माघीको उल्लासभित्र ‘माघ विद्रोह’ !

लखन चाैधरी
लखन चाैधरी

लखन चौधरी लोकान्तरका लागि सुदूरपश्चिम प्रदेश प्रतिनिधि हुन् । 

माघ नजिकिएसँगै थारु बस्तीमा 'माघी' पर्वको उल्लास छ । माघी सम्बन्धी गीतहरूले बस्ती गुञ्जयमान छन् । जेल जीवन भोगिरहेका सांसद रेशमलाल चौधरीले ‘कमैया’ फिल्मको लागि गाएको गीत घन्किरहेको छ –

माघ लहैली


Advertisement

सुरिक सिकार खैली रे हाँ

सखिय हो


Advertisement

माघक् पिली गुरीगुरी जाँर ।

त्योसँगै थारु बस्तीहरूमा सांस्कृतिक र भाषिक अधिकारको बहस चुलिएको हो । सामाजिक सञ्जालका भित्ताहरू रंगिएका छन् । गाउँदेखि शहरबजारमा यतिबेला माघीको रौनक छ । रौनकताभित्र कार्यक्रमको आमुखमा ‘माघी होइन, माघ पर्व, माघ महोत्सव, माघ मिलन’ आदि लेखिनुपर्ने अभियान चलाइएको छ ।

गोरखापत्र दैनिकमा पुस १५ गते प्रकाशित लेखमार्फत अधिकारकर्मी इन्दु थारुले माघी पर्ववारे लेखिन्, ‘माघको एकातिर रौनक, अर्कोतिर आक्रोश छ । थारु भाषाप्रतिको प्रहार र माघको बिदालाई लिएर थारुहरूमा निराशा र आक्रोश छ । यही पीडा र आक्रोशका बीचमा थारु गाउँमा डफ बजेको छ । ढमार गाइएको छ । मादल ठोकिएको छ, मघौटाका नचुनियाहरू फनफनी घुमेका छन् । अनि लाग्छ पीडाका बीचमा पनि रमाउन सक्ने समुदाय थारु हो ।’

लेखको उपसंहारमा उल्लेखित सो अनुच्छेदभित्र सांस्कृतिक, भाषिक र राजनीतिक उत्पीडनका बाबजुद मुटुमाथि ढुंगा राखी नाच्नुपर्‍या छ भन्ने भावको भरपूर चित्रण गर्छ । मनोरञ्जनभन्दा पनि सांस्कृतिक आन्दोलन तथा जागरणको रूपमा पनि पर्व मनाउनुपर्ने अर्थ्याइएको छ ।  थारु समुदायको मौलिक पर्व माघी नभई माघ भएको भन्दै बहसको उठान गरिएको हो ।

पुर्खाहरु भन्छन्, ‘हम्रे माघ लहैठी, माघ खैठी, माघ मनैठी ।’ अर्थात हामी माघ(मा) नुहाउँछौं, माघ(मा) खान्छौं, माघ मनाउँछौं । अधिकारकर्मी थारु भन्छिन्, 'माघी लेख्दैमा र भन्दैमा धेरै केही बिग्रिहाल्ने पनि होइन । नेपाली भाषा सधैं डोमिनेन्ट र राष्ट्रिय भाषा रहेकाले थारु शब्दको नेपालीकरण गर्दा राष्ट्रिय भइन्छ भन्ने मानसिकताले सीमान्तकृतहरूले आफ्नो मौलिक पर्वको नेपालीकरण स्वीकारेका होलान् ।'

खासमा थारु अधिकारकर्मीहरूले राज्यले समेत माघ नभई माघी शब्दलाई संस्थागत गरेपछि आक्रोश पोख्दै आएका छन् । राज्यले दिइने सार्वजनिक बिदा माघे तथा माघी संक्रान्ति भनी दिइएको भन्दै आफूहरूको संविधान प्रदत्त भाषिक र सांस्कृतिक अधिकारमाथि प्रहार भएको गुनासो पोखेका हुन् । 

अधिकारकर्मी थारुको जस्तै दाङका साहित्यकार छविलाल कोपिलाले कैलालीबाट प्रकाशित हुने पहुरा थारु दैनिकमा पुस १७ गते प्रकाशित आफ्नो ‘थारु समुदायमा माघ : परम्परा र संस्कृति’ शीर्षकको आलेखमार्फत भाषिक अधिकारमाथि राज्यबाटै हमला भएको आशय पोख्छन् ।

