार्डको काम गरें । ५० तला अग्लो भवनको रेखदेख गरें । १२ घण्टासम्म उभिएँ तर म अध्ययनमा रुची भएकाले त्यहाँ रहेका अन्य नेपाली कामदारबारे पनि नजर डुलाउन थाले । पेशाले थिएँ सेक्यूरिटी गार्ड तर अनुभवले राजनीति, सभ्यता, हाम्रो दुःख, हाम्रो श्रम सबैसँग परिचित थिए ।

४ वर्षको अरब बसाइको अनुभवमा मैले के महसूस गरें भने त्यहाँ रहेका नेपालीको सपना त्यति ठूलो छैन । होला ठूला कम्पनीमा काम गर्ने केही उच्च पदमा रहेका नेपालीको ठूलै सपना तर अधिकांश स–साना सपनाले तिथोरेर अरब गएको पाइयो ।

कतिपय आमाको उपचार गर्दा ऋण लागेर अरब गएको पाइयो, त्यो पनि भर्खरको १९ वर्षको केटा, त्यो पनि उमेर बढाएर पोसपोर्ट बनाएको । विचरा कस्तो मायालाग्दो ? कोही भाइलाई पढाउने पैसा नपुगेर गएका दिदीहरू पनि भेटिए । कोही बाबाको उपचारका लागि पैसा कमाउन गएकाहरू । बिल्कुलै साना–साना सपनाहरू । मलाई लाग्थ्यो के यो स्वास्थ्य र शिक्षाको प्रत्याभूतिको काम सरकारको हैन र ? के यो राज्यको सामाजिक सुरक्षाको घेराभित्र पर्दैन र ?

अनि मभित्र एक प्रकारको आक्रोश जन्मिन्थ्यो ।

अब मेरै हकको कुरा गरौं । म केही ऋण लागेर टेन्सन भएर अरब छिरेको थिएँ । किन कसरी ऋण लाग्यो ? अन्तिमतिर लेख्ने नै छु तर त्यति जाबो ऋण तिर्न म किन अरब नै जानुपर्ने ? नेपालमै किन नोकरी नपाउने ? यस्ता प्रश्न अनेकौं छन् तर मलाई अरबमा रहेका नेपालीहरू म जस्तै स–साना सपना लिएर गएका थिए तर उनीहरूमा अरबको लाहुरे भन्ने कल्चर फेरिएको थिएन । अहिले पनि छैन । जस्तो कि कसैले चोर्छ होला भनेर त होला नि जाबो एउटा सिरक र कम्बलको डल्लोलाई डोरीले बाँधेर फुकाउनै गाह्रो हुने गरी कस्ने । ए बाबा ! त्यसो नगर न हौ भन्दा रिसाउने, झगडा गर्न खोज्ने । हो सामान हराउँछ तर यसरी हराउँदैन कि यसरी नै बाँध्न परिराखोस् । यो विषय अहिले पनि अरबमा रहेका साथीहरूसाई सम्झाउन खोज्नुभयो भने त्यहाँ फेरि झगडा पर्छ ।

यसरी म अरब गएँ । सेक्यूरिटी गार्डको काम गरें । पैसा पनि कमाए । त्यो बेला महिनाको ५०–६० हजार बचाउने भनेको त धेरै ठूलो कुरा थियो । मैले बचाएँ । ऋण तिरे । सबै त तिर्न सकिनँ । जे होस्, अलिअलि तिरें । नानीहरू स्कूल पढाएँ । घरखर्च चलाएँ । मैले राम्रो फोन चलाएँ । मुख्य कुरा त के भयो भने त्यो गर्मीको पेलानले गर्दा होला रिस उठेर म लेखक भएँ । प्रायः म रिस उठेको बेला लेखक हुने गर्छु । अहिले रिस उठ्दैछ कता–कता । अब लेखक भइरहन्छु कि जस्तो लाग्दैछ तर म विदेशिएको भने हैन ।

