आगोमा जलेर एकल महिलाको मृत्यु

सिरहाको कर्जन्हा नगरपालिका–४ बस्तीपुरमा शुक्रवार बिहान आगलागी हुँदा एकल महिलाको मृत्यु भएको छ भने करीब २ लाख रुपैयाँ मूल्य बराबरको क्षति भएको छ ।

अचानक विद्युत् भार कटौती भएर बिहान आगलागी हुँदा कर्जन्हा नगरपालिका–४ निवासी १७ वर्षीय एकल महिला चुनचुनकुमारी नायकको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।


Advertisement

आगलागी भएको घरमै सुतिरहेकी चुनचुनको जलेर मृत्यु भएको र उनको शव परीक्षणका लागि लहानस्थित रामकुमार उमा स्मारक अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सन्तुप्रसाद जैसवालले जानकारी दिए ।

सोही आगलागीमा परी घरमा रहेको फर्निचर, फ्रिज, खाद्यान्न लगायतका समान समेत जलेर नष्ट हुँदा करीब २ लाख रुपैयाँको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।


Advertisement

बारुणयन्त्रको सहयोगमा प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएको थियो ।  

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्