घनश्याम कमरेड ! उखु किसानको आँसु पनि अध्ययन गर्ने कि ?

विमल गौतम
विमल गौतम

लोकान्तर डटकमका सम्पादक गौतम खोज समाचारमा विशेष रुचि राख्छन् ।

२२ वर्ष अघि काठमाडौं आउनुअघि म जन्मेको गाउँ (साबिक ग्वालिचौर–२, बाग्लुङ) मा छुवाछुतको घिनलाग्दो चलन थियो । शायद अहिले पनि होला ।

घरमा काम गर्न आउने नेपाली, दमाई, सार्की, दर्जी थरका दाइ, भाइ र दिदीबहिनीलाई खाना दिनुपर्दा परैबाट दिनुपर्ने । उनीहरूलाई कथित बाहुनका घरभित्र छिर्न नदिने चलन व्याप्त । उनीहरूलाई छुनुहुँदैन भन्ने मान्यता । खानेपानी दिनुपर्दा अम्खोराबाट धारो बनाएर उनीहरूको हातामा दिनुपर्ने । कसैगरी अम्खोरालाई उनीहरूले छोए भने त्यसलाई तत्काल पखाल्नुुपर्ने । घाममा सुकाएर बेलुकीपख मात्र त्यस्तो अम्खोरा घरभित्र लानुपर्ने ।


Advertisement

इमान्दारीपूर्वक भन्नुपर्छ, मेरो घरमा पनि त्यो रोग थियो । मै हुँ भन्ने सबैका घरमा त्यस्तो रूढिवादी चलन थियो । यहीँ काठमाडौंमा आदर्शका चर्का कुरा गर्ने मै हुँ भन्नेहरूका घरमा अहिले पनि म यस्तो घिनलाग्दो व्यवहार देख्छु । 

पंक्तिकार चाहिँ सानैदेखि विद्रोही स्वभावको । अन्याय, अत्याचार नसहने अलि ‘सेन्सिटिभ नेचर’ व्याप्त थियो । आफैंले आफैंलाई प्रशंसा गरेको होइन तर अन्याय अत्याचारको विरोध गर्दा गाउँमा धेरैजनासँग धेरैपटक पंक्तिकारको झगडा परेको छ । 


Advertisement

मानिसलाई हेपेको, होच्याएको, असमान व्यवहार गरेको विरुद्धमा झगडा गर्दा पंक्तिकारलाई  कतिपयले ‘शेखे ठेट्नो’ पनि भन्थे गाउँमा । घरका सदस्य र वरपरका छिमेकीसँग छुवाछुत र शोषणको विरोध गर्दा भएका सबै झगडामा मैले हारें । त्यसैले गाउँलेमाझ म लोकप्रिय थिइनँ । अरू त अरू स्कूलका सरहरू पनि छुवाछुत ठीक हो भन्दै तर्क गर्थे  । 

२०५४ सालमा एसएसली दिएर घरमा बसेको थिएँ । घरमा काम गर्न आएका दर्जी थरका दाइलाई म आफैंले खाना पकाएर दिनुपर्ने भयो । खाना पाकिसकेपछि मैले उनलाई घरको एउटा कोठामा बोलाएँ र खाना खुवाएँ । घरका अरू सदस्य कोही थिएनन् त्यस दिन । एकछिन पछि आफूलाई पनि खाना पस्कें र ती दर्जी थरका दाइसँग टाँसिएर सँगै खाना खाएँ ।  

अहँ, मन्त्री भुसाललाई उखु किसानको आँसुले छुँदै छोएन । आदर्शका कुरा गर्न सजिलो छ तर व्यवहारमा लागू गरेर देखाउन गाह्रो छ, कमरेड !

