कात्तिक ३०, २०८०
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
पुस ७, २०७६
मेरा एक जना छिमेकी छन्, जो मलाई देख्यो कि आफ्नो मिचिएको जग्गाको प्रसङ्ग निकाल्छन् । दलालले उनको अलिकति जग्गा मिचेर बाटोमा मिसाइदिएछन् । उनको जग्गा मिचेर बाटो चौडा पार्ने दलाल फरार छन् ।
अति नै गुनासो गरेपछि मैले अलि रुचि दिएर उनको मिचिएको जग्गाबारे जानकारी लिएँ । समाचार लेखिदेओस् भनेर उनले मसँग आफ्नो पीडा पोखेका थिए ।
खासमा भएको के रहेछ भने ८ वर्षअघि बाटो खुलाउने क्रममा जग्गा दलालले उनको एक छेउको थोरै जग्गा मिचेका रहेछन् तर पूरै बाटो उनको जग्गा मिचेर बनाएका होइन रहेछन् । मिचिएको उनको जग्गा चुच्चो परेको छ ।
जति मिचिए पनि अर्काको जग्गा मिच्न पाइएन, त्यसमा शंका रहेन । ती छिमेकी दाइ अन्यायमा परेकै हुन् तर विधि, प्रक्रिया र कानूनी बाटो रोज्नुको सट्टा उनले आफ्नो अलिकति जग्गा मिचिएको निहुँमा पूरै बाटो बन्द गरिदिए ।
ठूल्ठूल्ला ढुंगा तेर्स्याएर बाटो बन्द गरेपछि त्यहाँ घाँस, झार उम्रिएको छ र ठूलो झार फैलिएको छ । बाटो बन्द हुँदा वरपरका स्थानीय घुमाउरो बाटो प्रयोग गर्न बाध्य छन् । ती दाइले जग्गा मिच्ने दलाललाई पत्ता लगाउन सकेका छैनन्, न आफ्नो जग्गा मिच्ने दलालको नाम र ठेगाना उनलाई थाहा छ ।
यही मेसोमा केही समयअघि ती छिमेकीलाई वरपरका केही नयाँ जग्गा कारोबारीले भेटेर ‘तपाईंको मिचिएको जग्गाको भाउ गर्नुहोस्, हामी पैसा तिर्छौं, बाटो खुलाउँछौं’ भनेछन् तर ती दाइले जग्गाको भाउ यति महंगो बताएछन् कि विवाद समाधान गर्न खोजेका कारोबारीले उनलाई सम्पर्क गर्नै छोडिदिएछन् ।
केही दिनअघि ती छिमेकीसँग मेरो फेरि भेट भयो । उनले भने, ‘सर यो झोर, घाँसपात र फोहरलाई अँगालो हालेर बस्ने कुरा भएन । दिनहुँ यसलाई हेर्दै बस्दै गरेर मलाई के प्राप्त हुन्छ ? बरु मेरो मिचिएको जग्गाको ठीकठीकै पैसा मलाई दिन्छन् भने म बाटो खुलाउन तयार छु ।’
थोरै जग्गा मिचिएको झोंकमा बाटो पूरै बन्द गरेपछि सँगै जोडिएको उनको अर्को मिलेको राम्रो जग्गा बिक्री भएनछ । जग्गा किन्न आउनेले बाटो नभएको भन्दै नकिन्ने बताएछन् । उनको घर भूकम्पले लडाएको छ, घर ठडाउन जग्गा बिक्री गर्नुपर्ने बाध्यता छ । अलिकति जग्गा मिचिएको रिसमा पूरै बाटो बन्द गर्दा वरपरको आफ्नो राम्रो जग्गा समेत बिक्री नभएको उनले बल्ल बुझेछन् ।