मैले बुझेको अरब अर्काे के पनि हो भने अलिकति कम लेखपढ गरेका मानिसहरू त्यता छन् कि भन्ने लाग्छ । अलिकति अस्लिलता पनि सामाजिक सञ्जालमा देख्न सकिन्छ । औंठाछापहरू पनि धेरै छन् अरबमा । उनीहरू पनि भन्छन् – यो यूएई त नेपालीले बनाएको हो तर म अझै पनि भन्छु, त्यो यूएई इन्जिनीयरले नै बनाएको हो । यो हाँस्ने कुरा त हैन । हुन त इन्जिनीयरले कतार बनाए । यहाँ भनिन्छ – नेपालीहरूले कतार बनाए । यो कुनै पनि विषयलाई कसरी बुझ्ने र प्रस्तुति दिने भन्ने कुरामा भर पर्छ ।

बरु उँट बाँध्ने गोठ चाहिँ नेपालीहरूले बनाए, बगैंचामा फूल रोपे पानी हाले ।  

रक्सी खायो कि लड्नुपर्ने नेपालीहरू अझै छन् अरबमा । उनीहरू पैसा पनि जोगाउँदैनन् । तलब आएको दिन तास खेलेर पैसा स्वाहा पार्छन् । एटीएम नै बन्धकी राखेर धितोमा तास खेल्छन् । मलाई लाग्छ एटीएम बन्धकी राखेर तास खेल्ने काम अरबमा मात्र हुन्छ । संसारको कुनै कुनामा यस्तो हुँदैन । काम चाहिँ उही हो भिटेनको गित जस्तो – झाडु लगाउँछु म डाडु ठटाउँछु तर कोठमा आएपछि सबै राजा । 

कोही नेपालमा रहँदा सबैभन्दा खतरा डन, कोही अरबपति बाबाको एक्लो छोरा । कोही २० वटा गर्लफ्रेन्ड खेलाएर आएको खतरा केटा, कोही उसको नाम सुनेसी डीएसपी नै थर्किने खालको । म चाहिँ केही थिइनँ । सेक्यूरिटी गार्ड गयो, आयो, खायो, सुत्यो अनि फेरि सेक्यूरिटी गार्ड गर्न गयो । एकचोटी भने रेड एरिया कस्तो हुने रहेछ भनेर यसो बाहिरबाट हेर्न गएको थिएँ । रातो पो हुने रहेछ । घोडाको स्पीडमा फर्कें । तर म किन, कसरी अरब गएको थिए ?
मूलतः सबैका आ–आफ्ना दुश्मन हुन्छन् । पृथ्वीको पनि आफ्नै दुश्मन छ । बेलाबेलामा हल्लिन्छ पृथ्वी । ती हल्लाइहरूका कारण नै पृथ्वीमा नयाँ–नयाँ संरचनाहरू देखा पर्छन् । जस्तो कि हिमाल, पहाड, खोचहरू । यो एकबारको जुनीको पनि आफ्नै दुश्मन छ । दुश्मन भएकै कारण हामी बेलाबेला नराम्ररी हल्लिने गर्छाैं तर जसरी पृथ्वी हल्लिनु उसको नियम हो, त्यसैगरी एकबारको जुनी हल्लिनु हाम्रो नियम हो । यहाँ नियमभन्दा बाहिर कोही पनि छैन । समयको घडी त मानिसहरूले आफूलाई सहज बनाउन पछि बनाएको हो । पृथ्वीको कुनै समय छैन तर नियम छ पृथ्वीसँग । नियम एकबारको जुनीमा पनि हुने रहेछ । अन्यथा दुश्मन त सबैका छन् । अरुका दुश्मन आफू भइन्छ पनि ।

