विद्रोह गरी माओवादी आन्दोलनमा होमिएकी प्रदेशसभा सदस्य सीता

शेरबहादुर थापा
शेरबहादुर थापा

थापा लोकान्तरकालागि कर्णाली प्रदेशका प्रतिनिधि हुन् ।

सुर्खेत जिल्लाको राजनीतिमा उदाइरहेकी छन् सीता नेपाली । विसं २०७० सालमा समानुपातिकबाट प्रतिनिधित्व गर्दै संविधानसभा सदस्य बनेकी उनी हाल प्रदेशसभामा नेकपाको संसदीय दलको सचेतकको भूमिकामा छिन् ।

वीरेन्द्रनगरको वडा नं.७ इत्राममा २०३१ माघमा जन्मेकी नेपालीले स्नातकोत्तर तहमा अध्ययन गरिरहेकी छन् ।


Advertisement

मध्यम वर्गीय परिवारमा जन्मेकी सीताको परिवार मध्यम वर्गीय थियो । खान लगाउन पुग्ने । अभाव थिएन । परिवारको आयस्रोत कृषि थियो । कृषक परिवार भएकाल उनीहरू तरकारी उत्पादन गर्थे र बजार लगेर बेच्थे । उनी पनि आमासँगै बजार जान्थिन् । 'ठूलो भइसकेपछि एक्लै तरकारी पनि बिक्री गर्थें ,' उनले अतीत सुनाइन् ।

*****


Advertisement

उनी अध्ययन गरिरहेका बेला सुर्खेत शिक्षा क्याम्पसबाट पढाउन विद्यार्थहरू जाने गरेको र उनीहरूले कक्षामै परीक्षा लिने गरेको उनी स्मरण गर्छिन् । ‘उतिबेला राम्रो गरेको भन्दै सरले कपी दिनुभएको थियो । उपहारले प्रेरणा दिएको थियो,' उनी भन्छिन्, 'सात कक्षामा पढ्दा नेपाल स्काउटमा भाग लिएको थिएँ । त्यसले नेतृत्व विकास गर्नमा सहयोग गर्‍यो ।'

२०४६ सालमा बहुदल आउँदै गर्दा उनी आठ कक्षामा अध्ययरत थिइन् । विद्यालयमा आन्दोलनकारीले कालो झण्डा गाडेका थिए । 'एक जना सरले गोमन सर्प हो भन्नुभयो । पञ्चायतको विरुद्धमा आन्दोलन गरेको, कालो झण्डा उनीहरुले नै गाडेका रहेछन्,' उनले भनिन्, 'बहुदल घोषणापछि अन्य गतिविधिमा सहभागी हुने क्रम बढ्यो । विद्यार्थी संगठन विस्तार भयो ।'

घरमा राजनीतिको कुरा गर्दा उनलाई खुल्दुली लाग्दो रहेछ ।

‘भित्ताका पनि कान हुन्छन् भनेर बुवा र दाइले कुरा गर्थे । पछि थाहा भयो । व्यवस्थाका बारेमा कुरा गरेका थिए । विद्यालयमा कान्छो वुवा पढाउने गर्थे । छोरीलाई नेविसंघको सदस्यता दिएछन् । बुवालाई सदस्यता बुवाले सदस्यता फिर्ता गर्न पठाए,' पुराना दिन सम्झिँदै भनिन्, 'कर्ण बहादुर नेपालीले संगठनामा जोडनुभयो । आफ्नै घरमा २०४७ वैशाखमा उहाँले प्रशिक्षण कार्यक्रम गर्नुभएको, जात भात मान्दैन, साठी वर्ष पुगे गोली हान्छ भन्ने कुरा, जिज्ञासा राखेका थियौं ।’

उनले २०५७ सालको जेठमा अनेरास्ववियु छैठौंको सदस्यता लिइन् । साधारण सदस्य भइन् । पार्टीको कार्यक्रममा जोडिन थालिन् । सांस्कृतिक कार्यक्रममा पनि जान थालिन् । घरको काम गर्दागर्दै पनि उनलाई विद्यार्थी संगठनको कार्यक्रममा जान अनुमति थियो । पार्टी कार्यालयमा पनि जान्थिन् । अभ्यास पनि गर्थिन् । जनवादी गीतहरू गाउने तथा गुन्गुनाउने गर्थिन् उनी । क्याम्पसका स्वागत कार्यक्रममा गीत गाउँथिन् उनी ।