उनको बुद्धि फिर्नुअघि वरपरका छिमेकीले ‘तपाईंको जग्गा मिच्ने दलाल भागिसके, न तपाईंलाई उनीहरूको नाम थाहा छ, न सम्पर्क गर्न सक्नुहुन्छ । न तपाईं कानूनी लडाइका लागि तयार हुनुहुन्छ । बरु तपाईंलाई पैसा दिएर बाटो खुलाउन खोज्नेसँग छलफल गर्नु बुद्धिमानी हुनेछ । उनीहरूसँग बस्नुहोस् । यति भएपछि न्याय हुन्छ भन्ने लाग्यो भने जग्गा बेच्नेतर्फ पनि सोच्न सक्नुहुन्छ’ भनेर सम्झाएको सुनेको थिएँ ।
छिमेकीले जे भनेर सम्झाएका थिए, ती दाइ बल्ल अहिले आएर त्यही कुरामा ‘कन्भिन्स’ भएका छन् तर उनी कन्भिन्स भइसक्दा पैसा दिएर बाटो खुलाउँछु भन्ने मानिसहरू सम्पर्कमा छैनन् । छिमेकी दाइ पछुताइरहेका छन् । उनी दिनहुँ त्यही झार हेर्छन्, पश्चाताप गर्छन् । समस्याको गाँठो कहिले फुक्ने हो ठेगान छैन ।
मेरा छिमेकी दाइ र प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको कथा मलाई उस्तै–उस्तै लाग्छ । हामीभन्दा धेरै पिछडिएका, प्रकृतिले उति सारो साथ नदिएका कैयन देश विकास, पूर्वाधार र समृद्धिका हिसाबले कहाँ पुगिसके तर हामी चाहिँ रूख काटेर अन्तर्राष्ट्रिय विमानस्थल बनाउन पाइँदैन भनेर मुलुकले ठूलो लाभ लिन सक्ने एउटा परियोजना वर्षौंदेखि रोकेर बसिरहेका छौं । मलाई लाग्छ – रूख मासेर अन्तर्राष्ट्रिय विमानस्थल बनाउन पाइँदैन भनेर अहिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विरोध गर्ने वातावरणविद् र विकाउ तप्का केही वर्षपछि मेरा छिमेकी दाइजस्तै पछुताउनुपर्ने छ ।
हुन त छिमेकी दाइ र निजगढको कथा ठ्याक्कै मिल्दैन, मिल्ने कुरा पनि होइन तर पश्चतापका हिसाबले सही समयमा सहि निर्णय लिन सकिएन भने पछुताउनुको विकल्प हुँदैन भन्नलाई मात्र यो प्रसङ्ग उल्लेख गरिएको हो ।
सञ्चालनमा रहेको मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको हविगत कस्तो छ भनेर बुझ्न केही उदाहरणको चर्चा गरौं –
२०७२ फागुन महिनामा टर्किस एयरको विमान रनवेमा दुर्घटना हुँदा नेपालको एक मात्र अन्तर्राष्ट्रिय हवाइ अड्डा त्रिभुवन विमानस्थल २ दिन बन्द भयो । कैयौं अन्तर्राष्ट्रिय उडान स्थगित भए । हजारौं यात्रु अलपत्र परे । पर्यटकले आफ्नो भ्रमण स्थगित गरे । नेपालमा आउन विभिन्न देशका विभिन्न विमानस्थलमा रहेका अधिकांश यात्रु ट्रान्जिटबाटै फिर्ता भए ।
चिनियाँ राष्ट्रपति, भारतीय प्रधानमन्त्री लगायत विदेशी पाहुना आउँदा नेपालको अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरियो । गत वर्ष बिमस्टेकमा आवद्ध राष्ट्रका सरकार प्रमुख काठमाडौं आउँदा र जाँदा त्रिभुवन विमानस्थलको उडान केही दिन अस्तव्यस्त भयो । कैयौं अन्तर्राष्ट्रिय उडानहरू डाइभर्ट गरिए । स्वयं नेपालका प्रधामनन्त्री र राष्ट्रपतिको भ्रमणको समयमा समेत अन्तर्राष्ट्रिय उडान प्रभावित हुने प्रवृत्ति बढ्दो छ ।