जस्तो कि प्रचण्डकै कुरा गरौ न । प्रचण्ड सबैका दुश्मन भए ।

को–को छैनन् र प्रचण्डका दुश्मनहरू ? पूर्वराजा ज्ञानेन्द्र शाहको दुस्मन–प्रचण्ड, बाबुरामको दुश्मन–प्रचण्ड, मोहन वैद्यको दुश्मन–प्रचण्ड, विप्लवको दुश्मन–प्रचण्ड, कमल थापाको दुश्मन–प्रचण्ड, शेरबहादुरको दुश्मन–प्रचण्ड, रुक्मांगद कटुवालको दुश्मन–प्रचण्ड, नवराज सिलवालको दुश्मन–प्रचण्ड, शुशीला कार्कीको दुश्मन–प्रचण्ड, चित्रबहादुर केसीको दुश्मन–प्रचण्ड, नारायणमान बिजुक्छेको दुश्मन–प्रचण्ड, डलरवादी पत्रकारको दुश्मन–प्रचण्ड, भारतको दुश्मन–प्रचण्ड, अमेरिकाको दुश्मन–प्रचण्ड ।

यति धेरै दुश्मन हुँदाहुँदै पनि प्रचण्ड ! कोही थिए प्रचण्डका दुश्मन पनि । कहिले कांग्रेस प्रचण्डको प्रधानदुश्मन थियो त कहिले तत्कालीन एमाले । कहिले भारत प्रचण्डको प्रधान दुश्मन थियो त कहिले अमेरिका ।
मेरो पनि एउटा दुश्मन थियो – ऋण

घरमा मेरै कारणले ऋण लागेको थियो तर ऋणको सम्पूर्ण बोझ बा–आमाको थाप्लोमा थियो । बा–आमाको इमान्दारिताकै कारण साहुहरूले ऋण पत्याएका थिए । छोराले एकदिन कमाएर तिर्ला नि भनेर बा–आमा पनि ऋणसँग डराउँदैन्थे । खै किन हो ? साहुहरू पनि हामीलाई ऋण दिन डराउँदैन्थे । बरु पैसा चाहिएको त छैन नि ? भनेर सोध्थे । पुर्ख्यौली सम्पत्ति खासै धेरै थिएन तर मागेको समयमा साहुहरूले ऋण दिँदा अचम्म पनि लाग्थ्यो । कहिलेकाहीँ त यस्तो पनि मनमा कुरा खेल्थ्यो कि हामीलाई साहुहरूले किन यति सजिलै ऋण दिने गरेका होलान् ? साठीको दशकमा ५–७ लाख ऋण हुने भनेको हामी गाउँले परिवारको निम्ति मामुली कुरा थिएन । हाम्रो परिवार भने मामुली थियौं । 

लिएको सावाँको ब्याज खप्टिँदै गएपछि यहाँ मै हुँ भन्नेहरू पनि टाट पल्टेका छन् । पैसा राख्ने बैंक नै टाट पल्टिन्छन् भने सुर्ती र खैनी राख्न नमिल्ने पाइन्ट लगाउने म अब बिस्तारै टाट पल्टिने खतरामा थिएँ । बा–आमा मलाई देखेर झस्किन थालिसकेका थिए । आफ्नै सन्तान देख्दा झस्किने अवस्था पक्कै पनि कारुणिक नै हुने गर्छ । हिजो हँसिलो मुहारमा बात मार्ने साहुहरूको चेहरामा अब बिस्तारै जंग बहादुरको प्रतिक देखिन थाल्यो । घरबार बेचेर ऋण तिर्नको लागि हाम्रो परिवारसँग भएको जायजेथा जस्तो तेब्बर जायजेथा हुन पर्थ्यो । अर्थात् जायजेथाभन्दा ऋण धेरै हुन थाल्यो । आमाले बेलुकी खाना खान छाड्नुभयो । बाबाले साविकको तुलनामा धेरै मादक पदार्थ पिउन थाल्नुभयो । बा–आमालाई चिन्तामा पारेको भन्दै २ बहिनीहरू मसँग रिसाउन थाले । तिनताका यस्तो लाग्थ्यो – मलाई घरको आफ्नै भैंसीले पनि नराम्रोसँग घुरेर हेरिरहेको छ ।

