इन्टरनेटको व्यापकतासँगै भाषिक प्रविधिमा संकट, यी हुन सक्छन् समाधानका उपाय

डा. बलराम प्रसाईं
डा. बलराम प्रसाईं

त्रिभुवन विश्वविद्यालय, भाषा विज्ञान केन्द्रीय विभागका सह–प्राध्यापक प्रसाईंले कम्प्युटर भाषा विज्ञानमा विशेषज्ञता हासिल गरेका छन् ।

नेपालमा प्रयोगको हिसाबले नेपाली भाषा पहिलो स्थानमा रहेको छ। यसले नेपालीहरूको दैनिक भाषिक आवश्यकताको परिपूर्ति गर्दै पनि आएको छ। सरकारी कामकाजको भाषा भएकाले सरकारी कामहरू यसैमा सम्पन्न हुन्छन्। सम्पर्क भाषा भएकाले राजनीतिदेखि सामान्य गतिविधिहरू पनि यसै भाषामा सम्पन्न हुन्छन्। 

त्यसैगरी शिक्षा क्षेत्रमा पनि यसको व्यापक रूपमा प्रयोग भइरहेको छ। नेपाली भाषाले ससक्तरूपमा खेलेको अर्को भूमिका आमसञ्चारपनि हो। विविध क्षेत्रका सम्बन्धित सूचनाहरूलाई सम्बन्धित गन्तव्यसम्म पुर्‍याउने काम यसै भाषामार्फत हुन्छ र जनताको सुसूचित हुने अधिकारको परिपूर्तिमा पनि नेपाली भाषाले ठूलो र महत्त्वपूर्ण भूमिका खेलिरहेको छ। 


Advertisement

भाषा र साहित्यको क्षेत्रमा पनि यसको ठूलो देन छ। नेपालका अन्य भाषाभाषिकाहरूमा पनि पुस्तकहरू प्रकाशन हुने थालेका भए पनि बजारको ठूलो अंश यसै भाषाले ओगटेको छ।नेपाली भाषामा लेखिएका पुस्तकहरूको प्रकाशन तथा बिक्रीलाई हेर्ने हो भने लेखकहरू र पाठकहरूको संख्या पनि तीब्ररूपमा बढेको पाइन्छ। यो दृष्टिकोणबाट हेर्ने हो भने नेपाली भाषाको प्रयोगक्षेत्र बढ्दोक्रममा छ र यो कुरा सम्बन्धित भाषाको लागि शुभसङ्केत पनि हो।

यो एउटा पक्ष मात्र हो भने अर्कोतिर नेपाली भाषाको प्रयोग इन्टरनेटमार्फत विभिन्न सामाजिक सञ्जालहरू, वेबसाइटहरू तथा डाटा भण्डारण पनि निरन्तर रूपमावृद्धि भइरहेको छ। प्रायः जसो रेडियो, टेलिभिजन, समाचार पत्रिका, आदिका आ-आफ्नै वेबसाइटहरू छन् जसमा निरन्तर नेपाली भाषाको प्रयोग भइरहेको छ। जसको परिणाम स्वरूप आकाशमा नेपाली भाषाको भण्डारण क्रमशः बढ्दोक्रममा छ। यो एउटा सकारात्मक पक्ष हो, तर यसरी भाषिक पाठको मात्रा बढ्दै जाँदा सूचनाको मात्रा यति धेरै हुन्छ कि प्रयोग कर्ताहरू अन्योलमा पर्न जान्छन् वा आफूलाई चाहिएको सूचना कसरी प्राप्त गर्ने भन्ने पत्तो हुँदैन, किनभने सबै प्रयोगकर्ताहरू भाषा विज्ञान र कम्प्युटर विज्ञानमा विज्ञ हुँदैनन्।


Advertisement

सूचनाहरूको सङ्ग्रह मात्र भएर पुग्दैन, यसलाई ज्ञानमा परिवर्तन गर्नु अति नै आवश्यक हुन्छ। यसका लागि भाषालाई प्रशोधन गरी विभिन्न किसिमका कम्प्युटर सफ्टवेर उपकरणहरूको विकास गर्नुपर्ने हुन्छ, जसको मद्दतबाट प्रयोगकर्ताहरूलाई चाहिएको जस्तो भाषिक सूचना प्राप्त गर्न सकियोस् ।