यति मात्र होइन, खराब मौसमका कारण पनि अन्तर्राष्ट्रिय उडानलाई छिमेकी मुलुकका विमानस्थलमा डाइभर्ट गर्नुपर्ने बाध्यता छ ।
नेपाल नागरिक उड्ययन प्राधिकरणको तथ्यांक अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत बर्सेनि ३० लाखले विदेशको यात्रा गर्छन् । यो संख्या बर्सेनि बढ्दो छ ।
नेपालमा अन्तर्राष्ट्रिय उडान दोब्बर र हवाइ यात्रुको संख्या दशौं गुणा बढ्दा पनि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था सुध्रिएको छैन । त्रिभुवन विमानस्थल कामचलाउ मात्र बन्न पुगेको छ । सुविधासम्पन्न मुलुकका आधुनिक विमानस्थलका अगाडि त्रिभुवन विमानस्थल अत्यन्तै फितलो, टिठलाग्दो र दयनीय लाग्छ ।
कतारको दोहा, टर्किको स्तानबुल, चीनको ग्वान्जाउ, थाइल्याण्डको बैंककमा रहेका अन्तर्राष्ट्रिय विमानस्थलले विश्वलाई जोडेका छन् । हवाइ क्षेत्रको अन्तर्राष्ट्रिय ट्रान्जिटमार्फत उनीहरूले देशको अर्थतन्त्रमा टेवा पुर्याइरहेका छन् ।
अवसरै–अवसर
नागरिक उड्ययन प्राधिकरणका अनुसार वातावरणीय दृष्टिले नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सबैभन्दा उपयुक्त स्थान निजगढ हो । यहाँ जम्मा १४ सय घरधुरीको व्यवस्थापन गरे पुग्छ । प्राधिकरणका अनुसार निजगढमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थलमा संसारको सबैभन्दा ठूलो जहाज वोइङ ७७७ वा एयरबस आउन, पार्क गर्न र उडान भर्न सक्छन् ।
वातावरणविद्हरूले २५ लाख रूख काट्न थालिएको भनेर विरोध गरेका छन् तर प्राधिकरणले त्यतिधेरै रूख काट्नु नपर्ने बताएको छ । ८ हजार हेक्टर क्षेत्रफलमा २५ लाख रूख रहेको भएपनि पूरै ८ हजार हेक्टर क्षेत्रफल विमानस्थललाई नचाहिने उसले स्पष्ट पारिसकेको छ ।
यो ठूलो आयोजना हो, त्यसैले निर्माणको काम चलिरहँदा ५ लाखले रोजगारी पाउने प्राधिकरणको भनाइ छ । विमानस्थल सञ्चालनमा आइसकेपछि १० हजारले रोजगारी पाउने उसको अनुमान छ ।
अन्तर्राष्ट्रिय विमानस्थलको सन्दर्भ
त्रिभुवन विमानस्थल जहाँबाट ४ सीटका हेलिकप्टर देखि १५ सीटका ट्वीनटर विमान तथा २५० बोइङ र एयरबस जस्ता विमान उड्ने गरेका छन् । काठमाडौंको विमानस्थल अत्यन्त साँघुरो भइसकेको छ यात्रुको चापको तुलनामा ।
पोखरा र लुम्बिनीमा क्षेत्रीयस्तरका अन्तर्राष्ट्रिय विमानस्थल बन्दै गरेपनि दीर्घकालीन रूपमा काठमाडौंको विकल्प ती विमानस्थल होइनन् । विकल्प बन्न सक्छ त केवल निजगढको विमानस्थल । नेपाल आउने धेरै यात्रु पोखरा वा लुम्बिनीभन्दा काठमाडौंमै आउछन् ।
