योगेन्द्र पण्डित : पृथक मूर्तिकार, संग्रहालय बनाउने सपना

अजय अनुरागी
अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि खोज, राजनीति र समसामयिक विषयवस्तुमा कलम चलाउँछन् ।

आगामी माघ १६ गते बसन्त पंचमीका लागि जनकपुरधामसहित तराई- मधेशका गाउँदेखि शहरसम्मका मूर्तिकारहरूलाई अहिले फुर्सद छैन ।

माटोको प्रतिमासहित मूर्ति नै बनाउन लगाएर पूजा गर्ने परम्परा नै रहेका कारण मूर्तिकारहरूलाई ग्राहकहरूले दिएका अर्डर अनुसारको मूर्ति बनाउन नै चटारो छ । उसो त सबै मूर्तिकारहरूले आ-आफ्नो सीप अनुसारको मुर्ति बनाउने गर्छन् तर धनुषाको धनौजी गाउँपालिका वडा नम्बर ५, बहुअर्वाका ६० वर्षीय मूर्तिकार योगेन्द्र पण्डितले बनाउने मूर्तिको जनकपुरमा प्रत्येक वर्ष चर्चा हुने गर्छ ।


Advertisement

सरस्वती भगवतीको प्रतिमा बनाउने बेला कुनै न कुनै पृथक किसिमको मूति बनाएर उनी चर्चामा आउने गर्छन् । विगतका वर्षहरूमा हातमा ल्यापटप बोकेको सरस्वतीको प्रतिमा, हाँस सवारी भए पनि स्कूटीमा सवार भएको सरस्वतीको प्रतिमा बनाएका पण्डितले यस पटक सरस्वतीलाई उँटमा सवार गराउँदैछन् । जनकपुरको जानकी चोकका युवाका निर्देशनअनुसार अनुसार प्रत्येक वर्ष पृथक मूर्ति बनाउने शिलशिलामा यसपटक भारतको राजस्थानी संस्कृति अनुसारको उँटमा सवार भएको सरस्वतीको प्रतिमा उनले बनाइरहेका छन् । उक्त प्रतिमा बनाउनका लागि ३५ हजार रुपैयाँ लिएको उनले बताए ।


Advertisement

‘उँटमा सवार भएको सरस्वती तल हाँसमा समेत बस्नु भएको छ,’ मूर्तिकार पण्डितले भने, ‘मुर्तिमा राजस्थानी पोशाक चुनरी, घघ्रा सहितको पोशाक लगाउने काम सहित रंग रोगनको काम भने अहिले बाँकी नै रहेको छ ।’ यस बर्ष कुल ५० वटा सरस्वतीको मुर्ती उनले बनाइरहेका छन् । ३ हजार देखि ३५ हजार रुपैयाँ सम्मको मुर्ति उनले बनाईरहेका छन् । त्यसै गरी राक्षस माथि बसेको सरस्वतीको प्रतिमा समेत उनले बनाई रहेका छन् । उक्त प्रतिमाको मुल्य उनले २५ हजार रुपैयाँ निर्धारण गरेका छन् ।

‘आफ्नो मनमा जे जस्तो विचार आयो, त्यस्तै सीप ढालेर प्रतिमा बनाउने गरेको छु,’ पण्डितले भने, ‘ सरस्वती पूजाको सिजनमा मात्रै मूर्ति बनाएर बेचेर २ लाख रुपैयाँसम्म बचत भने हुने गरेको छ ।’ कुन मूर्ति बनाउन कति मिहिनेत लाग्छ त्यसै आधारमा मूर्तिको मूल्य निर्धारण गर्ने गरेको उनले बताए ।