भाषाको प्रमुख भूमिका भनेको सञ्चार नै हो। यसले मानव सञ्चारलाई कुनै न कुनै प्रकारले सम्भव बनाएको हुन्छ। तैपनि यत्तिमा मात्र यसको भूमिका सीमित रहँदैन। सामाजिक सम्पर्क तथा एक्यवद्धता, राष्ट्रिय एकता, शिक्षा, व्यापार व्यवसाय, आमसञ्चार, पर्यटन, कला, साहित्य जस्ता धेरै क्षेत्रमा यसले प्रत्यक्षरूपमा काम गरिरहेको हुन्छ। विचारको प्रवाह, सूचना, निर्देशन तथा आमजनका सरोकारका विषयहरूमा भाषाको ठूलो भूमिका रहन्छ। आमसञ्चारको विकास र कम्प्युटर इन्टरनेटको द्रुत विकासले भाषाको प्रयोगक्षेत्र व्यापकरूपमा बृद्धि भएको छ। हिजोको जस्तो पत्रपत्रिका र किताबमा मात्र सीमित रहनुपर्ने स्थिति छैन। 

संसारको एक कुनामा भएको विकास तथा अनुसन्धान, साहित्य, मनोरञ्जन जस्ता कुराहरू संसारको अर्को कुनामा छिटो, छरितो र सहज तरिकाबाट प्राप्त हुन सक्छ। यसैको परिणामस्वरूप अहिले नेपाली भाषा वेबसाइटहरूमा व्यापकरूपले प्रयोग भइरहेको छ र दिनानुदिन यसको प्रयोग पनि निकै बढिरहेको छ।

अब औद्योगिक उत्पादनहरूको खरिद बिक्रीका लागि पसल पसल धाइरहनुपर्न स्थिति रहेन। इन्टरनेटमार्फत घरैबाट सामानको खरिद गर्न सकिन्छ। यस कार्यका लागि उत्पादन गरिएका वस्तुहरू सम्बन्धित विभिन्न सूचनाहरू इन्टरनेटबाटै प्राप्त गरी आफ्नो रोजाइको वस्तु खरिद गर्न सकिन्छ भने व्यापारीहरूले पनि आफ्नो उत्पादनको विज्ञापन तथा प्रचार प्रसार इन्टरनेटमार्फत नै गर्न सक्छन्।उत्पादनप्रति ग्राहकको विश्वासनियता, उत्पादनको गुणस्तर तथा यस सम्बन्धी विभिन्न पक्षहरूको मूल्याङ्कन गरी आफ्ना ग्राहकहरूको चाहना अनुसार उत्पादनमा परिमार्जन गरी व्यवसायलाई सफलताको विन्दुमा पुर्याउने काम भाषाको प्रयोगबाटै सम्भव भएको छ। तर नेपाली बजारमा यस्तो प्रविधि र प्रयोगहरू भरखरै मात्र केही मात्रा सुरु भएको पाइन्छ यद्यपि यो प्रयाप्त छैन। त्यसकारण यो क्षेत्रलाई बढावा दिन र प्रचुर मात्रामा नेपाली भाषाको प्रयोग वेबसाइटहरूमा ल्याउन विभिन्न किसिमका भाषिक प्रविधिहरूको विकास गर्न जरुरी छ।

नेपाली भाषाको यति धेरै व्यापक प्रयोग भइरहँदा आजका लेखक, पाठक तथा भाषाप्रेमीहरूका लागि एउटा स्तरीय तथा मानक डिजिटल शब्दकोश, हिज्जे परीक्षक, व्याकरण परीक्षक, आदिको विकास हुन सकेको छैन। ५०% भन्दा बढी दोस्रो भाषी वक्ताहरू भएको देशमा कम्प्युटरको माध्यमबाट सजिलै नेपाली भाषा पठन-पाठन गर्ने गराउने प्रविधिको विकास भएको छैन। एउटा अनुवादकका लागि राम्रो यन्त्रनुवादक बन्न सकेको छैन। दृष्टिबिहिनहरूका लागि कम्प्युटर स्क्रिनमा देखिने नेपाली पाठ पढिदिने सफ्टवेरको विकास हुन सुरु भए पनि पूर्ण विकास भएको छैन, विश्वविद्यालय स्तरमा यति धेरै विद्यार्थीहरूले नेपाली भाषाको अध्ययन अनुसन्धान गर्दछन्, उनीहरूका लागि नेपाली भाषाको कुनै पनि तहको सहज विश्लेषण गर्ने कुनै कम्प्युटर सफ्टवेरको विकास हुन सकेको छैन। यति मात्र होइन, हुनु पर्ने काम धैर भएका छैनन्। समग्रमा भन्नु पर्दा नेपाली भाषाको स्थानभाषा प्रविधिको हिसाबले निकै तल रहेको छ। यस पक्षमा विचार विमर्श, सम्भावनाहरूको खोजी, छलफल तथा योजनाहरू उच्चस्तरमै हुनु पर्ने देखिन्छ।