साहित्यकार कोपिला लेख्छन्, ‘शदियौंदेखि परम्परागत अनुशासनमा रही आफ्नो शासन पद्धति चलाइरहेको थारू समुदायप्रति भने राज्यले सँधै विभेद गर्दै आएको छ । माघमा मनोरञ्जन मात्रै होइन, महत्वपूर्ण छलफल र जिम्मेवारी बाँडफाँड हुन्छ । यसको लागि गाउँको बौद्धिक अथवा जान्नेमान्ने व्यक्तिहरूको अनिवार्य सहभागिता हुन जरुरी हुन्छ । तर राज्यले आम नेपालीहरूलाई दिइने मकर संक्रान्तिको नाममा माघ १ गते मात्रै बिदा दिएको छ । जुन समय थारू समुदायमा आफ्ना आफन्त, ठूलावडाहरूसँगको भेटघाट, खानपिन र मनोरञ्जनको समय मानिन्छ । बाँकी २ र ३ गते अत्यन्त जिम्मेवारी र गम्भीर विषयमा छलफल हुने गर्छ । तर यस्तो महत्वपूर्ण समयमा पनि राज्यले बिदा दिएको छैन । बिदा नभएकै कारण महिनौ दिनसम्म रीति–थिति बन्न नसकेर माघ लम्बिने बाध्यात्मक अवस्था सिर्जना हुन्छ । अर्को कुरा बरघर प्रणाली पनि थारू समुदायको लोकप्रिय र वैज्ञानिक प्रणालीको रूपमा मानिन्छ ।’

बरघर जागरण अभियान

माघको बहससँगै बरघर प्रोत्साहन जागरण अभियानको समेत थालनी गरिएको छ । थारु कल्याणकारिणी सभा (थाकस) कैलालीले बरघरहरूको अधिकारको लागि राज्यका निकायसँग बरघरहरूको अधिकार संस्थागत गर्न जागरण अभियान थालेको जनाएको छ ।

थाकस कैलालीका उपसभापति माधव थारु भन्छन्, ‘कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिकाले नगरस्थित बस्तीका भल्मन्साहरूलाई वार्षिक रूपमा प्रोत्साहन भत्ता दिएर अधिकार संस्थागत गरेर राम्रो उदाहरण दिएको छ । थारु बाहुल क्षेत्रका स्थानीय निकायले पनि पुनर्वासको सो उदाहरणीय कार्यको सिको गर्नतर्फ ध्यान दिन जरुरी छ । जसको लागि हामीले जागरण अभियान थालेका छौं ।’

नगरपालिकाले २०७५ साउन १ गतेदेखि नगरका ३२ जना भलमन्साहरूलाई प्रोत्साहन स्वरूप वार्षिक ५ हजार रुपैयाँका दरले प्रोत्साहन रकम प्रदान गर्दै आएको छ ।

के हुँदैछ थारु बस्तीमा ?

यतिबेला थारुमा पर्वको आगमनले उल्लास छाएको छ । पर्व मनाउन टाढा–टाढा बसेकाहरूको गाउँघरमा जमघट भएको छ । चेलीबेटीहरू माइतीघर पुगेका छन् । यसैबीच गाउँको नेतृत्वकर्ता अर्थात् बरघर, भल्मन्सा, देशबन्धिया, गुरुवा, भर्रालगायत चयन माघ महिनामै हुने हुँदा नेतृत्व चयनको बहस पनि शुरू भएको छ । माघी मेला, माघ मिलन, महोत्सवको आयोजनाले थारुबस्ती माघमय बनेको छ ।

यतिमात्रै नभई थारुबस्तीमा माघौटा नाच, सखिया नाच, झुमरा नाच, लाठी नाच, ढमारलगायत लोक गीतसँगै डम्फु र मादलको आवाजले गाउँघर गुञ्जयमान छन् ।

कैलालीको कैलारी गाउँपालिका–६ बेनौलीका स्थानीय ७७ वर्षीय सत्यनारायण डंगौरा थारुका अनुसार पुसको अन्तिम दिन थारु समुदायमा जिटा अर्थात् बंगुरको मासु खाने प्रचलन रहिआएको छ । सामूहिक रूपमा बंगुर काटेर धुमधामसँग भोजभतेर गरिन्छ । मासुको परिकारको अलवा ढिकरी, खेरिया, सिद्रा, फुलौरी, आचार, सिन्की (गुन्दु्रक)लगायत विभिन्न परिकार बनाइन्छ ।

माघ १ गते नजिकैको नदी, तलाउ, पोखरी, दहमा नुहाउने र आ–आफ्नो आफन्त, इष्टमित्रहरूलाई भेटघाट गर्ने, ठूलाबाट आशिर्वाद लिने र सानालाई दिने प्रचलन रहिआएको छ । यो दिनपनि आफ्नो घरमा रहेका ढिकरी लगायतका पाकवान खाने र खुवाउने चलन रहेको पनि थारुको भनाइ छ ।