कतिपयलाई ठूलो भ्रम छ – पोखरा विमानस्थल बनेपछि काठमाडौंको चाप घट्छ । क्षेत्रीय स्तरको विमानस्थल सञ्चालनमा आएपछि काठमाडौंबाट डाइभर्ट हुने विमान तेस्रो देश जानु पर्दैन, त्यति मात्र हो । कुनै विमान कम्पनीले विदेशबाट सिधै भैरहवा उडान भर्न सक्छन् तर काठमाडौंको विकल्प भैरहवा हुन सक्दैन ।
अन्तर्राष्ट्रिय विमानस्थल त कलकत्तामा पनि छ तर दिल्ली जाने व्यक्ति कोलकता त पुग्दैन । त्यस्तै हुन पोखरा र लुम्बिनीका अन्तर्राष्ट्रिय विमानस्थल ।
विश्वका अन्य विकसित देशमा पनि राजधानी शहरबाट १ घण्टा गाडीको यात्रामा पुग्न सकिने ठाउँमा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने गरेको पाइन्छ । निर्माणाधीन काठमाडौं–निजगढ फास्ट ट्रयाक बनिसकेपछि काठमाडौंदेखि निजगढको दूरी जम्मा १ घण्टा हो । सुस्त गतिमा भइरहेको द्रुतमार्गको कामलाई तीब्रता दिएर काठमाडौं र मधेशको दूरीलाई कम गर्न सकिन्छ । धेरै काम अघि बढिसकेकाले द्रुतमार्ग बन्दैन कि भनेर चिन्ता गरिरहनु आवश्यक छैन । छिटो सम्पन्न गर्न खबरदारी चाहिँ जरुरी छ ।
नयाँ ट्रान्जिट प्वाइन्ट बन्न सक्छ निजगढ
दक्षिण एसियामा नयाँदिल्ली महत्त्वपूर्ण अन्तर्राष्ट्रिय हवाइ ट्रान्जिट हो । भविष्यमा त्यो सम्भावना बोकेको ठाउँ निजगढ बन्न सक्छ । नेपाल जस्तो एसियाको केन्द्रमा रहेको ठाउँमा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल निर्माण हुन सके यो एउटा नयाँ ट्रान्जिट बन्न सक्छ ।
बढ्दो प्रदूषणका कारण भारतको इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा पनि कहिलेकाहीँ उडान प्रभावित हुने गर्छ । प्रदूषणका कारण दिल्लीमा संकटकाल लगाउनुपर्ने अवस्था समेत आइसकेको अवस्थामा दक्षिण एसियाको मध्यभागमा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता झन् खड्किएको छ । निजगढमा बन्ने विमानस्थल अन्तर्राष्टिय ट्रान्जिट बन्यो भने नेपालको अर्थतन्त्रको गेम चेन्जर बन्न सक्छ ।
सायद बैंकक र दोहामा विमानस्थल बन्दा ती विमानस्थल युरोप र एसिया जोड्ने सेतु बन्छन् भनेर सोचिएको थिएन् । विकल्प तयार भयो भने यसको प्रयोगका विभिन्न आयाम हुन सक्छन् ।
विगतबाट सिकौं
विगतमा अरुण तेस्रो जलविद्युत् आयोजना निर्माणमा व्यवधान खडा गर्दाको प्रतिफल यति नमिठो रह्यो कि नेपालले दशक लामो लोडसेडिङको चक्रब्यूह खेप्नुपर्यो । कालीगण्डकी ए जलविद्युत् आयोजना निर्माणका क्रममा पनि विरोधका स्वर उठेका थिए ।
विरोध भयो भनेर कालीगण्डकी नबनेको भए अहिले देश कुन युगमा हुन्थ्यो ? अहिले निजगढ विमानस्थल निर्माणमा व्यवधान सिर्जना गरियो भने भविष्यमा पछुताउनुको विकल्प हुने छैन ।