मैले यो सब गरेको देखेपछि ती दर्जी दाइ बेस्सरी डराए । ‘यसो गर्नु हुँदैन बाबु, अरूले थाहा पाए भने मलाई गाली गर्छन्, गाउँबाट लखेट्न सक्छन्’ भन्दै दर्जी दाइ तर्सिए । मलाई चाहिँ त्यसदिन निकै आनन्द आयो । तर काठमाडौं आउनुअघि मैले त्यो घटना गाउँमा सार्वजनिक गरिनँ, ती दर्जी दाइले पनि कसैलाई भनेनन् किनकि हाम्रो कुरा कसैले सुन्नेवाला थिएन ।  

जब काठमाडौं आएर अलि जान्ने बुझ्ने भएँ, गाउँमा जातीय आधारमा घृणायोग्य व्यवहार गर्नु अपराध रहेछ भन्ने पूरापूर बोध भयो । आफूले बुझेको सही रहेछ भन्ने पक्का भयो । 

समय बदलिएको त छ तर अझै पनि समाजमा छुवाछुत, शोषण, सामन्ती व्यवहारका घटना रोकिएका छैनन् । फरक यत्ति हो– कतै छुवाछुतका नाममा गरीबलाई होच्याउने तुच्छ व्यवहार र हतोत्साहित गर्ने काम भइरहेका होलान्, कतै गरीब किसानको रगत पसिनाको शोषण गर्ने अपराध मौलाइरहेका होलान् । कथित हुनेखाने, टाठाबाठा, उपल्लो दर्जाका सामन्तहरूबाट यो वा त्यो बहानामा गाउँका गरीब किसानको शोषण गर्ने अपराध जारी नै छ भन्ने पछिल्लो उदाहरण हो– सर्लाहीका उखु किसानको काठमाडौंमा पोखिएको आँसु । 

समय यस मानेमा बदलिएको छ कि मेरो गाउँका दर्जी दाइ उसबेला मैले घरभित्र छिराएर खाना खुवाएकोमा डराएका थिए । अहिलेका मानिसहरू थिचोमिचो र शोषणसामु नझुक्ने भएका छन्, जुन जायज छ । 

आफूहरूलाई लुटेर किर्नासरी मोटाएका व्यापारीसामु सर्लाहीका उखु किसान झुकेनन् । उनीहरू एकसातादेखि काठमाडौंमा छन् । आफ्नै देशको संघीय राजधानी एकपटक टेकौं न त भनेर उनीहरू यहाँ आएका होइनन् । ६ वर्षदेखि आफूले बेचेको उखुको मूल्य नदिएर बिचल्लीमा पारिएपछि न्यायको ढोका ढकढकाउन उनीहरू ऋण काढेर यहाँ आएका हुन् । धेरैजसोको साथमा भएको पैसा सकिइसकेको छ । कोही आफन्तको कोठामा आश्रय लिइरहेका छन् भने केही जसोतसो ओतसम्म लाग्ने कवाडी व्यापारीसँग रात गुजारिरहेका छन् ।  

उखु किसानको समस्या धेरैलाई सामान्य लागिरहेको जस्तो देखिन्छ । यो पंक्तिकारलाई चाहिँ उनीहरूको समस्या अर्बमा हुने भ्रष्टाचारभन्दा गम्भीर र संवेदनशील लागिरहेको छ । गरीबमाथि यसभन्दा ठूलो अपराध र शोषण केही हुँदैन भन्ने लागिरहेको छ । 

नेपालमा अहिले पनि दुईछाक खान धौ–धौ पर्ने गरीबको संख्या उल्लेख्य छ । हो, तिनैमध्येमा पर्छन् उखु किसान । उनीहरूसँगको कुराकानीबाट के बुझिन्छ भने एउटा उखु किसानले वर्षभरि मरिमेटेर श्रम गरेपछि सरदर वार्षिक एकलाखदेखि डेढ/दुईलाख रुपैयाँसम्म आम्दानी गर्छ । त्यही आम्दानीले उसले घर, खेती किसानी, छोराछोरीको पढाइ, साहुको ऋण तिर्ने, मीठोमसिनो खाने, औषधि उपचार गर्ने, लुगाफाटा किन्ने र चाडबाड मनाउने गर्छ । 

यति धेरै दैनिक क्रियाकलाप उखुबाट आम्दानी हुने नगदसँग जोडिएको हुन्छ एक गरीब किसानको । हो, त्यही आम्दानी खोसेर ६–६ वर्ष सम्म भुक्तानी नदिने व्यक्ति व्यापारी हो कि व्यापारीको आवरणमा अपराधकर्म गर्ने मानिस ? यदि धर्म या पाप भन्ने विषय सत्य हो भने त्यस्ता व्यापारीलाई कुन हदको पाप लाग्छ ?  