ऋण चाहिँ किन लागेको थियो भने पहिले हाम्रो परिवार सानो गोठमा बस्थ्यो । म ठूलो भइसकेको थिएँ । कुनै पनि रात मैले दुलही लिएर गोठमा आउने जोखिम थियो । गोठमा नयाँ दुलहीलाई राख्न सहज हुँदैन भन्ने मेरो पूर्व अनुमान थियो । त्यसैले एउटा ढुंगाले छाएको, कोठै–कोठा भएको ३ तले घर बनाउनुपर्छ भन्ने मेरो मान्यता थियो । किचन छुट्टै, बाथरुम छुट्टै बनाउनुपर्छ भन्ने लागेको थियो । यसरी नयाँ घर बनाउने चक्करमा ५ लाख ऋण लाग्यो तर बर्खाको समयमा ठूलो पहिरो आयो । आधा खेतबारी खोलाले बगाएर लग्यो । घरको जग भर्खर हालिएको थियो । हाम्रो गाउँमा भैसी बेच्दा त्यो घरका केटाकेटीहरू भैंसीको पछाडि–पछाडि रुँदै गएको देखेको थिए । मलाई पहिलो पटक घरको जग देखेर रुन मन लाग्यो । ऋण लाग्नुमा अन्य कारण पनि छन् । मासु विना भात मिठो नहुने अर्काे कारण थियो ।

जे पर्‍यो पर्‍यो घर त बनाउनैपर्छ । मैले कुनै पनि बेला बिहे गर्न सक्छु भन्ने मेरो मनमा थियो । बिहे गरे बा–आमासँग सुत्न हुँदैन, एउटा दामी कोठा बनाउँछु भन्ने लागेको थियो । ऋण फेरि थपियो । यसरी ऋण बढ्दै गयो । घर आधा निर्माण हुँदै अचानक मेरो बिहे भयो । मेरो बिहे कसरी भयो ? म आफैंलाई थाहा छैन तर मैले लभ म्यारिज नै गरेको हो । कसरी किन बिहे भयो ? थाहा नै थिएन । केवल मेरो साथमा एउटी केटी थिइन् । उनी अहिले २ सन्तानकी आमा छिन् ।

बिहे गर्दा नयाँ लुगा, सुन चाहिन्छ भन्ने थाहै थिएन । फेरि ऋण थपियो । घर बन्दैछ केही दिन यही गोठमै सुतौं भन्ने सल्लाह भयो । बाख्राहरू, भैसीहरूको नजिकै हामी सुत्यौं । हाम्रो सुहागरात भैसीको गीतसँगै भयो, बाख्राहरूले घाँस चपाएको ध्वनीसँगै भयो । यसरी घर बन्दाबन्दै अचानक बिहे भयो ।

बिहे पश्चात झन् दैनिक रुपमा पैसा चाहियो । बच्चा पनि पेटमा बस्यो । धेरै गाह्रो हुन थाल्यो । केही हुन्छ कि भनेर किराना पसल खोलियो । त्यो पनि ऋणमै तर पसल खोलेको ३ महिनामै मैले पसललाई लात्ती–लात्तीले हाने । किनभने त्यो पसल लात्ती खान लायकै थियो । अहिले पनि त्यो पसललाई देख्दा लात्ती हान्न मन लाग्छ । हिसाब गर्‍यो–गर्‍यो लगानीभन्दा दोब्बर घाटा देखिन्छ क्याल्कुलेटरमा । फेरि पनि जिन्दगी ऋणमै डुब्यो । राजनीतिको राग आफ्नो ठाउँमा थियो, ऋणको राग अर्काे ठाउँमा । बहुत गाह्रो थियो । अन्ततः विदेश नगई ऋण तिर्न नसकिने निर्णयमा पुगे ।

