ओली-प्रचण्ड र देउवाबीच बालुवाटारमा जुट्यो यस्तो सहमति

प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी विधेयक चाँडै ल्याउने सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफलमा चालू संसद्को अधिवेशनबाट विधेयक ल्याएर शान्ति प्रक्रियाबाट बाँकी काम टुङ्ग्याउने सहमति भएको नेकपा संसदीय दलका उपनेता सुभाष नेम्बाङले जानकारी दिए । 


Advertisement

'विधेयकका सम्बन्धमा सातै प्रदेशबाट छलफल भई सुझाव आइसकेको छ', उनले भने, 'त्यही सुझावका आधारमा यही संसद्को अधिवेशनबाट आयोगसम्बन्धी कानून ल्याउने सहमति भएको छ ।'

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले छलफल सकारात्मक भएकाले शनिबार पुनःआयोगका सम्बन्धमा छलफल हुने बताए ।


Advertisement

छलफलमा नेकपाका नेता नेम्बाङ, खिमलाल देवकोटा, कांग्रेस नेता डा मिनेन्द्र रिजाल, रमेश लेखकलगायत सहभागी रहेका थिए ।

गत चैत मसान्तदेखि आयोग पदाधिकारी विहीन हुँदा शान्ति प्रक्रियाका बाँकी काम टुङ्गिन सकेका छैनन् । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा दुवै आयोगका पदाधिकारी सिफारिस समिति गठन गरिएको छ ।

उक्त समितिले अहिलेसम्म पनि नयाँ पदाधिकारी नाम सरकारलाई सिफारिस गर्न सकेको छैन ।

जसका कारणले सरकारले ती दुई आयोगमा पदाधिकारी नियुक्त गर्न नसकेको हो ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्