बाल्यकालदेखि नै मूर्तिकार

योगेन्द्र पण्डित जातिगत हिसाबले कुम्हार समुदायका हुन् । मधेशमा कुम्हार समुदायले आफ्नो परम्परागत जातिगत पेशाको रूपमा समेत माटोको भाडाकुँडा तथा मूर्ति बनाउने काम अहिले पनि गाउँघरमा कतिपयले गर्दै आएका छन् । यसैबीच उनका हजुरबुवा जियालाल पण्डित, ठूलो बुवा राजकुमार पण्डित र बुवा देवलाल पण्डितले पनि गाउँ बहुअर्वामा नै माटोको भाडावर्तन बनाउनेदेखि मूर्ति बनाउने काम गर्दै आएका कारण योगेन्द्रले पनि बाल्यकाल देखि नै भाडा वर्तन तथा मूर्ति बनाउने सीप सिक्न पाएका थिए । उनले कक्षा ३ मा नै हुँदा जन्माष्टमीका लागि कृष्ण भगवानको उनले मूर्ति बनाएका थिए ।

‘गाउँकै जानकी प्रसाद मण्डलको घरमा जन्माष्टमीका लागि मैले एक्लै भगवान कृष्णको मूर्ति बनाएको थिएँ,’ योगेन्द्रले भने, ‘१ सय २५ रुपैयाँमा त्यो मूर्ति बेचेको थिएँ ।’ जीबनको पहिलो कमाई त्यही थियो ।

विसं २०३३ सालमा एसएलसी उत्तीर्ण गरेर उनले पढाईलाई भने निरन्तरता दिएनन् । मूर्ति बनाउने कामलाई नै उनले पेशा बनाए । सोही शिलशिलामा उनी भारतको कलकत्ता पुगेर साइन बोर्ड तथा चित्रकारिताको काम समेत गरे । भारतकै अहमदाबादमा उनले एउटा ३५ फिटको सिमेन्टको भगवान हनुमानको मूर्ति बनाएर चर्चा कमाएका थिए ।

धनुषामै पनि उनले धेरै सिमेन्टका मूर्तिहरु बनाएका छन् । अकौरामा राजा सल्हेशको कोहवर तथा प्रतिमा, जनकपुरको धनुषसागर पोखरीको डीलमा ११ मुख भएको हनुमानको मूर्ति, धनुषाको हंशपुर नगरपालिकाको बेल्ही गाउँको चोकमा प्रतिमा तथा राम जानकी मन्दिरमा सिमेन्टको भगवानको प्रतिमा उनले बनाएका छन् । धनुषाकै बेलामा दुधमती नदीको किनारमा काली मन्दिर बनाएका छन् ।

त्यसैगरी प्रत्येक वर्ष दुर्गा पूजामा जनकपुरको रामानन्द युवा क्लबका लागि उनले मूर्ति बनाउने गर्छन् । ‘शुरूदेखि अहिलेसम्म त्यो क्लबका लागि मैले नै मूर्ति बनाउने गरेको छु,’ उनले भने । त्यहाँ दुर्गा पूजामा दुर्गा, लक्ष्मी, सरस्वती, कार्तिक र गणेश भगवान गरी कुल ५ वटा देवीदेवताको प्रतिमा बनाउने गर्छन् । १ लाख रुपैयाँ मूर्ति बनाउनका लागि क्लबले दिने गर्छन् तर मूर्ति बनाउन ५० हजार रुपैयाँ जति खर्च पनि हुने गरेको उनले बताए ।

त्यसैगरी जनकपुरकै मिल्स एरियामा प्रत्येक वर्ष आयोजना हुने इन्द्र पूजाका लागि समेत उनले नै मुर्ति बनाउने गरेका छन् । भगवान इन्द्र, इन्द्रानी, गोकर्ण, बृहस्पति, चित्रगुप्त, अश्विनी कुमार, नारद र हातीको प्रतिमा उनले बनाउने गर्छन् । त्यहाँ आयोजकले मूर्ति बनाउन सबै सामग्रीहरू उपलब्ध गराउँछन् र पारिश्रमिक मात्रै ५० हजार रुपैयाँ दिने गरेको उनी बताउँछन् ।