विकास र पर्यावरणको सन्तुलन
नेपालमा कुनै पनि विकास निर्माणको काम शुरू हुनासाथ वातावरणीय मुद्दा बहसमा आइहाल्छ । अहिले निजगढमा २४ लाख रूख काटिने भयो भनेर विरोध भइरहेको छ ।
सरकारले त्यति ठूलो संख्यामा रूख काट्नु नपर्ने स्पष्टीकरण दिएपनि विभिन्न संघसंस्थाले धेरै रूख काट्न थालेको भनेर विरोध गरिरहेका छन् । जति प्रचार गरिएको छ, त्यसको तुलनामा निजगढमा फडानी हुने जंगलको हिस्सा अत्यन्त न्यून हो । फेरि एउटा रूख काटेवापत १० वटा रूख रोप्नुपर्ने व्यवस्था नेपालको कानूनमै छ । किन विरोध भइरहेको छ त विमानस्थल निर्माणमा पर्यावरणको मुद्दालाई लिएर ? त्यसपूर्व केही विषयको चर्चा गरौं –
नेपालका पहाडी बस्तीको अहिलेको समस्या बाँदर आतंक हो । बाँदर आतंकका कारण पहाडी क्षेत्रमा मानिसहरू कृषि पेशाबाट हात धुँदैछन् । एकातर्फ रेमिट्यान्सका कारण युवाको पलायनका कारण गाउँका खेतबारी बाँझिएर जंगल बनेका छन् भने बाँदर लगायत जंगली जनावरका कारण मानिसहरू खेती किसानीबाट पलायन हुँदैछन् ।
सामुदायिक वनका कारण चरन क्षेत्रको अभावमा मानिसहरू गाईभैसी पाल्नुको सट्टा गाउँमा पनि धूलोदूधको आयात हुन थालेको छ ।
जंगली जनावरका कारण मानिसहरू असुरक्षित हुँदैछन् । पूर्वपश्चिम राजमार्गमा यात्रा गर्दा पनि जताततै बादर मात्र देखिन्छ । यो विषय राज्यले नजरअन्दाज गरेको ठूलो सामाजिक समस्या बनिरहेको छ कृषकका लागि । बेलाबखत संसदमा समेत उठ्ने गरेको यो विषयलाई राज्यले सही सम्बोधन गरेन भने पडाहका बस्ती झन् रित्तिनेमा दुइमत छैन ।
विमानस्थल, ठूला राजमार्ग, जलविद्युत् विकास र प्रसारण लाइन निर्माण गर्दा रूख काट्नु बाध्यता जस्तै छ । के केही हजार रूख काटिन्छन् भनेर विमानस्थल निर्माण नगर्ने ? प्रसारण लाइन नबनाएर फेरि लोडसेडिङमा बस्ने ? द्रुतमार्ग नबनाएर नागबेली सडक घुम्ने ? के बुढा रूखलाई हेर्दै बस्दै गरेर नेपालले आम्दानी गर्न सक्छ ? के बुढा रूख पालेर नेपालले पर्यटक भित्र्याउन सक्छ ? के विकसित देशहरूले त्यति ठूला विमानस्थल कुनै रूख नकाटी बनाएका हुन् ? के टर्कीको स्टानबुल विमानस्थल बन्दा विरोध आएको होइन ? त्यो विमानस्थल पनि रूख काटेरै बनाइएको हो । लाखौंको संख्यामा रूख काटेर विमानस्थल बनाउनु पर्ने भएपछि विमानस्थलको अन्तर्राष्ट्रिय रूपमै विरोध भयो तर काम रोकिएन । विमानस्थलको पहिलो चरणको काम सकिएर सञ्चालनमा आइसकेको छ र युरोपेली देशको हवाइ यात्राको गतिलो ट्रान्जिट समेत बनेको छ । स्टानबुल विमानस्थल विश्वकै आधुनिक विमानस्थलको तुलनामा गर्व गर्न लायक बनेको छ ।