बिहे भएपश्चात् साहुहरू त थिए नै । छोरी पनि जन्मिइन् । छोरी पनि एकप्रकारको साहु जस्तो भएर देखा परिन् । मलाई देख्यो कि के–के मागिहाल्ने । कहिले गुडिया बस माग्ने, कहिले प्लेन माग्ने, कहिले रेल माग्ने, कहिले डोजर माग्ने । यस्तै–यस्तै मागिरहने । भोलि भविष्यमा छोरीले साँच्चिकैको प्लेन मागिन् भने ? म यही प्रश्नको विन्दुमा उभिएर खडा हुन्थें । त्यतिखेर थुप्रै अवसरहरू थिए । टीमहरू पनि थिए । करोड–करोड कमाइ गर्नेहरू पनि थिए तर न साँच्चै भन्ने हो भने एकदमै इमान्दार छु जस्तो लाग्छ । फेरि छुचो मुख । प्वाक्कै बोल्ने । हामी जस्तो प्रस्ट वक्ताका लागि नेपालमा निकै गाह्रो हुने नै भयो । नेपालमा चाकडी चाप्लुसी गर्न जान्यो भने उसको प्रभाव शासन सत्तासँग पर्छ र त्यो शासनसत्ता नै कमाइ हुने ठाउँ भएको छ ।

तिथिमिति याद छैन । कहिल्यै याद पनि नहोस् तर त्यो बेला म रात्रीबस चढेर काठमाडौं आएँ । काठमाडौं यात्रा त्यो दोस्रो पटक थियो । पहिलो पटक आन्दोलन गर्न आएको थिएँ । त्यसको पनि तिथिमिति थाहा छैन । भात कहाँ सस्तो पाइन्छ भनेर त्यो बेला म मुग्लिन बजारभर डुलें । किनभने भातमा पनि लुगाकपडामा जस्तो बार्गेनिङ डिस्काउन्ट हुन्छ होला भन्ने लागेको थियो । ८० रुपैयाँ थालको मासुभातलाई ५० रुपैयाँमा दिने भए खान्छुसम्म पनि भनियो । मलाई भूपू मायालुहरू सम्झेर कस्सम रुन मन लाग्दैन तर त्यो ८० रुपैयाँको भातमासु बार्गेनिङ गर्नुपरेको दिन सम्झँदा भने रुन मन लाग्छ । रोएको पनि छु ।

काठमाडौं पुगेपछि एउटा कोठामा ९ जनासम्म लस्करै सुतियो । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मानिसहरू एउटै रुममा अटाएका थियौं । अहिले सम्झँदा उदेक लाग्छ । कसरी अटायौं होला एउटा कोठमा त्यत्रो पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मानिसहरू ? सिराहाको रामगोपाल भाइले त्यो बेला गौशालामा सस्सो मासुभात पाइने ठाउँ फेला पारेको छु भन्दै मलाई प्रलोभन देखाएको थियो । हुन पनि ३५ रुपैयाँमा थपीथपी मासुभात खुवाएको थियो । कसरी खुवाउन सक्यो सस्तोमा ? मलाई अहिले पनि अचम्म लाग्छ । हिजोआज त्यही होटलको बाटो भएर हिँड्दा यसो साहुलाई हेर्छु । दिलनिशानी मगर सर हैन र भन्दै नमस्कार गर्छन् आजकल । त्यही होटलमा कुनै दिन यो दिलनिशानी मगर गोंगबुबाट हिँडेर आउने गरेको थियो ।

भिसा लाग्यो । जहाज उड्ने बेला त केही भएन । उडिसकेपछि मलाई वान्ता आउला जस्तो भयो । प्लास्टिक मागें । मानौं कि त्यो सुनौली जाने बस थियो । त्यो मेरो पहिलो पटकको जहाज यात्रा थियो । बहराइन एयर थियो । उडान यूएई तर्फको । साथमा सँगै रहेका अन्य नेपाली पनि पहिलो पटक जहाजको यात्रा गरिरहेका छन् भन्ने कुरा उनीहरूको मुहारले बताउँथ्यो । जहाज त घर जस्तो हुने रहेछ । थपक्क हल्लिएको पनि थाहा नहुने । जहाजभित्रै खाना पनि पाइने । मेरो पहिलो जहाज यात्राको पहिलो अनुभव यस्तै थियो । करीब ४ घण्टाको उडानपश्चात् जहाज यूएईमा अवतरण गर्‍यो । म लगायत केही नेपालीलाई लैजान १ जना भारतीय आएका थिए । उनले गाडीमा हालेर लगे र एउटा कोठामा लगेर ७ जनालाई भुइँमा राखेर गए । मलाई पहिलोपटक आफूलाई भेडाबाख्रा जस्तो लाग्यो । निकै भोक लागिरहेको थियो तर खानेकुरा केही थिएनन् । रेस्टुराँ बन्द भइसकेका थिए । त्यो दिन भोकै सुतें ।