त्यसका अलवा उनी महावीर झण्डाका लागि प्रतिमासमेत बनाउने गर्छन् ।  १ सय देखि १ सय ८ फिटसम्मको महावीर झण्डा बनाउने गरेका छन् । काठको बिट, बाँस र कागज आदि सहितको महावीर झण्डा समेत बनाएर उनी चर्चा कमाउने गरेका छन् । त्यसैगरी सिजनल पूजाहरू विश्वकर्मा पूजा, लक्ष्मी पूजा आदि सहितका पूजामा समेत मूर्ति बनाउनुका बाहेक फुर्सद भएको समयमा सिमेन्टको मूर्ति तथा प्रतिमा बनाएर उनले आफ्नो घर परिवारको गुजारा मज्जाले चलाइरहेका छन् ।

मूर्तिबाट वार्षिक ७ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनले बताए । मूर्ति बनाएपछि मान्छेले धेरै नै राम्रो मूर्ति बनाएको भनेर स्याबासी दिँदा, प्रशंसा गर्दा आफ्नो मन प्रसन्न हुने गरेको उनले बताए ।

मिथिला संस्कृतिको मूर्तिसहितको संग्रहालय बनाउने सपना

मिथिला संस्कृति अनुसार मिथिलामा बसोबास गर्दै आएका विभिन्न जाति तथा समुदायको मूर्ति बनाएर सधैंको लागि एउटा संग्रहालय बनाउने उनको सपना छ । प्रदेश सरकार वा नेपाल सरकार कसैले पनि त्यसको लागि आवश्यक पर्ने ६ कठ्ठा जग्गा तथा मूर्ति बनाउन लाग्ने खर्च उपलब्ध गराए संग्रहालय बनाउन आफू तयार रहेको उनी बताउँछन् । मिथिला तथा मधेशमा कुन कुन जाति समुदायका मानिसहरू बसोबास गर्छन्, तिनीहरूको रहनसहन, जीवन संस्कृति, खानपिन, पोसाक, पहिरन आदि विगतमा कस्तो थियो, अहिले के परिवर्तन आएको छ सबै कुरा झल्काउने गरी मूर्ति बनाएर संग्रहालय बनाउने आफ्नो ठूलो सपना रहेको उनले बताए ।

एउटा जातिको मात्रै २५ देखि ४० वटासम्म मूर्ति बन्ने उनले लक्ष्य राखेका छन् । संग्रहालय बनाउन करीब-करीब २ करोड रुपैयाँ लाग्ने उनले अनुमान गरेका छन् । त्यसका लागि उनले प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवसँग भेट गरेर कुराकानीसमेत गरेका छन् । ‘ठीकै छ, प्रोपोजल बनाएर दिनुस्, जग्गा उपलब्ध गराउन तथा त्यसमा लाग्ने रुपैयाँ उपलब्ध गराउन प्रदेश सरकार तयार छ भनेर मुख्यमन्त्रीज्युले भन्नु भएको छ,’ उनले भने, ‘अब प्रोपोजल लेख्नका लागि मैले जनकपुरका पत्रकार नित्यानन्द  मण्डल ज्युलाई आग्रह गरेको छु ।’

अहिलेसम्म मूर्ति बनाउने मूर्तिकारहरूलाई राज्यले कुनै पनि किसिमको सहयोग नगरेको उनको गुनासो छ । ‘जनकपुरकै तिरहुतिया गाछीमा आयोजना भएको मिथिला महोत्सवमा मैले सबै मूर्तिहरू बनाउँदा नेपाल प्रज्ञा प्रतिष्ठानले एक पटक सम्मानित गरेको थियो,’ उनले भने, ‘त्यसयता कुनै पनि पुरस्कार वा सम्मान सरकारको तर्फबाट भने पाउन सकेको छैन ।’

मूर्तिकला वा चित्रकलासहित कलाकारहरूको लागि प्रदेशमा एउटा पनि विद्यालय छैन । त्यसकारण अहिलेको युवा पुस्ताले ती सीपहरू सिक्न नै चाहेका छैनन् । ‘मैले २५ जना जति मानिसलाई मूर्ति बनाउने सीप सिकाएको छु,’ योगेन्द्रले भने, ‘तर सरकारले त्यसको लागि एउटा विद्यालय वा कलेज नै स्थापना गरे भने युवाहरूले सीप सिकेर राम्रो तरिकाले जीवनयापन गर्न सक्नेछन् ।’

अजय अनुरागी
अजय अनुरागी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्