उखु लिने, चिनी, सक्खर बनाएर आफूले अकुत कमाउने तर गरीब उखु किसानको पैसा नदिने व्यापारी त मानवता हराएको घृणायोग्य पात्र भयो भयो, त्यस्तालाई अहिलेसम्म पक्रेर जेल नहाल्ने सरकारी संयन्त्र कस्तो ? मन्त्री कस्तो ? कर्मचारी कस्ता ?

कि त्यस्ता व्यापारीसँग मन्त्री र कर्मचारी पनि मिलेका छन् ? कतै त्यस्ता व्यापारीबाट मन्त्री र कर्मचारीले गरीब किसानलाई जिउँदै मारेबापत दानापानी पाएका त छैनन् ? पंक्तिकारसँग कुनै तथ्य, प्रमाण त छैन । तर यत्ति चाहिँ भन्न सकिन्छ कि ६–६ वर्षसम्म किसानलाई जिउँदै मार्ने व्यक्ति चाहे त्यो व्यापारी होस्, मन्त्री या कर्मचारी, ती कारवाहीको भागिदार छन् । तिनलाई पाप लाग्नेछ । समयले तिनलाई सजाय दिनेछ ।

आदर्श मन्त्री कता गए ?

मार्क्सवाद, सुशासन, समृद्धि र अनुशासनका चर्का कुरा गर्ने एकजना आशलाग्दा व्यक्ति (जसप्रति यस पंक्तिकारको पनि सम्मान छ) घनश्याम भुसाल यस देशको कृषिमन्त्री छन् । तर एकसातादेखि माइतीघर मण्डलामा जम्मा भएर विरोध प्रदर्शन गरिरहेका ती गरीब किसानको आँसुले उनलाई छोएन । छुन्थ्यो भने उनी कम्तीमा एकपटक उखु किसान उभिएको ठाउँमा गएर सहानुभूति प्रकट गर्थे होला । किसानलाई भेटेर उनीहरूका कुरा सुन्थे होला ।

तपाईंहरूको समस्या समाधान गर्न पहल गर्छु भन्थे होला । तर अहँ, मन्त्री भुसाललाई उखु किसानको आँसुले छुँदै छोएन । उनले ती किसानलाई एकपटक पनि भेटेनन् । आदर्शका कुरा गर्न सजिलो छ तर व्यवहारमा लागू गरेर देखाउन गाह्रो छ, कमरेड ! चर्का कुरागराइ र व्यावहारिक भोगाइमा आकाश जमिनको फरक छ, कमरेड !

डा. गोविन्द केसी, रविन्द्र मिश्र लगायत आदरणीय महोदयहरू, उखु किसानप्रति तपाईंहरूले देखाएको पूरापूर उदासीनता/बेवास्ताले के संकेत गर्छ, थाहा छ ? तपाईंहरू निहित स्वार्थसिद्धिका लागि मात्र यतिञ्जेल कुनै विषय, प्रवृत्ति या पात्रको विरोधमा उत्रनुभएको थियो र भोलिका दिनमा पनि त्यस्तै गर्नुहुनेछ भन्ने आशंकामा बल पुर्‍याएको छ ।

गोविन्द केसी, रविन्द्र मिश्र, सुरेन्द्र केसी र नागरिक अगुवा कता गए ?

