हामीलाई सताएर सरकारले के पाउँछ ?’

तस्वीर सौजन्य: नागरिक दैनिक

 दृष्टिविहीन मीनबहादुर तामाङ सधैंझैं अल्पदृष्टिविहीन पत्नी कल्पना र अन्य तीन दृष्टिविहीन साथीसहित कपनको डेराबाट न्युरोड छिर्ने चोकमा आइपुगे । सडकपेटीमा बसेर उनीहरूले स्पिकरबाट गीतको सुमधुर ट्र्याक बजाए र त्यसैको लय पक्रेर गीत गाउन थाले । 

चहलपहल बढ्दै गएपछि मनकारीहरूले उनीहरूले थापेको भाँडोमा पैसा दिन थालेका थिए, त्यसै बेला ‘काठमाडौं महानगरपालिकाको आदेशमा’ आएका प्रहरीले माइक र स्पिकर खोसे । सडकमा गीत गाएर माग्न नपाइने भन्दै झपारे र त्यहाँबाट हिँडे ।


Advertisement

महानगरले बुधबार मात्रै रत्नपार्क र सुन्धारा क्षेत्रका सडक छेउमा समूह बनाएर गीत गाउने सात दृष्टिविहीन समूहको माइक र स्पिकर खोसेको छ । गाउने/बजाउने भाँडो नै खोसिएपछि दृष्टिविहीनको समूह ह्वाइट केनको सहारामा काठमाडौं महानगरपालिका पुग्यो । ‘शुरूमा त कहाँ जाने, कसलाई भेटेर कुरा राख्ने मेलोमेसो भएन,’ मीनबहादुरले सुनाए, ‘सोध्दैखोज्दै महानगरको समाज कल्याण विभाग पुग्यौं ।’

उनका अनुसार कर्मचारीले अबदेखि सडक छेउछाउमा गीत गाएर नमाग्न सतर्क गराए । खोसिएको माइक र स्पिकर प्रहरी परिसर टेकु पठाइएको भन्दै त्यहीँ गएर फिर्ता लैजान आदेश दिए । बल्लतल्ल टेकु पुगेपछि एक प्रहरीले गीत सुनाउनुस् अनि सामान फिर्ता गरौंला भनेर गिज्याएको मीनबहादुर सुनाउँछन् । ‘सडकमा गीत गायो भनेर उठाउने अनि सामान फिर्ता माग्दा गीत गाउनुस् भन्ने भनेपछि ती प्रहरी चुप लागे,’ उनले भने ।


Advertisement

दृष्टिविहीनहरूले महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई भेटेर आफ्नो कुरा राख्ने प्रयाससमेत गरेका थिए । तर कर्मचारीले शाक्य कार्यालयमा नभएको जनाउ दिएपछि उनीहरू समाज कल्याण विभाग छिरेका थिए । विभागका निर्देशक हरि कुँवरले कान्तिपुरसँगको कुराकानीमा सडकमा गीत गाएर माग्न नपाइने र यस्तो काम कानुनविपरीत हुने बताए । महानगरपालिकाले गत मंसिर २९ मै सडकमा बसेर गीत गाउनेहरूलाई विकल्प खोज्न र अटेर गरे पक्राउ गरिने बताइसकेको उनले सुनाए ।

त्यही दिन प्रहरी परिसर काठमाडौंले बौद्ध परिसरबाहिर माग्न बसेका र गीत गाइरहेका करिब २२ दृष्टिविहीनलाई पक्राउ गरेको थियो । अबदेखि सडकमा गीत गाउँदै माग्न नपाइने चेतावनी दिएर उनीहरूलाई छाडिएको थियो । निर्देशक कुँवरले भने, ‘सचेत बनाउँदा बनाउँदै पनि अटेर गरेकाले सामान जफत गरिएको हो । एकचोटिलाई फिर्ता गरिदिएका छौं ।’

