‘घाचर घोचर’ : सामान्य परिवारको कथामार्फत जीवनदर्शन बताउने बलियो लघुउपन्यास

- गणेश दंगाल

नेपाली साहित्यमा केही नवीन प्रस्तुतिका साथ उदाएका आख्यानकार (जो आफूलाई फिक्सन डिजाइनर भन्छन्) कुमार नगरकोटीले कतै भनेको पढेको थिएँ– ‘यथार्थवादले नेपाली साहित्यलाई ध्वस्त पार्‍यो ।’ बहस गरौं, यथार्थवादले नेपाली साहित्यलाई ध्वस्त पारेको छ या नेपाली साहित्यको इज्जत धानिरहेको छ ? यस विषयमा विज्ञ/विद्वानहरूबाटै विमर्श हुनु उपयुक्त होला । र नगरकोटीले कुन सन्दर्भमा त्यो कुरा भनेका हुन् उनीसँग पनि थप विमर्श गर्नु उपयुक्त होला । तर लेखक युग पाठकद्वारा नेपालीमा अनुदित लघुउपन्यास घाचर घोचर पढेपछि म चाहिँ निष्कर्षमा पुगेको छु– नेपाली साहित्यमा अभैm असंख्य यथार्थवादी उपन्यासहरू लेखिन आवश्यक छ । ती उपन्यासलले देशको सीमा नाघेर अन्तर्राष्ट्रिय मूल्य बोक्न सक्नुपर्छ ।


Advertisement

घाचर घोचरका सर्जक कन्नड भाषाका भारतीय लेखक विवेक शानभाग हुन् । उनका तीन उपन्यास, पाँच कथासंग्रह र दुई नाटक प्रकाशित छन् । घाचर घोचर उनको पहिलो अंग्रेजी अनुदित कृति हो जुन सन् २०१७ मा द न्यूयोर्क टाइम्सको उत्कृष्ट पुस्तक सूचीमा पर्न सफल भएको थियो । साथै यो तीस हजारभन्दा कम शब्द संख्या भएको लघुउपन्यास लस एन्जलस टाइम्स बूक अवार्ड तथा डब्लिन लिटररी अवार्डका लागि समेत मनोनयनमा परेको थियो । 

घाचर घोचर बंगलोरको एक संयुक्त परिवारको कथा हो । सय वर्ष पुरानो कफी हाउसमा बेचैन मुद्रामा रहेको न्यारेटर (कथावाचक) ले आफ्नो परिवारको गरीबीदेखि आर्थिक उन्नतिसम्मको आरोह–अवरोहको कथा बताएको छ ।


Advertisement

उपन्यासमा कुनै नाम नदिइएको कथावाचकको शुरूको बेचैनी, विक्षिप्त मानसिकता, तीस घण्टादेखि घरबाहिरै रहनु र घर जाने हिम्मत पनि गर्न नसकिरहेको स्थितिले उपन्यासमा सुन्दर र सफल सस्पेन्सको काम गरेको छ ।
त्यही सस्पेन्सकै माझबाट कथावाचक आफ्नो परिवारको कथा बताउँदै जान्छ । उपन्यासको दोस्रोदेखिका केही खण्डहरू परिवारका एक–एक सदस्यको व्याख्यान र चरित्रचित्रणका लागि छुट्ट्याइएको छ । यस्तो लाग्छ– उपन्यासकारले उपन्यासलाई पनि एउटा परिवार नै बनाउन खोजेका छन् जहाँ परिवारका सदस्यका रूपमा विभिन्न च्याप्टरहरू छन् । 

शुरूमा कथावाचकले आफ्नो मसलाको उद्योग सञ्चालन गर्ने काकाको व्याख्या गर्छ जो परिवारको आर्थिक उन्नतिको मुख्य कारक हुन् । परिवारको एक मात्र आम्दानीकर्ता हुनुले उनी परिवारमा रवाफपूर्ण हैसियत राख्छन् । उनको सोच, चाहना, आदेशभन्दा बाहिर गएर परिवारका अन्य कुनै सदस्यले पनि बोल्न वा कुनै काम गर्न सक्दैनन् । 

काका अविवाहित छन् । उनको स्याहार–सुसार, खानपान र सेवामा परिवारले विशेष ध्यान दिन्छ ताकि उनको मनमा ती सुविधाका लागि बिहे गर्ने कुनै सोच नआओस् । कहिलेकाहीँ उनी कामको बहानामा गोदामस्थित आफ्नै अफिस कोठामा रात बिताउँछन् । त्यस विषयमा परिवारका अन्य सदस्यले प्रश्न गर्ने कुनै आँट गर्दैनन् । उनलाई मन पर्ने परिकार– मसुर दाल करी लिएर घरमै भेट्न आएकी एक महिलाको प्रसंगले उनको बाह्य सम्बन्धको संकेत गर्छ । 

