बहुविवाह गर्ने जोडी जेल चलान

जिल्ला अदालत भोजपुरले बहुविवाह गर्ने एक जोडीलाई कैद सजायको फैसला सुनाएको छ। अदालतले  पौवादुङ्मा गाउँपालिका वडा नम्बर  २ तिवारीभञ्ज्याङका ५३ वर्षीय तिलकप्रसाद ढकाल र सोही ठाउँकी २१ वर्षीया मुना धमलालाई जनही एक वर्ष छ महिना कैद र जनही १५ हजार जरिवानाको फैसला गरेको हो।

जिल्ला न्यायाधीश गेहेन्द्रराज पन्तको इजलासले गरेको फैसलाअनुसार पीडितलाई २० हजार क्षतिपूर्ति पनि भराइएको अदालतका नायब सुब्बा खड्ग भट्टराईले जानकारी दिए। मुलुकी अपराधसंहिता २०७४ को दफा १७५ को (४) बमोजिम ती जोडीलाई कैद र जरिवानाको सजाय गरिएको हो । उनीहले गत साउन २३ गते विवाह गरेका थिए । उनीहरुलाई ढकालकी जेठी श्रीमती रेवतीको जाहेरीपछि गत साउन ३० गते पक्राउ गरिएको थियो । 


Advertisement


Advertisement

कमेन्ट गर्नुहोस्