वातावरणीय सन्तुलन कायम गर्दै विकास निर्माण र पूर्वाधारको विकास गर्न सकेनौं भने हामी पछौटे युगमा धकेलिने छौं । कतिपयले त्यति ठूलो विमानस्थल किन चाहियो भनेर प्रश्न गरेका छन् । पूर्वाधार विकास दशकौं पछिसम्मलाई सोचेर गर्ने विषय हो । धुलिखेल–बर्दिबास बीपी राजमार्ग बन्यो, अहिले त्यो राजमार्ग साँघुरो भएर विस्तार गर्ने क्रममा छ । शुरूमै ४ लेनको सडक बनाएको भए कम लागतमै सडक बन्न सम्भव थियो ।
निजगढ विमानस्थलले पनि त्यही नियति भोग्नु नपरोस् । पर्याप्त जमिनमा विश्वका ठूला–ठूला कार्गो विमानले समेत सहज उडान र अवतरण गर्न सक्ने खालको विमानस्थल अहिलेको आवश्यकता हो । निजगढ विमानस्थल निर्माणको कामलाई गति दिएमा नेकपा र वर्तमान केपी ओली सरकारले यसको जश दशकपछि प्राप्त गर्नेछ । प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा दुरूपयोग भइरहेको रकम जस्ता कनिका छरिएका बजेटलाई पनि निजगढ विमानस्थल निर्माणमा लगाए त्यसले भविष्यमा प्रतिफल दिनेछ ।
सरकार काँतर होइन, शक्तिशाली हुनुपर्छ
आज रूख मासेर विमानस्थल बनाउन पाइँदैन भन्नेले भोलि स्मार्ट सिटीको विरोध गर्न सक्छन् । कुनै उद्योग कलकारखाना खोल्न नदिन सक्छन् । कतै ठूला पार्क, खेलकुद मैदान बनाउन लाग्दा पनि विरोध गर्न सक्छन् । द्वन्द्वरहित समाज संसारमा कहीँ हुँदैन । कुनै न कुनै हिसाबले विरोध गर्ने निस्केकै हुन्छन् । कुनै पनि स्थानमा नयाँ परियोजना शुरू गर्नुअघि वातावरणीय प्रभाव मूल्यांकन अतिआवश्यक हो तर त्यसका सीमा हुन्छन् । कम क्षति हुने हिसाबले काम गर्नु आवश्यक मानिए पनि पूरै परियोजना नै रोक्न खोज्नु, कामै नगर्नु चाहिँ बुद्धिमानी मानिँदैन ।
हाम्रो सरकार पनि सानातिना आन्दोलन र विरोधका स्वर सुन्ने वित्तिकै तर्सने, हच्किने गर्छ । सरकार शक्तिशाली हुनुपर्छ । सरकारको नियत सफा, दीर्घकालीन हिसाबले देश र जनताको पक्षमा हुनुपर्छ । बाँकी स्वार्थी समूहलाई उति साह्रो वास्ता गर्नु हुँदैन । निजगढ विमानस्थलको सन्दर्भमा पनि सरकारले खुट्टा कमाउनु आवश्यक छैन । कुकुर भुक्दै गर्छ, हात्ती लम्कँदै गर्छको शैली सरकारले अपनाउन सक्नुपर्छ यस्ता ठूला परियोजनामा ।
सरकार प्रतिक्रियावादी भएर, सस्तो टिप्पणी गरेर हिँड्ने होइन । दीर्घकालीन सोच र उद्देश्यका साथ चालिने कदमको समीक्षा गर्दै भएका कमजोरी सच्चाएर सरकार आफ्नो अडानमा टिक्न सक्नुपर्छ । सरकारले लिने अडान देश र जनताको हितमा छ भने जतिसुकै विरोध भए पनि सरकार गलिहाल्ने, आत्तिइहाल्ने गर्नु हुँदैन । सिंगापुर बनाउन खोज्दा शुरूमा ली क्यान युको पनि विरोध नभएको हो र ? नितिशकुमारले बिहारको कायापलट गर्दा उनको तीव्र विरोध नभएको हो र ? सिंगापुर र बिहार बन्न सक्छ भने हाम्रोमा त्यस्तै काम हुन नसक्ने के छ ? खाँचो छ केवल असल नियत, दीर्घकालीन सोच र प्रतिबद्धताको ।