काकापछि परिवारमा दोस्रो हैसियतका पात्र हुन्– उसका बुवा जसले गरीबीका दिनमा परिवारको नेतृत्व गरेका थिए र आफ्नो भाइलाई समस्या भए पनि बीकमसम्म पढाएका थिए । अलि लहडी स्वभावका उनी कुनै परोपकारी काममा लाग्लान् र उनको सम्पत्ति हात नलाग्ला भनेर परिवारका सदस्य उनको मनोदशाप्रति सचेत देखिन्छन् । उनी थोरै बोल्छन् । प्रायशः आफ्नै दुनियाँमा मग्न रहन्छन् । तर उनी कहिलेकाहीँ आफ्नो एकान्तप्रेमी बानी त्याग्दै एउटै कथा पटक–पटक दोहोर्‍याएर हैरान पार्छन् । उनी ती दिनको बारेमा सुनाउँछन् जतिबेला उनी चियापत्ती बेच्ने सेल्सम्यान थिए, परिवार आर्थिक संर्घष गर्दैथियो, उनको जागिरको सानो कमाइबाट सिङ्गो परिवारको गुजारा चल्थ्यो, उनीहरू भाडाको साँघुरो घरमा बस्थे, पुराना कपडाले काम चलाउँथे ।

शुरूशुरूमा बुवाको काममा काका कुनै रुचि राख्दैनथे । तर एक दिन बुवाले जति कोशिश गर्दा पनि मिलाउन नसकेको हिसाब मिलाइदिएपछि उनीहरूबीच निकटता र संवाद बढ्छ । त्यही बीचमा बुवाले आफूले काम गरिरहेको कम्पनीबाट असमयमै अवकाश पाउँछन् । काकाले आफ्नो दिमागमा भएको व्यावसायिक अवधारणा सुनाउँछन् । बुवाले लहडमै आफ्नो पेन्सनबापत आउने एक लाख रुपैयाँ काकालाई व्यवसाय गर्न दिने निर्णय सुनाउँछन् । र काकाले पनि उनलाई कम्पनीको आधा हिस्सेदारी दिने निर्णय सुनाउँछन् । त्यसैले बुवा सोना मसला उद्योगका आधा हिस्सेदार हुन् । 

काका र बुवापछि कथावाचक आमा, दिदी र आफ्नोबारे बताउँछ जो परिवारमा संयुक्त रुपमा दोस्रो दर्जाका व्यक्ति हुन् । आमा परिवारप्रति समर्पित एक घरेलु नारी हुन् । परिवारको एक मात्र कमाउ सदस्य (बे्रडविनर) आफ्ना श्रीमानलाई कम्पनीले असमयमै अवकाश दिन लागेको खबर सुनेपछि उनी प्रयोग गरिरहेको ग्यास बाल्न छाडेर स्टोभ बाल्न शुरू गर्छिन् । यसले शायद उनको परिवारप्रतिको संवेदनशील चरित्रको संकेत गर्छ । तर उनी आफ्नी बुहारी अनिताप्रति भने फरक देखिन्छिन् । बुहारीसँगको द्वन्द्वात्मक सम्बन्धका कारण उनी भान्छामा अकेरकाडु नै पकाउँछिन् किनकि अनितालाई त्यो मन पर्दैन । आमाको चरित्रलाई उपन्यासकारले डाइनामिक बनाउन उनमा विरोधाभास मिसाइदिएका छन् ।

मालती कथावाचककी दिदी हो जो विवाह गरेर दिएको घर छाडेर माइतमै बसेकी छ । उसलाई एक अस्थिर, सन्की, अनुदार र चोथाले चरित्रको रूपमा प्रस्तुत गरिएको छ । ऊ परिवारको आर्थिक सम्पन्नताका कारण स्वच्छन्द र नियन्त्रणहीन केटी हो ।

अनिता चाहिँ कथावाचककी केही समयअघि मात्र बिहे गरेर ल्याएकी श्रीमती हो जो मालतीले घर गरेर नखाएकोप्रति खुलेर टिप्पणी गर्छिन् । त्यसो त ऊ परिवारका अन्य सदस्यका बारेमा पनि खुलेर टिप्पणी गर्छिन् । चाहे त्यो काकालाई भेट्न आउने महिलालाई आमा र मालतीले गरेको दुर्व्यवहार होस् वा ससुराको अनावश्यक ठट्टा गर्ने बानी वा काकाको कुनै नराम्रो कुरा । ऊ व्यक्तिगत लाभहानिको कुनै हिसाब नगरी सत्य र न्यायको पक्षमा उभिने र आफ्नो आदर्शवादसँग कुनै सम्झौता नगर्ने नारी हो ।

उपन्यासको कथावाचक परिवारको अर्को सदस्य हो जो आफ्नी श्रीमती अनिता र आमा–दिदी–काकाबीचको द्वन्द्वमा कुनै पक्षमा पनि उभिन सक्दैन । बरू ऊ त्यसबाट उम्किनको लागि कफीहाउस गइरहन्छ । कफीहाउसको वेटर भिन्सेन्टसँग ऊ कुरा गर्छ र उतै समय बिताउँछ । उसका लागि सोना मसला उद्योगमा पद त सृजना गरिएको छ अनि मासिक रूपमा उसको खातामा पैसा पनि आउँछ तर उसको कुनै काम हुँदैन । काकाले भनेको ठाउँमा सही गरिदिने बाहेक उसको अर्को भूमिका हुँदैन । उ कहिले घरमा सुतेर त कहिले कफीहाउसमा गएर समय बिताउँछ ।