यसरी चौकिदारको काम प्रारम्भ भयो । जागिर सजिलो थियो । राति गयो थपक्क सुत्यो । बेलाबेलामा उठेर यसो डुल्यो । फेरि सुत्यो । तिनै दिनहरूको एकप्रति फोटो अहिले पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको देखिन्छ । त्यो फोटो मैले आफैं स्वयंको फेसबूक अकाउन्टमा राखेको थिएँ । किन र के भयो त राख्न नहुने ? त्यो एउटा काम न थियो । जे गरेपनि काम आँखिर काम नै हो हजुर । अहिले त्यो फोटो भाइरल गराउनेहरूले के काम गर्छन् मलाई थाहा छैन तर काम भनेको काम हो । कामको सम्मान गर्नुपर्छ भन्ने लाग्छ । यसर्थ त्यो फोटोसँग मलाई घृणा होइन, गर्व लाग्छ ।
यूएईमा ४ वर्ष काम गरें । कमाइ राम्रै भयो । राम्रै अर्थात् नेपालको तुलनामा भन्दा धेरै राम्रो । ४ वर्षमा ९० प्रतिशत ऋण तिरे । त्यो बेला ५ लाखमा कसैले नकिनेर छाडेको एउटा घडेरी किने । अहिले त्यसलाई १ करोजजति पर्छ र घडेरी खोसाखोस छ ।

कम्तिमा यूएई गएर मैले आर्थिक रुपमा ध्वस्त हुँदै गएको परिवारको साख जोगाउँदै गएँ । जे सोचेको थिए त्यो भयो पनि तर सबैकुरा राम्रो हुँदाहुँदै पनि मलाई ४ वर्षभन्दा धेरै बस्न मन लागेन त्यहाँ । अनि घर फर्कें । घर फर्केपछि पनि सायद ३ वर्षअघि हुनुपर्छ म घुम्नका लागि फेरि यूएई गएको थिएँ । अहिले पनि यूएई जाउजाउ लाग्छ । यूएईसँग मेरो कुनै गुनासो छैन । बरु यूएई धन्यवादको पात्र बनेर मेरासामु उपस्थित छ ।

परिस्थिति कस्तो भयो भने मेरो क्षमता, दक्षता जतिसुकै भएपनि सबैले अरबको चौकिदार भनेर हेप्ने । ईख त लाग्ने नै भयो । फेरि ऋणधन गरेर भएपनि यूरोपमा होटल खोलेरै छाड्छु । परिस्थितिले साथ दियो भने अमेरिकामा पनि होटल खोल्छु भन्ने ईख जाग्यो । मेरा निम्ति नेपालमा सुखसयल, राजनीतिक पहुँच, पैसा, प्रतिष्ठा, चर्चा–परिचर्चा सबैथोक थियो । सानोतिनो सेलिब्रिटी नै बनाएका थिए मानिसहरूले तर पनि मलाई चौकिदारको ‘ट्याग’ लागिरह्यो । यो प्रधान कुरा त हैन तर मान्छेको मनमा प्रश्नको जन्म गराउने रहेछ यस्ता कुराहरूले । यस्ता घृणा र हेलाले मानिसलाई बलियो बनाउन मद्दत गर्ने रहेछ । यसरी पहिलो पटक ऋणधन गरेर म थाइल्यान्ड गएँ । त्यहाँ जाँदा पनि सामाजिक सञ्जालमा अनेकौं प्रश्न उठे तर म थाइल्यान्ड जानुको कारण थियो – लुङ्गी ब्यापार गर्न सकिन्छ भन्ने कुराको अध्ययन गर्न । किनकि मेरो आमाको मावलीतिरका १ जना दाइ लामो समयदेखि थाइल्यान्डमा लुङ्गी ब्यापार गर्थे तर हाम्रो सरकारी नियमकानून र अन्य केही प्राविधिक कारणले लुङ्गी नबेच्ने निर्णयमा पुगें ।

