यी महिलाका कारण महात्मा गान्धी बने विवादित

तपाईंले गान्धीको तस्वीर याद गर्नुभएको छ ? धेरैजसो तस्वीरमा गान्धी मानिसहरूबाट घेरिएका देखिन्छन् । 

यस भीडमा केही महिला पनि पर्छन् । ती महिलाहरू मोहनदास करमचन्द गान्धीका विचारहरूका कारण उनको निकट रहे । 

यी महिलाहरूको जिन्दगीमा गान्धीको गहिरो असर रह्यो । उनीहरूले गान्धीले देखाएको मार्गमा जिन्दगी अघि बढाए । 

मेडलीन स्लेड अर्थात् मीराबेन
मेडलीन बेलायती एड्मिरल सर एडमन्ड स्लेडकी छोरी थिइन् । उनी रोम्याँ रोलाँले लेखेको गान्धीको जीवनी पढेर गान्धीको प्रशंसक भएकी थिइन् । उनले गान्धीलाई पत्र लेखेर गान्धीको आश्रममा आउने इच्छा व्यक्त गरिन् । उनले रक्सी पिउन छोडिन्, शाकाहारी भइन् र खेती पनि गर्न थालिन् । सन् १९२५ मा उनी अहमदाबाद पुगिन् । मेडेलीन पछि मीराबेन बनिन् । 


Advertisement

निला क्य्राम कूक
साबरमती आश्रममा निला नागिनी भनेर पुकारिने कूक आफूलाई कृष्णको गोपी मान्थिन् । अमेरिकामा जन्मेकी निला मैसूरका राजकुमारसँग प्रेममा परेकी थिइन् । उनले सन् १९३२ मा गान्धीलाई बंगलुरुबाट पत्र पठाएकी थिइन् । सन् १९३३ मा उनले गान्धीलाई भेटिन् । 

उदार विचारधारा भएकी निलालाई आश्रमको एकान्त वातावरणमा फिट हुन अप्ठ्यारो लाग्यो । उनी आश्रमबाट भागिन् । केही समयपछि उनलाई अमेरिका पठाइयो । त्यहाँ उनी मुसलमान भइन् र कुरानको अनुवाद गरिन् । 

सरला देवी चौधरानी
उच्च शिक्षा हासिल गरेकी अनि सौम्य देखिने सरला देवीलाई भाषा, संगीत र लेखनमा रुचि थियो । उनी रवीन्द्रनाथ टेगोरकी भतिजी थिइन् । लाहौरमा गान्धी सरलाकै घरमा बसेका थिए । त्यतिखेर सरलाका पति स्वतन्त्रता सेनानी रामभुज दत्त चौधरी जेलमा थिए । 

गान्धी र सरला एकदमै नजिक थिए । सरलालाई गान्धीले आफ्नी आध्यात्मिक पत्नी मान्थे । यो सम्बन्धका कारण सरलाको विवाह झण्डै भंग भएको थियो । केही समय हिमालयमा एकान्तवास गर्ने क्रममा सरला बितिन् । 


Advertisement

सरोजिनी नायडु
भारतीय राष्ट्रिय कंग्रेसकी पहिलो महिला अध्यक्ष सरोजिनी नायडुले गान्धीलाई पहिलोपटक लन्डनमा भेटेकी थिइन् । त्यसपछि उनीहरूको बीच सम्बन्ध झांगिँदै गयो । 

राजकुमारी अमृत कौर
पञ्जाबको कपूरथलाका राजा हरनाम सिंहकी छोरी अमृतले बेलायतमा पढेकी थिइन् । उनलाई गान्धीको निकटतम सत्याग्रहीका रूपमा लिइन्थ्यो । 

सन् १९३४ मा गान्धीलाई पहिलोपटक भेटेपछि गान्धी र अमृतले एकअर्कालाई सयौं चिट्ठी पठाए । उनी भारत छोडो आन्दोलनका बेलामा जेल परेकी थिइन् । भारत स्वतन्त्र भएपछि उनी पहिलो स्वास्थ्यमन्त्री बनेकी थिइन् । 
गान्धीले अमृतलाई पत्र पठाउँदा शुरुमा मेरी प्यारी पागल और बागी लेख्थे अनि पत्रको अन्त्यमा आफूलाई तानाशाह भनी लेख्थे । 

डा सुशीला नय्यर
सुशीला आफ्ना दाइ प्यारेलालसँग गान्धीकहाँ आएकी थिइन् । चिकित्साशास्त्र पढेपछि सुशीला गान्धीकी निजी चिकित्सक बनिन् । भारत छोडो आन्दोलनका बेलामा उनी कस्तूरबा गान्धीका साथ मुम्बईमा पक्राउ परिन् । गान्धीको ब्रह्मचर्य प्रयोगमा सुशीला पनि संलग्न थिइन् । 

आभा गान्धी
बंगाली आभाको बिहे कनु गान्धीसँग भएको थियो । गानधीका प्रार्थनासभामा उनी भजन गाउँथिन् र कनु तस्वीर खिच्थे । 

आभा नोआखालीमा गान्धीसँग बसिन् । त्यतिखेर देशभरि हिन्दू–मुसलमान दंगा भड्किएको थियो र गान्धी दुई धर्मका मानिसबीच शान्ति स्थापना गराउने कोशिश गरिरहेका थिए । नाथुराम गोड्सेले गान्धीलाई गोली हान्दा आभा पनि
नजिकै छिन् । 

मनु गान्धी 
सानै उमेरमा मनु महात्मा गान्धीकहाँ पुगेकी थिइन् । उनी गान्धीकी टाढाका नातेदार थिइन् । नोआखालीमा आभासँगै मनु पनि गान्धीसँग बस्थिन् । कस्तूरबाका अन्तिम दिनहरूमा सेवा गर्नेमध्ये मनुको नाम पनि आउँछ । मनुको डायरी हेर्दा महात्मा गान्धीको अन्तिम वर्ष कसरी बितेको भन्ने थाहा हुन्छ । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्