उपसभामुखको राजीनामापछि मुस्कुराए प्रचण्ड, अग्निलाई बधाईको ओइरो !

फाइल फोटो

उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा गरेकी छन् ।

सोमवार बसेको प्रतिनिधिसभा बैठकको शुरूमै उसभामुख तुम्बाहाङ्फेले संक्षिप्त सम्बोधनमार्फत राजीनामाको घोषणा गरेकी हुन् ।


Advertisement

यसअघि आफूलाई नै सभामुख बनाउनुपर्ने मागसहित उनले राजीनामा गर्न अस्वीकार गरेकी थिइन् । सोमवार दिउँसो १ बजेपछि बसेको बैठकको शुरूआत गर्दै उनले कार्यसूचीमा समावेश विषय हटाएको जानकारी गराउँदै राजीनामा गरेकी हुन् ।

सम्बोधनका क्रममा उनले उपसभामुखको राजीनामा गर्न आफूले लिएको अडान अस्वाभाविक महत्त्वाकांक्षाबाट प्रेरित नभएको दाबी गरिन् । ‘मेरो अडानको समयले वस्तुनिष्ठ मूल्यांकन गर्नेछ,’ उनले भनिन् । 


Advertisement

उपसभामुखले राजीनामा गरेर बैठक स्थगित गरेपछि बैठकमा सहभागी भएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा नेताहरूसँग कुरा गर्दै मुस्कुराएका थिए । नेकपा वरिष्ठ नेता झलनाथ खनालसँगै सत्तापक्षको रोमा बसेका प्रचण्ड मुस्कुराएको दृश्य संसदको लाइभ भिडियोमा देखिएको थियो । उपसभामुखको राजीनामा विवादले सभामुख चयनको प्रक्रिया लम्बिएको थियो ।

बैठक सकिएपछि नेकपाले तय गरेका सभामुखका उम्मेदवार अग्नि सापकोटालाई सांसदहरूले अग्रिम बधाई दिएका थिए । नेकपा, नेपाली कांग्रेस लगायतका सांसदले अग्नि सापकोटालाई बधाई दिएका दृश्य देखिएको थियो ।

प्रतिनिधिसभा बैठकमा प्रधामनन्त्री केपी शर्मा ओली पनि सहभागी भएका थिए । एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री केपी शर्मा पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी भएका थिए । 

सभामुख निर्वाचनको कार्यतालिका घोषणा गर्न प्रतिनिधिसभा बैठक सोमवार अपराह्न ४ बजे बस्दैछ । दोस्रो बैठकको अध्यक्ष ज्येष्ठ सदस्य महन्थ ठाकुरले गर्दैछन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्