'महिला मान्य'हरू, आफूलाई दुर्व्यवहार गर्ने ‘पुरुष मान्य’को नाम सार्वजनिक गर्न सक्नुहुन्छ ?

अम्बु कुमारी 'साक्षी'
अम्बु कुमारी 'साक्षी'

लेखिका नेपाल नारी संगम उत्थान केन्द्रमा आवद्ध छिन् ।  

विगत केही महिनादेखि मैले निरन्तररूपमा दैनिक पत्रपत्रिका तथा अनलाइन माध्यममा महिला हिंसा तथा विभेदसँग सम्बन्धित लेख एवं समाचारहरू खोजीखोजी पढ्दै आइरहेकी छु । दिनहुँ महिलाविरुद्धका घटनाबारे पढेर मन रुन्छ । 

के हामी साँच्चै एक्काइसौं शताब्दीमा बाँचिरहेका छौं त ? विश्वमा परिवर्तनको हावा चलेका बेला उक्त हावाले हामीलाई छुन सकेको छैन त ? आखिर महिला कहिलेसम्म प्रताडित हुने हो हाम्रो समाजमा ? पुरुषवादी मानसिकता मा समाजलाई डोहोर्‍याउन लागेकाहरूसँग यसबारे कुनै डेडलाइन छ कि ?


Advertisement

हाम्रो देशमा निर्मलाहरू बलात्कृत भइराख्दा मौसमी आन्दोलनको बेग चल्छ तर पीडितले न्याय नपाउँदै मुद्दा सडक र सदनबाट खारेज हुन्छ । पछिल्लो महिना मात्र सुदूरपश्चिम प्रदेशको बझाङमा छाउपडीका कारण एक निर्दोश महिलाले ज्यान गुमाउनुपरेको छ । कयौं महिला छाउपडीजस्ता कुरीतिका कारण मृत्युवरण गर्न बाध्य छन् ।

धर्म र संस्कृतिको नाममा महिलालाई विभिन्न खाले अपहेलना र प्रताडना भोग्नु परिरहेको छ । शायद हामी महिला पनि त्यसका कारक स्वयं पनि हौं जस्तो लाग्छ । महिला जागृत हुनुको विकल्प छैन । 


Advertisement

समाजमा सम्मानितको पगरी भिरेर महिलाप्रति नकारात्मक दृष्टिकोण राख्ने र महिलालाई वस्तुको रूपमा अर्थ्याउनेहरूको सामाजिक सार्वजनिकीकरण हुनु आवश्यक छ ।

केही वर्ष पहिला मात्र मेरा दिदीभिनाजू दिल्लीबाट काठमाडौंस्थित पशुपति दर्शन गर्न आउनुभएको थियो । उहाँहरूसँग हामी पनि मन्दिर गयौं । त्यतिबेला मेरो पिरियडको बेला थियो । मन्दिरको प्रांगणमा पुगेपनि मन्दिरभित्र म जानुहुन्न भने धार्मिक संकीर्णताले मेरो खुट्टा रोक्यो । त्यत्तिकैमा सँगै रहेका पतिले सोध्नुभयो– ‘के भयो ? किन रुक्यौ ?’ मैले उहाँलाई पिरियडबारे भनें । उहाँको जवाफ थियो– ‘यार, यु आर एन एडुकेटेड लेडी (तिमी शिक्षित महिला हौ), तिमीले यस्तो मानसिकता राख्न सुहाउँदैन । उहाँको कुरा सुनेर औधी खुशी लागेको थियो ।

मान्छे शिक्षित कागजी सर्टिफिकेटले मात्र नहुने रहेछ, व्यवहारमा पनि देखिनुपर्ने रहेछ । अहिले पनि शिक्षित महिलाहरूले समेत धर्मको नाममा महिलासँग गरिने व्यवहारलाई जानीजानी वा परम्पराको निरन्तरताका नाममा अगाडि बढाउँदै आइरहेका छन्, जुन आफैंमा लज्जित हुनुपर्ने विषय हो ।

हाम्रो समाजको व्यवहारिक पक्ष केलाउँदा छोरीलाई बढी माया गरेको देखाउन ‘बाबु/छोरा’ भनेर बोलाउने चलन पहिलेदेखि नै चलिआएको पाइन्छ । छोरीलाई माया नै नगर्ने भन्ने होइन तर अनुपातमा हेर्दा छोरीलाई छोरासरह माया गर्छु भनेहरूको संख्या कम छैन, जबकि यो आफैंमा लैंगिकतामा आधारित विभेद हो ।

