विमान दुर्घटनामा मारिएका फूटबलर सालकी आमाको भावुक उद्गार– बाँचे पनि मरेतुल्य अनुभव गर्छु

अर्जेन्टिनाको प्रोग्रेसो शहरमा सामान्यतया शनिवारको अपराह्न सडकहरू पूरै खाली हुन्छन् । गर्मीको चर्को घामलाई छल्न त्यहाँका दुई हजार निवासीहरू घरैभित्र बस्छन् । 

मानिसहरूको उपस्थिति देखिएको एक मात्र ठाउँ सान मार्टिन फूटबल क्लब हो । त्यहाँ एक परिवार ब्याप्टिज्म उत्सव मनाइरहेको छ । त्यही ठाउँमा शहरले आफ्ना सबभन्दा प्रतिष्ठित छोरा एमिलियानो सालको मृत्युमा दुःखमनाउ गरेको थियो । 


Advertisement

राजधानी बुएनोस एयर्सबाट ६ घन्टाको मोटरयात्रा गरेर पुगिने प्रोग्रेसोको चर्चा सन् २०१९ को जनवरीमा विमान दुर्घटनामा सालको मृत्युपछि चुलियो । उनको शव राखिएको बाकस शहरमा ल्याइँदा त्यहाँका खाली सडकहरूमा असंख्य मानिस ओइरिए । 

घटनाको एक वर्ष बितिसक्दा शहरले पीडा ताजै अनुभव गरिरहेको छ । शहरका लागि साल फूटबल स्टार मात्र थिएनन् । उनी एक साथी, एक छिमेकी, एक पूर्वशिष्य र पूर्व टोलीसखा पनि थिए । 


Advertisement

सालकी आमा मर्सिडिज र भाइ दारियोलाई उक्त घटनाका बारेमा बोल्न पनि गाह्रो लाग्छ ।

दारियोले घरको ढोका खोल्दा मर्सिडिज खाना खाने कोठामा बसिरहेकी भेटिन्छिन् । पानीको गिलास बीबीसी संवाददातालाई दिँदै उनी भन्छिन्, ‘यहाँ आउनुभएकोमा धन्यवाद । मेरो छोराप्रति सम्मान दर्शाउनुको ठूलो अर्थ छ ।’

एमिलियानो, दारियो र बहिनी रोमिना मुस्काइरहेको तस्वीरले कोठा चम्किलो छ । सालका पिता होरेसियोको पनि पोहोर साल मृत्यु भयो । गत अप्रिल महिनामा ५८ वर्षको उमेरमा उनलाई हृदयघात भयो । छोरा बितेको तीन महिनामा उनले पनि संसार त्यागे । होरेसियो र मर्सिडिज सँगसँगै बस्दैनथिए ।

‘एमी १५ वर्षको हुँदा एक दिन हाम्रो पुरानो घरको भान्सामा बस्यो र भन्यो– आमा, म फूटबल खेलाडी बन्न चाहन्छु । उसले फूटबलर बन्ने सपनालाई पछ्याउँदै कोर्दोबा प्रान्तमा रहेको सान फ्रान्सिस्को जानुपरेको थियो,’ मर्सिडिजले भनिन् । 

‘ऊ बालखै थियो र उसले टाढा जानुपर्दा मलाई गाह्रो भएको थियो । तर उसको संकल्प दृढ थियो र म गर्न सक्छु भन्नेमा ऊ विश्वस्त थियो । उसले आफ्नो सपना साकार गर्‍यो । ऊ फूटबललाई माया गर्थ्यो । अनि ऊ प्रेमियर लीग खेल्न उत्सुक थियो ।’

मृत्यु हुँदा साल २८ वर्षका थिए । फ्रान्सेली क्लब नान्तेसबाट कार्डिफ क्लबमा गएका सालको विमान दुर्घटनामा मृत्यु भएको हो । उनले वेल्सको क्लबमा साइन गरेको दुई दिन मात्र भएको थियो । कार्डिफ र नान्तेसले उनलाई तिरेको रकमका विषयमा अहिलेसम्म पनि झगडा गरिरहेका छन् । 

सालको शरीर इंग्लिश च्यानलमा फेला पर्‍यो तर उनलाई उडाएर लग्ने पाइलट डेभिड इब्बोटसनको शरीर अहिलेसम्म पनि फेला परेको छैन । 

मर्सिडिजको घर सालले तीन वर्ष नान्तेसमा छँदा पाएका विभिन्न उपहारले भरिएको छ । सालका सामानहरू संकलन गरेर मिलाउँदा पनि परिवारले निकै पीडा खप्नुपरेको थियो । 

‘मैले फ्रान्स, इंग्ल्यान्ड र अर्जेन्टिनाबाट थुप्रो सामान पाएकी छु,’ मर्सिडिजले भनिन् ।

भाइ दारियो भन्छन्, ‘मानिसहरूले उसालई अति नै मन पराउँथे । उसले क्लबसँगको सम्झौता नवीकरण गर्नका लागि कुराकानी गर्दा मानिसहरू उसालई छोडेर नजाऊ भन्थे ।’

छोराको यादमा तड्पिरहेकी मर्सिडिज भन्छिन्, ‘दुर्भाग्यवश मैले शान्ति पाएँ भन्न सक्दिनँ । म अझै पनि संघर्ष गरिरहेकी छु ।’ यति भनेर उनी लामो समय चुप लाग्छिन् । 

अनि गहभरि आँसु ल्याउँदै उनी भन्छिन्, ‘म बाँचे पनि व्यावहारिक रूपमा मरेतुल्य छु । यो मेरा लागि अत्यन्तै पीडादायी वर्ष रह्यो । म उसालई एकदमै माया गर्थें ।’

‘त्यस दिन बिहान ६ बजे कल आएको थियो,’ गहिरो सुस्केरा हाल्दै उनी भन्छिन्, ‘हिजै जस्तो लाग्छ तर एक वर्ष बितिसकेछ । पीडा अहिले पनि कायम छ र यो कहिले पनि जाने छैन ।’

बीबीसीमा प्रकाशित मार्टिन मजुरको फीचर

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्