इन्टरनेट सञ्जालमा यसरी दैनिक रूपमा थपिँदै गएका भाषिक तथ्याङ्कहरू प्रशोधनको हिसाबले उपयुक्त हुँदैनन्। कुनै सूचना वा आवश्यक तथ्याङ्कको खोजी गर्नुपर्दा, कुनै एक ढाँचाको तथ्याङ्कलाई अर्को रूपमा लैजानु पर्दा त्यति सजिलो हुँदैन। यस्ता विभिन्न कार्यहरू गर्नुपर्दा संरचनागत हिसाबले जम्मा गरिएका डाटाहरूको आवश्यकता पर्दछ। भाषाको विश्लेषण गरी विशेष ढाँचामा सुत्रात्मक तवरबाट राखिएका तथ्याङ्कलाई कम्प्युटरले सजिलै पढ्न र बुझ्न सक्ने हुन्छ। यो कार्य गर्न भाषाको आन्तरिक तथा बाह्य दुबै रूपलाई अध्ययन गरी विश्लेषण गरिएका तथ्याङ्कहरूलाई कम्प्युटरले पढ्न सक्ने गरी भण्डारण गर्नु पर्ने हुन्छ।यस्तो कार्य सम्पादान गर्न एक पक्ष वा व्यक्तिबाट मात्र सम्भव हुँदैन। यस कार्यका लागि उपयुक्त भाषिक तथ्याङ्कको सङ्कलन गरी सकेपछि भाषावैज्ञानिकले भाषाका विभिन्न पक्षहरूको अध्ययन गर्नु पर्छ।

यसरी विश्लेषण गरिएका भाषिक तथ्याङ्कलाई कम्प्युटरले पढ्न र बुझ्न सक्ने गरी कम्प्युटर वैज्ञानिकहरूको मद्दतबाट सो पाठलाई भण्डारण गर्नु पर्छ। भण्डारण गर्नको लागि आवश्यक कम्प्युटर सर्भर र त्यससँग सम्बन्धित प्रविधिको आवश्यक पर्दछ। यसरी भण्डारण गरिएका तथ्याङ्कलाई गैरव्यापारिक प्रयोग गर्न सर्वसाधारण तथा इच्छुक व्यक्तिहरू वा समूहलाई लागि पनि खुल्ला गरिदिनुपर्छ। त्यसपछि मात्र विभिन्न भाषा तथा सूचनासँग सम्बन्धित व्यक्तिहरूबाट भाषासँग सम्बन्धित विभिन्न प्रविधिहरूको विकास कार्य सुरु हुन्छ। यही क्रममा विकास भएका विभिन्न प्रविधिहरूलाई क्रमशः उपभोक्ता तथा प्रयोगकर्ताहरूका लागि वितरण गर्न सकिन्छ। 

नेपालमा यस कार्यका लागि आवश्यक जनशक्ति त्रिभुवन विश्वविद्यालय लगायत अन्य विश्वविद्यालयहरूमा उपलब्ध भइसकेको छ साथै फाटफुट कामहरू पनि भइरहेको देखिन्छ। एउटै मात्र कुरा बाँकी छ त्यो हो सरकारको भाषा र भाषा प्रविधिप्रतिको सचेतता, गैरसरकारी क्षेत्रहरूको उत्सुक्ता र सम्बन्धित व्यक्तिहरूको समन्वयात्मक दक्षता।यसमा सरकारी तथा गैरसरकारी क्षेत्रबाट सो कार्य प्रतिको प्रतिवद्धता र कार्यको स्वामित्व लिने जसमा आर्थिक पक्ष पनि पर्छ र अन्य सम्बन्धित व्यक्तिहरू तथा संध-संस्थाहरूबाट जनशक्ति र श्रोत साधनको कार्यान्वयनमा विशेष समन्वय सृजना गर्ने हो भने यस सम्बन्धित धेरै कार्यहरू सजिलै र समयमै गर्न सकिन्छ।

नेपाली भाषामा भइरहेका गतिविधिहरू र विश्वका कतिपय भाषाहरूमा भइरहेका भाषा प्रविधिहरूलाई हेर्दा नेपाली भाषालाई पनि त्यो दिशातर्फ लैजान सकिने देखिन्छ। तसर्थ अब यो कार्यको थालनी गर्न सबैभन्दा पहिला नेपाली भाषाको भाषिक श्रोतहरूको विकास गरिनु पर्छ र प्रविधिका विकासतर्फ अगाडि बढ्नु पर्छ। यस विषयमा सबैको र विशेष गरी सम्बन्धित क्षेत्रको ध्यान जाओस्। किनभने देश विकासको मापनका धेरै सूचकहरूमध्ये भाषा प्रविधि पनि एक हो।

डा. बलराम प्रसाईं
डा. बलराम प्रसाईं

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्