‘कता गयौ गीत गाउने गाइने दाइ ? दुःखपीर विरहमा चाहिने दाइ !’

प्रतिकात्मक तस्वीर

कता गयौ गीत गाउने गाइने दाइ ?
दुःखपीर विरहमा चाहिने दाइ !

कुनै बेला दुःखपीडाका गीत गाउँदै हिँड्ने गाइने दाइ हिजोआज जहाँतहीँ भेटिँदैनन् । पछिल्लो समय सारङ्गी बजाउने पेशा लोप हुँदै जान थालेको छ । 


Advertisement

युवाले सारङ्गी बजाउने पेशा नअपनाउँदा सारङ्गी बजाउने पेशा लोप हुन थालेको हो ।

एक समय थियो । न रेडियोको पहँुच थियो, न त टेलिभिजन नै । त्यतिबेला कतै घटना, दुर्घटना भए त्यसलाई बयान गरेर गाइने दाइले गीत गाउँथे ।


Advertisement

विभिन्न गाउँमा पुगेर देश विदेशमा भएका घटना दुर्घटनाका खबर दिन्थे । लाहुरे दाइले बेहोरेका दुःख कष्टलाई गाथा बनाएर सुनाउँथे । 

बाटो हिँड्दै गरेको गन्धर्वलाई घरघरमा बोलाएर गीत गाउन लगाइन्थ्यो । मन खोलेर गन्धर्वलाई दान, दक्षिणा र सिदा दिइन्थ्यो । तर अहिले न गन्धर्व सारङ्गी गाउँधरमा भिरेर गाउँ–गाउँमा पुग्छन्न् त न युद्धगाथा, कर्खा र घटनाबारे वर्णन गर्छन् । कुनै जमना गन्धर्व जातिका व्यक्तिलाई गाइने दाइ भनेर चिनिन्थ्यो । अहिले समय फेरिएको छ । उनीहरु आफंैलाई गाइने भन्न मन पराउँदैनन् ।

अर्कोतर्फ घरघरमा गएर गीत सुनाउने गाइनेलाई सम्मान होइन, हेय गरिन्छ । उनीहरूलाई सम्मान दिइँदैन । म लाग्ने जस्तो व्यवहार गरिन्छ । पहिलेका बुढापाखाले केही रुपमा राम्रो व्यवहार गर्ने भएपनि नयाँ पुस्ताले आफूहरूलाई हेय गर्ने गरेको लामो समयदेखि सारङ्गी बजाउँदै आएका धर्मलाल गन्धर्वले बताए ।

सारङ्गी बजाउनेलाई समाजले पनि हियाउने भएकाले सारङ्गी बजाउनेको संख्या घट्दै गएको उनले बताए । ‘पहिले–पहिले सारङ्गी बजाउनेलाई सम्मान हुन्थ्यो,’ उनले भने, ‘तर अहिले हियाउँछन्, त्यसैले पनि घरघरमा गएर सारङ्गी बजाउने पेशा लोप हुँदै गएको छ ।’

पहिले आफ्नो परिश्रमअनुसार दक्षिणा दिने गर्ने भएपनि अहिले त्यो संस्कारको अन्त्य भएको उनले बताए ।

तुलसीपुर–४ रक्षाचौरका अजय गन्धर्व १७ वर्षको भए । उनले जन्मेदेखि नै सारङ्गी कहिल्यै बजाएनन् । सोही ठाउँका ३४ वर्षीय फोजबहादुर गन्धर्वले पनि कहिल्यै सारङ्गी बजाएनन् । कारण हो – सारङ्गी बजाउने बित्तिकै समाजले हेर्ने दृष्टिकोण । सारङ्गी बजाउनेलाई समाजमा गाइने भनेर हेप्ने प्रवृत्ति भएकाले आफूले सारङ्गी बजाउने पेशा नगरेको बताए ।

गन्धर्व समुदायका युवानै सारङ्गी बजाउने पेशाप्रति आकर्षित नहुँदा पेशा नै लोप हुने अवस्थामा छ । गन्धर्व समुदायको परम्परागत पेशा नै संकटमा पर्न थालेको छ । नेपाली संस्कृतिको महत्व र वीरताको गाथा बोेकेको सारङ्गी बाजालाई संरक्षण गर्न आवश्यक रहेको भएपनि राज्यले पनि संरक्षणमा ध्यान नदिएको गन्धर्व समुदायका अगुवा सुनिल गन्धर्वले बताए । 

अहिले तुलसीपुरको गणेशपुरमा २५० घर गन्धर्व समुदायको बसोवास छ तर ४/५ जनाले मात्रै अहिले सारङ्गी बजाउँछन्, त्यो पनि कहिलेकाहीँ । गन्धर्व जातिको सारङ्गी बजाउने पेशा संरक्षण गर्न राज्यले उचित कार्यक्रम ल्याउनुपर्ने गन्धर्व अगुवा सुनिलले बताए ।

सारङ्गीको संरक्षणका लागि सारङ्गी संग्रहालय निर्माण गर्नुपर्ने बताए । दाङमा करीब ९०० गन्धर्व समुदायको बसोबास छ । – दीपक बोहोरा/रासस

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्