यस उपन्यासलाई विभिन्न दृष्टिकोणबाट विश्लेषण गर्न सकिन्छ । पहिलो, गरीबी र आर्थिक संकटपछिको आकस्मिक समृद्धिले ल्याएको पारिवारिक परिवर्तन । त्यसले पारिवारिक सम्बन्धमा आएको परिवर्तन । हिजो उनीहरूको परिवार एउटा डोरी जस्तो थियो जहाँ परिवारका प्रत्येक सदस्य एक एक पोया थिए । उनीहरूका पाइला फरक भए पनि चाल एउटै थियो । तर आज डोरीका प्रत्येक पोया छुट्टाछुट्टै डोरी भएका छन् । हिजो उनीहरूको सम्बन्धमा जुन एकता, प्रेम र भावनात्मकता थियो, त्यो आज क्षीण भएको छ । 

दोस्रो, उपन्यासले दुई पारिवारिक आदर्शबीचको द्वन्द्व प्रस्तुत गरेको छ । एक प्राध्यापककी छोरीको रूपमा अनिताले सत्य, न्याय र स्वतन्त्रतालाई सर्वोपरि मान्ने पारिवारिक आदर्शलाई प्रतिनिधित्व गर्छे भने बाँकी सदस्यले धन र पैसालाई सबैथोक मान्ने र त्यसका लागि जे गर्न पनि तयार हुने पारिवारिक आदर्शको प्रतिनिधित्व गर्छ । 

उपन्यासमा काकालाई अविवाहित नै राख्न परिवारले गरेको प्रयत्न, बुवा कतै परोपकारी काममा प्रेरित होलान् र सम्पत्ति दान गरिदेलान् भन्ने परिवारको चिन्ता, कथावाचकले उपन्यासमा बारम्बार प्रर्दशन गर्ने सम्पत्तिको मोह र अनिताको त्यसविपरीत अडान । यही द्वन्द्वको परिणामस्वरूप अन्त्यमा अनिताको हत्याको योजना बनेको प्रशस्त संकेतहरू उपन्यासमा पाइन्छ । कथावाचकले कफीहाउमा देखाएको बेचैनीको कारण पनि त्यही हुन सक्ने अनुमान लगाउन सकिन्छ । 

घाचर घोचरको नेपाली अनुवाद धेरै अर्थमा महत्त्वपूर्ण छ । नेपाली आख्यानमा पछिल्लो समयमा प्रचलित छोटा वाक्य र सरल भाषाको मान्यतालाई यस उपन्यासको नेपाली अनुवादले भत्काइदिएको छ र नेपाली पाठकसमक्ष उत्कृष्ट आख्यानको नयाँ भाषिक प्रयोगकोे उदाहरण प्रस्तुत गरेको छ । चाहे त्यो उच्च भाषिक आलङ्कारिकता होस् वा वाक्य संरचनाको विविधता, आख्यान लेखनका लागि आवश्यक भाषिक क्षमता निर्माणका लागि यो लघु उपन्यास पढ्नुपर्छ । अर्को, पारिवारिक जीवनका सूक्ष्म घटनाहरू जुन सामान्यतया अर्थहीन तथा महत्त्वहीन लाग्छन्, ती घटनाहरू कसरी आख्यानको विषयवस्तु बन्न सक्छन् र तिनको कसरी सफल आख्यानीकरण गर्ने भन्ने कला सिक्न पनि एकपटक यो उपन्यास पढ्नुपर्छ । 

उपन्यासमा चित्रित भए झैं कमिलाले नभए पनि साङ्लाले हामीलाई दुःख दिइरहेकै हुन्छ । पहिलोपटक ग्यास चुल्हो घरमा ल्याएको स्मरण हामीलाई पनि छ । हाम्रै घरका कुनै अविवाहित सदस्यलाई अविवाहित नै राखेर वा अन्य कुनै किसिमले उसको सम्पत्तिमाथि हामीले पनि गिद्देनजर राखिरहेकै हुन्छौं । हाम्रै छोरी–चेली पनि घर बिग्रिएर माइतमै बसिरहेकै हुन्छन् । हाम्रो परिवारमा पनि अनेक किसिमको द्वन्द्व छ । हामीसँग पनि प्रशस्तै त्यस्ता कथा छन् । मात्र हामीले त्यसलाई आख्यानात्मक रूप दिने कला सिक्नुछ । 

अन्त्यमा, फ्रन्सिस बेकनले भने झैं यो लघु उपन्यास चाखेर, चपाएर मात्र नपुग्ने आख्यान लेखनमा रुचि हुनेहरूले पचाउनुपर्ने कृति हो । 
ganeshdangal93@yahoo.com

 

कमेन्ट गर्नुहोस्