समाजमा ढोंगीहरूको ठूलो जमात छ । बाहिर आदर्श र इमान्दारिताका चर्का गफ गर्ने भित्री धन्दा अर्कै । यस्ताको संख्या ठूलो छ नेपालमा । डा. गोविन्द केसी, पूर्व पत्रकार एवं हाल साझा पार्टीका संयोजक (मेरा पूर्वहाकिम) रविन्द्र मिश्र, सुरेन्द्र केसी, नागरिक समाजका स्वघोषित तर विवादास्पद अगुवा, आफूलाई पत्रकारका अगुवा ठान्ने स्वघोषित तर विवादास्पद पात्र र आदर्शका कुरा गरेर नथाक्ने महोदयहरूले थुप्रै विषय, प्रवृत्ति र पात्रप्रति विमति राख्दै पटक–पटक विज्ञप्ति निकालेको, माइतीघरमा जम्मा भएर विरोध गरेको देखिएकै हो ।  

आदरणीय महोदयहरू, तपाईंहरूले यतिञ्जेल जुन विषय या प्रवृत्तिप्रति विरोध जनाउँदै माइतीघरमा भेला भएर विरोध गर्नुभयो नि, हो त्यही थलोमा एकसातादेखि यस देशका वास्तविक गरीब किसान आफ्नो श्रम, रगत र पसिनाको मूल्य मागेर चिसो भुइँमा उभिएका छन्, उभिँदा उभिँदै गलेर ढलेका छन् । तपाईंहरूले अहिलेसम्म जुन विषयमा विरोधका स्वरहरू उजागर गर्नुभयो नि, तीभन्दा यी किसानका पीडा, समस्या र सरोकार दशौंगुणा संवेदनशील, गम्भीर र जायज छन् । के तपाईंहरूलाई थाहा छैन, एकसातादेखि सर्लाहीका उखु किसानको आँसुले माइतीघर मण्डलालाई निथ्रुक्कै भिजाएको छ भनेर ? कि तपाईंहरू ती किसानका समस्या र विरोध प्रदर्शनप्रति जानकार हुनुहुन्न ? हुनुहुन्छ भने किन उनीहरूको आँसुले तपाईंहरूको मन पग्लेन ? पग्लिन्थ्यो भने तपाईंहरू उनीहरूलाई एकपटक भेट्नसम्म किन जानुभएन ? किन तपाईंहरूले उखु किसानको पक्षमा विज्ञप्ति निकाल्नुभएन ? उखु किसानलाई न्याय दिलाउन सरकारलाई दबाब दिन किन सक्नुभएन ? किन उखु किसानसँगै उभिएर उनीहरूको आन्दोलनमा एक्यबद्धता जनाउनुभएन ? 

आदरणीय महोदयहरू, उखु किसानप्रति तपाईंहरूले देखाएको पूरापूर उदासीनता/बेवास्ताले के संकेत गर्छ, थाहा छ ? तपाईंहरू निहित स्वार्थसिद्धिका लागि मात्र यतिञ्जेल कुनै विषय, प्रवृत्ति या पात्रको विरोधमा उत्रनुभएको थियो र भोलिका दिनमा पनि त्यस्तै गर्नुहुनेछ भन्ने आशंकामा बल पुर्‍याएको छ । तपाईंहरूको लडाइँ साँच्चै यो देश, समाज र नेपालीको हितमा हो या हुन्थ्यो भने गरीब उखु किसानप्रति एक्यबद्धता जनाउन जानु जत्तिको उचित कदम अरू के हुन सक्थ्यो ? जवाफ छ तपाईंहरूसँग ? के कारणले एक–एक सातासम्म तपाईंहरू उखु किसानका मागबारे एक शब्दसम्म बोल्नुभएन ? जतिसुकै आरोप खेप्न परोस् या गाली सहन परोस्, यो पंक्तिकार तपाईंहरूलाई धिक्कार्न बाध्य छ । अलिकति पनि नैतिकता छ भने अहिले नै सबै काम छोडेर तपाईंहरू उखु किसानलाई भेट्न जानुस् । उखु किसानले न्याय पाउने वातावरण बनाउन लाग्नुस् । यो चिसोमा ऋण काढेर न्यायको भिख माग्दै काठमाडौं आएका किसानलाई रित्तो हात होइन, पूरापूर न्याय हुने गरी पैसा दिलाउन सहयोग गर्नुस् । होइन भने समयले तपाईंहरूलाई पनि धिक्कार्नेछ, सजाय दिनेछ, महोदयहरू !

विमल गौतम
विमल गौतम

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्