अलैँचीको व्यावसायिक खेती

झापा बुद्धशान्ति गाउँपालिका–२ जयपुरका कृषक खगेन्द्र उप्रेतीले सुपारी बगानभित्र लगाएको अलैँची खेतीबाट राम्रो आम्दानी गरिरहेका छन् ।

रहरले करेसाबारीमा लगाएको अलैँची सप्रिएर फल्न थालेपछि उनले अहिले सुपारी बगानभित्र ५०० बिरुवा रोपेका छन् । बिरुवामध्ये २०० बोटले फल दिन शुरूगरेको उप्रेतीले बताए। 'गरे हुँदो रहेछ', उनले भने, 'काका रामप्रसाद र मैले पहाडबाट अलैँचीका बिरुवा ल्याएर करेसाबारीमा रोपेका थियौँ सप्रियो, अनि फल्यो । अहिले सबै सुपारी बगानभित्र अलैँचीसहितकोे खेती गरेका छौँ ।'


Advertisement

उप्रेतीले आफ्नो एक बिघा आठ कट्ठा जमिनमा वार्षिक रु पाँच लाख बराबरको अलैँचीसहितका बाली उत्पादन गर्छन्। केही जमिनमा सुपारी बगानभित्रै मौसमअनुसारको तरकारी खेती, दलहन र तेलहन खेतीसमेत गर्दै आएका छन् । सुपारी बगानभित्रको धेरै क्षेत्रफलमा अलैँची लगाएका उप्रेतीको मुख्य आयस्रोत भनेको सुपारी र अलैँची हो । 

खासगरी पहाडी भेगको खोल्सामा मात्र सीमित रहेको अलैँची झापामै व्यावसायिक खेती हुन थालेपछि जयपुर क्षेत्रका कृषकले मनग्य आम्दानी गर्न थालेका छन् । झापामा कति अलैँची उत्पादन हुन्छ त्यसको यकिन तथ्याङ्क कृषि ज्ञान केन्द्रसँग छैन तर पनि उत्तरी झापाको बुद्धशान्ति गाउँपालिकाका कृषकले भने पछिल्लो समय अलैँची खेती गरिरहेका छन् । 


Advertisement

गाउँपालिकाका २० बढी कृषकले व्यावसायिक रूपमा अलैँचीको खेती थालेका छन् । समुद्री सतहबाट ७०० मिटरदेखि २२०० मिटर उचाइसम्म सेपिलो भूभागमा हुने अलैँचीखेती झापामा व्यावसायिक रुपमा हुँदै आएको छ ।

 पहाडमा ‘खोल्साको कालो सुन’ उपनामले चिनिने अलैँचीको खेती झापामा हुन थालेपछि जयपुर क्षेत्रका कृषकले यो खेती विस्तार गरिरहेका छन् । गाउँपालिकाको भोटेटार, होक्से र जयपुरका किसानले व्यावसायिक रुपमा ‘पाखे’ जातको अलैँचीखेती गर्दै आएका छन् । उनीहरुले सुक्खा जमिनमा उत्पादन हुने इलामको सलकुपुरमा उत्पादन गरिएको ‘पाखे’ जातको अलैँची  रोपेका हुन् ।

परम्परागत रुपमा धान, मकै, गहुँखेतीबाट सोचेजस्तो आम्दानी हुन नसकेपछि यहाँका किसान बैकल्पिक व्यावसायिक खेतीका रुपमा सुपारी खेती गर्दै आएका छन् । सुपारी रोपेको स्थानमा अलैँची लगाउँदा राम्रो उत्पादन हुन थालेपछि किसान उत्साहित भएका छन् । तीन वर्षमा २० जनाभन्दा बढीले व्यावसायिक खेती गरेर राम्रो आम्दानी गर्न थालेपछि अरु किसानले यसमा चासो राखेको भोटेटारमा खेती गर्दै आएकी राधा बजगाईंले बताए। 

जयपुरमा मनमाया उप्रेतीले दुई कट्ठामा अलैँची राप्नुभएको छ । उनले अलैँची खेतीमा प्राविधिकको अभाव रहेको बताए। 'थोरै क्षेत्रफलमा लगाए पनि गत वर्ष रु २० हजारको अलैँची बेच्न सफल भएँ', सरकारले यसलाई प्राथमिकतामा राख्न सके हामीजस्ता कृषकलाई थप आम्दानी लिन सहज हुने उनको भनाइ थियो । अलैँचीको मूल्यमा निरन्तर भएको गिरावटले भने किसानलाई निरास बनाएको छ । कृषक रामप्रसाद उप्रेतीले भने ओम नम शिवाय कृषि फार्म नै सञ्चालन गरेर अलैँचीसहित कागती र सुपारीको व्यावसायिक खेती गरिरहेका छन् । उनकै सिको गर्दै अहिले धेरैले झापामै अलैँची खेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । सुरेन्द्र भण्डारी ,रासस

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्