मघौटाको रमझम, चुनिन थाले बस्ती नायक

लखन चाैधरी
लखन चाैधरी

लखन चौधरी लोकान्तरका लागि सुदूरपश्चिम प्रदेश प्रतिनिधि हुन् । 

हिउँदे झरीका बाबजूद पनि यतिबेला पश्चिम नेपालको थारु वस्तीहरूमा माघ (माघी) पर्वको रमझम जारी छ । पुस २९ गतेदेखि शुरू भएको माघ पर्वको रौनकता जारी छ ।

थारु बस्तीको ठाउँ–ठाउँमा माघी मेला र गाउँघरमा मघौटा, सखिया नाचको उल्लास छाएको छ । यसैबीच धनगढी उपमहानगरपालिका–७ पटेलाबासी पनि मघौटामा झुम्मिएका छन् । घर–घरमा गएर मघौटा नाच्दै रमाएका हुन् ।


Advertisement

बाबाकी सगरम गैली मुरिया लहान गैली हाँ

सखिय हो सेन्दुर छुटल पानी घाट


Advertisement

बाबाकी सगरम गैली मुरिया लहान गैली हाँ

सखिय हो टिकुली छुटल पानी घाट

गल्ली गल्ली नेगली ढुरखी उरैली हाँ

सखिय हो लहंगामे लागि गैल ढुर सखिय हो

सकिरी गलियाम लगल बजरिया रे हाँ

सखिय हो करि डेउ बनिया टिकुलिक् मोल सखिय हो ।

बीच–बीचमा मघौटा नाचका नचुयाहरूले उत्तानो परेर मुखले पैसा टिप्ने कला प्रदर्शन गर्न थालेपछि माघको माहोल झनै उत्साहित बनेको हो । पटेलाका स्थानीय यूवा रामसिंह चौधरीले सदियौंदेखि माघमा मघौटालगायत सांस्कृतिक कार्यक्रमले उल्लास छाउँदै आएको बताउँछन् ।

माघ २ गतेदेखि थारु बस्तीमा बस्तीका नायक चुन्ने तथा अनुमोदन कार्य समेत थालिएको छ । पटेलाबासीले जखेरी (बखेरी) अर्थात् विगतको वर्षको समीक्षामा जुटेका छन् । पटेलाका महाँटाँवा (सहायक प्रमखं) अर्जुन चौधरीले विगतको समीक्षासँगै नयाँ कार्ययोजना बनाउँदै नयाँ नेतृत्व चयन गर्ने जानकारी दिए ।

कुनै थारु बस्तीमा जखेरी भनिएपनि कुनै वस्तीमा माघी डेवानी तथा भूरा खेल पनि भन्ने गरिन्छ । जसमा गाउँलेहरूको भेलाले नयाँ नेतृत्व चयन गर्दछ । यसैबीच गोदावरी नगरपालिका ८ फकलपुरवासीले बखेरीबाट नयाँ बरघरमा फुलाराम चौधरी र ओरगान (सहायक बरघर) मा गोपिलाल चौधरीलाई चयन गरेका छन् ।

गोदावरी–८ मजगाउँ कटानका स्थानीयले पनि स्थानीय बुद्धिराम चौधरीलाई सर्वसम्मत भलमन्सामा चयन गरेका छन् ।

यतिबेला फकलपुर र मजगाउँमा मात्रै होइन, प्रायः सबै थारु बस्तीमा माघको रौनकतासँगै नयाँ नेतृत्व चयन गर्ने कार्य शुरू गरिएको छ ।

तर राज्यको कुनैपनि तहले सरोकार नराखेपछि उनीहरूलाई चिन्तित तुल्याएको छ । फकलपुरका बरघर फुलाराम चौधरी भने, 'आजभोलि गाउँघरमा भलमन्सा बन्न कोही इच्छुक हुँदैन । त्यसमा राज्यको कुनैपनि निकायले प्रथाजन्य कानूनलाई मान्यता नदिँदा दुःख लाग्छ । तर पुखौंदेखिको प्रचलन जोगाउनुपर्छ भन्ने विचारले जिम्मेवारी सम्हाल्दै आएको छु ।’

राज्यले प्रथाजन्य कानूनलाई बेवास्ता गर्दा संकटमा परेको बताए । राज्यबाट भएको उपेक्षाले नयाँ पुस्तामा प्रथाजन्य संस्कारप्रति जागेको वितृष्णाले संकटमा परेको उनको भनाइ छ ।

भलमन्सा तथा बरघर प्रथा नेपालको आदिवासी थारू समुदायको प्रथाजन्य कानूनको रूपमा स्थापित प्रथा हो । जुन प्रथाअनुसार थारू समुदायमा बरघरहरूले निश्चित समय र उदेश्यका लागि समाजबाट कार्यकारी प्रमुखको जिम्मेवारी पाएका हुन्छन् । माघी पर्व मनाएपश्चात् आजभोलि थारु बस्तीमा बरघर, भलमन्सालगायत बस्तीको नेतृत्व चयनको काम धमाधम चलिरहेको छ । यसरी आफ्नो बस्तीको नेतृत्व आफैं छनोट गर्ने प्रणालीलाई थारु समुदायमा ‘माघी डेवानी’ भन्ने गरिन्छ । यसलाई 'भूरा खेल' भन्ने गरिन्छ ।

थारु कल्याणकारिणी सभा कैलालीका उपसभापति माधव थारुका अनुसार भलमन्सा तथा बरघरहरूले गाउँको विकास निर्माणमा श्रमदान, झै–झगडा मिलाउने, विवाह, भोज, मृत्यु संस्कार, गाउँलेको सुख–दुःखमा गाउँलेहरूलाई नै परिचालन गर्ने काम गर्दछन् । पहिले–पहिले गाउँको निःशुल्क सेवा गर्दै आएका नेतृत्वकर्ताहरूले पछिल्लो समयमा भने सेवा गरेबापत गाउँलेहरूले प्रत्येक घरबाट जिन्सी, नगद संकलन गरेर केही पारिश्रमिक समेत दिन थालेका छन् ।

समाज निर्माणमा भूमिका खेल्दै आएका बरघरहरुलाई प्रोत्साहनको लागि राज्यले नीति ल्याउनुपर्ने उपसभापति थारु बताउँछन् ।

कञ्चनपुरको पुनर्वास नगरपालिकाले भलमन्साहरूलाई प्रोत्साहन रकम दिन शुरू गरेको बताउँदै उनले त्यसको अनुसरण गर्नुपर्नेमा जोड दिए । सो नगरपालिकाले २०७५ साउन १ गतेदेखि नगरका ३२ जना भलमन्साहरूलाई प्रोत्साहन स्वरूप वार्षिक ५ हजार रुपैयाँका दरले प्रोत्साहन रकम प्रदान गर्दै आएको छ ।

लखन चाैधरी
लखन चाैधरी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्