मकर संक्रान्तिका दिन नुहाउनेले वर्षभरी गरेको पाप वा नराम्रो काम, कुकर्म, वैमनष्यता पखालेर जाने र पुण्य प्राप्त हुने धार्मिक जनविश्वास रहेको छ । यो दिन पशुपंक्षी बध हुँदैन । यो दिनलाई नै थारु समुदायले नयाँ वर्ष मान्ने गरेका छन् ।

माघीको तेस्रो दिन (माघ २ गते) लाई खिच्रहवा भन्ने गरिएको छ । यही दिनदेखि माघी देवानी तथा खोजनी बोजनी हुने थारु बुद्धिजीवीहरू बताउँछन् । थारु नागरिक समाज कैलाली संयोजक चौधरीका अनुसार माघ पर्वको तेस्रो दिनदेखि गाउँ–गाउँमा नयाँ नेतृत्वकर्ता एंव भल्मन्सा, बरघर, देशबन्धिया, अघरिया, भर्रालगायत चयन गर्ने या अनुमोदन गर्ने गरिन्छ । यसरी नेतृत्व छान्ने कार्यलाई ‘माघी देवानी’ भन्ने गरिएको छ । यस्तो प्रचलन दाङदेखि पश्चिमसम्म रहेको छ ।

एउटा परिवारका सबै सदस्य एकजुट भई उपरान्त पारिवारिक गतिविधि कसरी अगाडि बढाउने भन्नेबारे पनि छलफल हुने गर्छ । यसलाई ‘खोजनीबोजनी’ पनि भन्ने गरिएको छ । ‘खोजनीबोजनीमा अघिल्लो वर्ष परिवारले गरेको गतिविधि, आर्थिक हरहिसाबबारे छलफल तथा समीक्षा हुने गर्दछ,' संयोजक चौधरीले भने, ‘छलफलबाट आगामी दिनका लागि परिवारको योजना तर्जुमा हुने गरेको छ ।’

निकै रमझमका साथ यसरी माघी पर्वको विधिवत रूपमा अन्त्य भई थारुहरूमा भोज, विवाहलगायतका अन्य कार्यक्रम शुरू हुने गरेको बताइएको छ ।

माघ पर्व पश्चिम नेपालको थारु बस्तीमा एकताका जरा गाडेर बसेको कमैंया, कमलरी राख्ने कुप्रथासँग पनि सम्बन्धित छ । हाल कमैंया, कमलरी प्रथालाई सरकारले नै प्रतिबन्ध लगाएपनि उहिले माघ पर्वपछि नै प्रायः कमैंया, कमलरी बस्ने प्रचलन रहेको बताइन्छ ।

यद्यपि जुनसुकै बेला कमैंया, कमलरीका लागि अनुबन्धित भएका व्यक्तिहरू माघ पर्व आएपछि मात्रै छुटकारा पाउने गरेको कारणले यसलाई स्वतन्त्रताको पर्व समेत भन्ने गरिएको छ ।

माघ पर्व धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्त्व बोकेको पर्वको रूपमा लिइन्छ । थारु समुदायले माघलाई महान् पर्वको रूपमा मनाउनुको साथै यो पर्वले आपसी सम्बन्धमा सुधार ल्याउने गरेको जनविश्वास थारु समुदायमा रहेको छ ।

माघ १ गते नुहाईधुवाई गरेर आ–आफ्नो घरमा आई ‘निस्राउ’ निकाल्ने प्रचलन चन्दै आएको छ । निस्राउ भनेको चामल, मासको दाल र नुनको पाहुर हो । जुन आफ्ना चेलीबेटीहरूलाई पाहुरको रूपमा दिने जाने चलन हो । निस्राउ आफ्नो दक्ष हेरेर केही थप गरेर पनि दिने गरिन्छ । जसले समुदायमा एकता, प्रगाढ सम्बन्ध, आपसी सहयोग सद्भाव आदानप्रदान गर्ने कार्यमा सहयोगी भूमिका खेल्दै आएको साहित्यकार कोपिला बताउँछन् ।

नयाँ अध्याय

माघीको आगमनसँगै आदिवासी थारु समुदायमा नयाँ अध्याय पनि शुरू हुन्छ । माघ १ गतेबाट थारु सम्वत् २६४३ को शुरूआत हुँदैछ ।

चालु ईश्वी सम्वतमा ६२३ जोड्दा भगवान बुद्धको जन्म मिति आउँछ । थारू समुदायको नयाँ वर्ष माघी पर्वभन्दा भगवान् बुद्ध ३ महिना २७ दिनपछि जन्मिएकाले भगवान् बुद्धको जन्म मितिलाई थारू सम्वत भन्ने गरिएको थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरी बताउँछन् । जुन अनुसार थारु समुदायमा नयाँ अध्यायको शुरूआत भएको हो ।

कमेन्ट गर्नुहोस्