हाम्रो समाजले छोरीलाई छोरीसरह माया गरे पुग्दैन ? छोरीलाई माया गर्दा छोराको प्रभाव दिमाग राख्ने हो भने वास्तविक माया त छोरालाई नै गरेको प्रस्टिन्छ । यो मानसिकताको उपज हो, पितृसत्तात्मक मानसिकता । अन्धविश्वास र कुप्रथाले झंगिएको मानसिकतालाई किताबी ज्ञान र स्कूले ज्ञानले परिवर्तन गर्न सक्दैन । यसका लागि शिक्षित भनिने महिलाहरूले आफैंबाट परिवर्तन ल्याउनु आवश्यक छ । सभा र गोष्ठीमा क्रान्तिकारी भाषणले मात्र यो समस्याको समाधान देख्दिनँ, म । 

केहीदिन पहिला मात्र गण्डकी प्रदेशको प्रदेश सभाका महिला सदस्यहरूले पुरुष सदस्यबाट ‘सेक्सुअल ह्यारास्मेन्ट’ भोग्नुपरेको खबर बाहिरियो । यसले अहिले देशमा तरंग ल्याएको हुनुपर्थ्यो, तर त्यसको छनक छैन । केही सम्पादकले समादकीय लेख्नेबाहेक यो घटनाले ओजपूर्ण स्थान पाउन सकेको छैन ।

महिला नेतृहरूले महिला हिंसा तथा विभेदविरुद्ध आवाज उठाइरहनु भएको छ तर अहिले जसरी गण्डकी प्रदेश सभाभित्रै जननिर्वाचित महिला सदस्यहरूले पीडा भोग्नुपरेको छ यसले महिला नेतृहरूको बोलाइ र गराइको तुलनात्मक अध्ययन गर्ने मौका मिलेको छ, महिला अधिकारकर्मीहरूका लागि ।

महिला हिंसा न्यूनीकरण गर्न सबैभन्दा पहिला महिलाहरूले आफ्नो भोगाइलाई समाजमा प्रकट गर्दा इज्जत जाने भन्ने जुन भय पालेर बस्नुभएको छ, त्यस्ता अर्थहीन भयबाट यथासक्य छिटो मुक्त हुन आवश्यक छ । 

के पीडित महिला सदस्यले पीडक पुरुष सदस्यहरूको नाम मिडियामार्फत बाहिर ल्याउन सक्नुहुन्छ ? के त्यस्ता जनप्रतिनिधिलाई कानूनको कठघरामा उभ्याउने आँट ती महिला सदस्यहरूसँग छ ? महिला हिंसा न्यूनीकरण गर्न सबैभन्दा पहिला महिलाहरूले आफ्नो भोगाइलाई समाजमा प्रकट गर्दा इज्जत जाने भन्ने जुन भय पालेर बस्नुभएको छ, त्यस्ता अर्थहीन भयबाट यथासक्य छिटो मुक्त हुन आवश्यक छ । 

विश्वमा ‘मी टू’ अभियानले राम्रो चर्चा पाएका बेला महिलाहरूले यो अभियानलाई सशक्त र अर्थपूर्ण तरिकाले अगाडि बढाउनुपर्छ । गण्डकी प्रदेश सभाका पीडित महिला सदस्यहरूले पनि आफ्नो पीडालाई ‘मी टू’ अभियानअन्तर्गत बाहिर ल्याउनुपर्छ । समाजमा सम्मानितको पगरी भिरेर महिलाप्रति नकारात्मक दृष्टिकोण राख्ने र महिलालाई वस्तुको रूपमा अर्थ्याउनेहरूको सामाजिक सार्वजनिकीकरण हुनु आवश्यक छ । 

नेपालमा महिला मुद्दामा खुलेर बोल्नेको कमी देखिएपनि महिला मुद्दामा काम गर्नेको कमी छैन । महिला मुद्दामा लगानी गर्ने दातृ निकायको लगानी पनि ठूलै छ, जस्तो लाग्छ । विभिन्न सरकारी, गैरसरकारी संस्थाहरूले महिला हिंसासम्बन्धी ‘डेटा कलेक्सन’ गर्नुभन्दा पनि अब महिला हिंसाविरुद्धका व्यवहारिक पक्षहरूलाई गहनताका साथ केलाउँदै अगाडि बढ्नुपर्छ ।

महिला हिंसाविरुद्ध विद्यमान रहेका कानूनको कार्यान्वयनको कडाइका साथ हुनु अतिआवश्यक छ । महिलहरूले पनि हिंसाको भोगाइलाई लाज नमानी सार्वजनिक गर्न सक्नुपर्छ र पुरुषवादी मानसिकता भएकाहरूलाई समाजिक बहिस्कार गर्नुपर्छ ।

अम्बु कुमारी 'साक्षी'
अम्बु कुमारी 'साक्षी'

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्