अनि युरोपको यात्रामा निस्कें ।

अरब हुँदै मेरो एउटा सपना थियो एक पटक थाइल्यान्ड घुम्न जान्छु । अनि चीनको ग्रेटवाल जान्छु र फेरि अरब नै घुम्न आउँछु । म पूरै योजनामा चलेको थिए । म योजनामै चल्ने मानिस पनि हुँ । अरबबाट फर्केपछि फेरि अरब गएँ घुम्न, थाइल्यान्ड पनि गएँ । चीनको तयारी थियो । एउटा सेमिनारमा उनीहरूकै खर्चमा जान पाइने तर भिसा आयो युरोपको । भिजिट भिसा लाग्यो – जर्मनीको । हुन त युरोपको पनि तयारी थियो तर म जस्तो लो प्रोफाइललाई के भिजिट भिसा देला भन्ने लागेको थिएन । इन्टरभ्यू दिन गए । नेपाली नै रहेछ । भिसा दियो तर मलाई खुशी लागेन । किनकि यूएईभन्दा ठूलो विदेश कतै हुँदैन । त्यति अग्ला भवन अन्त छैनन् । त्यही भवन चलाएर २०० देशका मानिसहरू हल्लाएको म, अब विदेश भन्ने मोह खासै थिएन तर पनि फ्रीको अलकत्रा पनि खाने जमनाका हामी फ्रीमा युरोप घुम्न पाउँदा मजा त आउने नै भयो । टिकट पनि स्पोन्सर आयो र उडियो पश्चिम दिशामा । टर्किस एयर हुँदै इस्तानबुलको भव्य विमानस्थलको विरासत जोगाउँदै बेल्जियमको ब्रसल्स आएँ ।

युरोप हो भन्ने त भयो तर विदेश हो भन्ने भएन । शुरूमा अरब गएको भएर होला विदेश भनेकै सयौ तला अग्लो महल भन्ने बुझिएको रहेछ । विदेशमा होचा घरहरू पनि हुने रहेछन् ।

तर मेरा बाबै सामाजिक सुरक्षा, आप्रवासी नीति, नागरिकप्रति राज्यको दायित्व हेर्दा आहा भन्ने लाग्यो । यस्तो पनि हुन्छ र यार ? हैन होला भन्ने लाग्यो । शिक्षा, स्वास्थ्य सबै राज्यको । बेरोजगार भत्ता मात्र हैन, आवासहरू पनि दिने । वास्तवमा समाजवाद त युरोपमा पो रहेछ । वास्तवमा कम्युनिस्ट शासन त युरोपमा पो रहेछ भन्ने लाग्यो । पुराना संरचनालाई जोगाएर राखिएको र त्यही नै पर्यटनको मुख्य स्रोत भएको पाइयो । आफ्ना पुरातन धारणा पनि युरोपमा नमिल्दा देखिए । जस्तो कि भत्काएर नयाँ बनाउने हो कि भत्किएपछि पुरानो जस्तै बनाउने हो ? यो मुद्दामा कन्फ्यूजन भयो ।

दुःखद पक्ष भनेको अरब र युरोपमा काम भने बराबर लाग्यो तर सेवासुविधा युरोपमा धेरै । कामको दुःख अझ युरोपमा धेरै रहेछ । कामको आधारमा भेदभाव हुँदैन । सबै काम समान तर काम भने एकदमै खटेर गर्नुपर्ने । एकदमै गाह्रो हुने तर फाइदाको कुरा परिवारसँगै बस्न पाउँदा युरोप धेरै नेपालीको प्रतिष्ठाको देश बनेको छ । फलनाले त परिवार नै लगेर गयो रे भन्ने परेको छ तर अरबमा सामान्य कामदारलाई फेमिली भिसा दिएको अनुभव छैन । युरोपमा फेमिली भिसाका कारण धेरै नेपाली लोभिएका हुन सक्छन् ।