मुलुकी अपराध संहिता ०७४ को दफा १२६ मा सडकमा बसेर भिक्षा माग्न वा माग्न लगाउन नहुने व्यवस्था छ । कानुनको यही व्यवस्थामा टेकेर आफूहरूले सहर व्यवस्थित बनाउन शुरू गरेको कुँवरले तर्क गरे । सडकमा बसेर गीत गाउने दृष्टिविहीनका अनुसार उनीहरूको संख्या करिब दुई सय छ । अधिकांश कमजोर आर्थिक हैसियतका र गीत गाएर जम्मा भएको पैसाले गुजारा चलाउने छन् ।

‘अन्य काम गरेर खान नसक्नेलाई आश्रममा राखेर खाने, बस्ने व्यवस्था मिलाइदिन्छौं भनेकै छौं,’ कुँवरले भने, ‘अटेर गरेपछि सामान खोसेका हौं ।’ उनले आश्रममा राखिदिने भने पनि अधिकांश दृष्टिविहीनका आश्रित परिवारलाई के गर्ने भन्ने विकल्प महानगरसँग छैन ।

नेपाल नेत्रहीन संघका निर्देशक नरबहादुर लिम्बूले सडकमा माग्नु राम्रो काम नभएको बताए । ‘सरकारले रोजीरोटी मिलाउने हो भने उठाउनुपर्छ,’ उनले भने, ‘होइन भने बेरोजगार भत्ता दिनुपर्छ ।’
‘कसरी परिवार पाल्ने ?’

रामेछापको मन्थली नगरपालिका भटौलीका मीनबहादुर आठ कक्षामा पढ्दै गर्दा सडक दुर्घटनामा परेर दुवै आँखा नदेख्ने भएका थिए । पूर्ण दृष्टिविहीन उनले सरकारले दिने मासिक १६ सय भत्ता पाउँछन् तर त्यतिले उनको गर्जो टर्दैन । उनले सुनाए, ‘गरिखाने कुनै विकल्प नभएर सडकमा आएका हौं । सडकको धूलो खाने रहर कसलाई हुन्छ र ?’ जोरपाटीको जम्मु डाँडामा मासिक ४५ सय भाडामा कोठा लिएर पत्नी कल्पनासँगै बस्ने उनले प्रश्न गरे, ‘न हामीले जोर जबर्जस्ती गरेर मागेका हौं न कसैलाई बाध्य पारेका छौं, हामीलाई उठाएर सरकारले के पाउँछ ?’

जन्मजात दृष्टिविहीन भावना परियार झरीका कारण डेराबाट बाहिर निस्कनै सकेकी थिइनन् । गोजी पनि रित्तिँदै गएको थियो । बुधबार बिहान ६ बजे नै उनी श्रीमान्सँग जोरपाटीको डेराबाट जमल आइपुगिन् । आकाशे पुलको एक छेउमा अल्पदृष्टियुक्त श्रीमान्सँगै बसेर गीत गाउन थालिन् । अचानक आएका प्रहरीले स्पिकर र माइक खोस्न थाले । ‘एकछिन तानातान नै भयो,’ उनले सुनाइन्, ‘बरु मलाई मार तर स्पिकर दिन्न भनेर कराएँ । बाटोका यात्रुले पनि मेरै पक्षमा कुरा गरेपछि प्रहरीले छाडिदियो ।’

१५ र १२ वर्षका दुई छोरा हुर्काइरहेकी भावनाले आफू कुनै रहरले सडकमा गीत गाउन नआएको बताइन् । ‘कति दिनपछि आको, त्यहीँमाथि आज १६ जीबीको पेनड्राइभ हरायो । अब कसरी गीत गाउने ? कसरी परिवारको मुख टाल्ने ?’ काठमाडौंमा दृष्टिविहीनलाई डेरा पाउन पनि मुस्किल रहेको र पाइहाले पनि समयमै भाडा नतिर्दा घरबेटीले निकालिदिने समस्या रहेको उनले सुनाइन् ।

समाज कल्याण विभागका निर्देशक कुँवर भने दृष्टिविहीनहरूको कुरा सुनेर साध्य हुने खालको नभएको बताउँछन् । कान्तिपुरसँगको कुराकानीमा उनले भने, ‘यिनीहरूको कुरा सुन्ने हो भने त पागल बनाउँछन् । मासुभात खै भन्छन्, मासिक ५० हजार सरकारले दिनुपर्छ भन्छन्, त्यस्तो नि साध्य हुन्छ ?’

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्