पर्यटनमन्त्रीलाई हाम्रो साथ
अल्पायूमै ज्यान गुमाएका पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारीले आफ्नै कार्यकालमा निजगढ विमानस्थल शिलान्यास गर्ने सपना लोकान्तर डट्कमको कार्यालयमै आएर सुनाएका थिए । त्यो श्रेय लिने मौका अहिलेका पर्यटन मन्त्री योगेश भट्टराईलाई छ ।
पर्यटनमन्त्री भट्टराईको सोच, योजना र दृष्टि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्छ भन्ने देखिन्छ । हुन त पंक्तिकारले मन्त्रीसँग प्रत्यक्ष साक्षात्कार गरेको छैन तर सञ्चारमाध्यममा आएका उनका अभिव्यक्तिले उनी निजगढ विमानस्थल बन्नुपर्छ भन्नेमा दृढ देखिन्छन् । प्रस्तावित विमानस्थलको विरोधमा अदालतमा रिट परेपछि र अदालतले तत्काल काम अघि नबढाउन आदेश दिएपछि भट्टराईले आफू स्वयं अदालतमा उपस्थित भएर निजगढ विमानस्थलको पक्षमा बहस गर्न तयार रहेको विचार सार्वजनिक गरे ।
मन्त्री भट्टराईको त्यो शाहस, अडान र सोचको पक्षमा पंक्तिकार छ । यसै आलेखमार्फत म पर्यटनमन्त्रीलाई प्रस्ट भन्न चाहन्छु – विना कुनै स्वार्थ र व्यक्तिगत लाभहानी विना एकमुठी श्वास छउञ्जेल म र मेरो मिडिया निजगढ विमानस्थलको पक्षमा उभिने छ । यो विमानस्थल बन्नुपर्छ भन्ने पर्यटन मन्त्रीको योजनाको साथमा रहनेछ ।
पर्यटन मन्त्रीले खुट्टा नकमाउने हो भने मात्र पनि त्यहाँ तत्काल काम शुरू हुन सक्छ । अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली पनि निजगढ विमानस्थल बन्नुपर्छ भन्नेमा दृढ रहेको सूचना छ । त्यसैले यो परियोजनाको सन्दर्भमा हाम्रो साथ सरकार र पर्यटनमन्त्रीलाई हुनेछ ।
विभिन्न स्वार्थ प्राप्तिमा रमाउने अभियन्ताको लहलहैमा लागेर देशको मुहार फेर्ने आयोजनालाई अगाडि बढाउने काममा विलम्ब नगरौ । प्राकृतिक स्रोतसाधनको संरक्षणसँगै यसको सही सदुपयोग गर्न नजाने नेपालको आयस्तर बढ्ने छैन । प्राकृतिक स्रोतको उचित दोहन गर्न नसक्दा हामी अहिले पनि काठ खरिदमा डलर खर्च गरिरहेका छौं ।
नेपालमा जंगलमा रूख ढलेर सडेका छन्, जंगलमा आगलागीको जोखिम बढेको छ तर हामी अहिले पनि विदेशबाट काठ आयात गरेर हाम्रो वैदेशिक मुद्रा बाहिर पठाइरहेका छौं । उल्टो बाटोमा हिँडेर देशको अर्थतन्त्र कहिले उकासिन्छ ?
पढ्नुहोस्, यो पनि :
धूलोसँग हारेको दुईतिहाइको सरकार !
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...