युरोपमा रहेका नेपालीहरू अरुको कुरा काट्नमा माहिर रहेछन् । अरुको ब्यापार डुबाउनमा, अरुको घरबार डुबाउनमा एकदम माहिर । अझ अवैध बस्ने, कागज नभएकाहरू त उनीहरूको काम नै अरुको चियोचर्चा गर्ने । अनि बेतमासको राजनीति पनि धेरै हुने । यो एमाले, यो माओवादी, यो कांग्रेस इत्यादि । यतिधेरै राजनीति नेपालमा पनि हुँदैन ल ! हुँदैन होइन, हुँदै हुँदैन । सामाजिक संघसंस्था आवश्यक छन्, यो कल्चरल कुरा पनि भयो तर राजनीति अति गर्ने, हरेक कुरामा राजनीति घुसाउने । यस्तो संस्कार देखियो ।

म युरोपमा केही देशहरू घुमे, जस्तो कि नेदरल्यान्ड, फ्रान्स, जर्मनी, लग्जमबर्क, जर्मनी, इटाली, स्वीजरल्यान्ड, डेनमार्क जस्ता देशहरू । त्यहाँ रहेका प्रायःसबै नेपालीको स्वभाव एउटै देखियो – कसरी हुन्छ अरुको बिगार्ने । अनि अनावश्यक राजनीति गर्ने । त्यो मैले कसरी थाहा पाए भने नेपालबाट नयाँ गएको मानिसलाई अनेकथरि रिपोर्टिङ हुने रहेछ । अझ म त सामाजिक सञ्जालमा अलिअलि चिनिएको चलेको मान्छे, मेरा बाबै कस्ता–कस्ता कुरा सुनियो । युरोपमा २ वटा बुढी नहुने त प्रायः कमै नेपालीहरू रहेछन् । तिनका छोराछोरीको संस्कार पनि अमिल्दो देखिन्छ, कम्तिमा खाँटी नेपालीका लागि । नामै चलेका व्यापारी पनि माफियागिरी र तस्करीको काम गर्ने तर आफूलाई जोगाउने शक्ति चाहिँ एनआरएनलाई बनाउने । यस्ता बकम्फुसेहरू पनि धेरै देखियो युरोपमा ।

नेदरल्यान्ड गाँजा फ्री देश नै त नभनौ तर गाँजा तपाईं खान सक्नुहुन्छ । क्यासिनो खेल्न सक्नुहुन्छ । ५० युरो तिरेर आफूलाई मन परेको युवतीसँग केही समय बिताउन सक्नुहुन्छ । ब्राउन सुगर तान्न सक्नुहुन्छ । तपाईले पुलिसको डर मान्नै पर्दैन । मलाई लाग्छ गाँजा तान्नकै लागि संसारभरका मानिस त्यहाँ जाने गर्छन् । सेक्सको लागि युवतीहरू बजारको कुनै वस्तु जसरी राखिएका हुन्छन् । साइकल नै साइकल । को धनी को गरीब ? सबै साइकलमा गुड्छन् । साइकलका कारण बाटो नै जाम हुने गर्छ ।

फ्रान्स अनि जर्मनीको के कुरा ? तिनले इतिहास बेचेर पैसा कमाएका छन् । हरियाली र ती बगैचाहरू कुनै कल्पनाको स्वर्ग जस्तो । भैगो स्वीजरल्यान्डको यसपालि चर्चा गरिनँ । अरु घेरै कुरा चर्चा गर्न बाँकी नै छन् । समयक्रमसँगै ती लेखिने नै छन् ।

कमेन्ट गर्नुहोस्