भन्छिन्, 'कलाकार भएर जनचेतना  जागृत गर्न खोजेका थियौं । विद्यार्थी संगठनको जिल्ला कमिटी, क्षेत्रीय कमिटीमा सहसचिव भई अनेमसंघको जिल्लाको पदाधिकारी टीममा थिएँ म ।'

२०५१ सालमा उनले पार्टीको सदस्यता लिएकी थिइन् । पार्टीमा सीताको नाम रक्षा थियो । 'जनवर्गीय संगठन र पार्टीको भेद महसूस गरें । विद्यार्थी संगठनमा लहैलहै हुन्थ्यो । बेला बेलामा वैचारिक छलफल हुन्थ्यो । अनि म सेल कमिटिमा आवद्ध भएँ,’ उनी भन्छिन्, ‘मौसमी चन्दा उठाउने, सहयोगको अभियान चलाउने, एकले अर्कोको घरमा गएर काम गर्ने गरेका थियौं । एरिया कमिटी सदस्य भएँ । त्यतिबेला २०५५ सालमा संगठित विद्रोह गर्‍यौं । नेकपा मसालभित्र धेरै जिज्ञासा आउँथे ।’

वस्तुगत अवस्था तयार भइसकेको अवस्था छैन भन्ने जवाफ आएको थियो त्यतिबेला । तत्कालीन माओवादीले जनयुद्ध शुरू गरिसकेको थियो । सामाजिक हिसाबले जातीय विभेद भएको उनलाई महसूस हुन्थ्यो । उनले भनिन्, 'सामुदायिक धारामा पानी भर्न नदिने, पछि पारिदिने, हामीलाई सैह्य नहुने, गाग्री समाएर पर फाल्दिन्थ्यौं । महिलामाथि विभेद देखिराखेको, सर्वहारा व्यवस्था ल्याउनुपर्छ । पार्टीभित्र अन्तरसंघर्ष चल्यो । माओवादी, पुष्पलाल र एमालेलाई हेर्ने दृष्टिकोणमा छलफल भयो । जिल्ला सम्मेलन राहुल थिए ।'

उनले थपिन्, 'माओवादी जनयुद्ध ठीक छ भन्ने प्रस्ताव पेश भयो । हामी धेरै पक्षमा भयौं । केन्द्रबाट गौतमलाई पार्टी लाइन विपरीत निर्णय भन्दै कारवाही भयो । एघार जनाले २०५५ साउनमा पार्टी परित्याग गरेको घोषणा गरेका थियौं । देश भक्त प्रजातान्त्रिक मञ्च बन्यो ।' उनी कोषाध्यक्ष थिइन् । विसं २०५६ साल कात्तिकबाट सीता पूर्णकालीन भइन् ।

रामबहादुर चपाई र सीता नेपाली एउटै पार्टीमा थिए । चपाईलाई बागलुङको ज्यामिरे काण्डमा राजनीतिक मुद्दा चलाइएको थियो । २०५१ सालमा उनले मुद्दा जितेर आए । सीताको र रामबहादुरको भेटघाट भइरहन्थ्यो । भेटघाटकै बीच उनीहरू नजिक भए । 'नजिक कसरी बन्यौं ठ्याक्कै थाहा भएन । भेदभावको अन्त्य गर्नुपर्छ भनेर लागेका कारण यस्तो भएको हो । उहाँले नै २०५१ सालमै उहाँले प्रस्ताव राख्नु भएको थियो,' वैवाहिक सम्बन्धबारे उनले भनिन्, 'लामो समयसम्म एक अर्कालाई चिन्ने भन्दै विवाह गरेनौं । २०५२ असोज ८ गते परिवारबाट भागेर लेखफर्सामा जनवादी विवाह गरेका थियौं ।'

अन्तरजातीय विवाह थियो त्यो । जनवादी विवाह भएकाले पार्टीमा कुनै समस्या भएन । परिवारमा पनि सहज वातावरण थियो । तर माइतीमा समस्या आइलाग्यो । 'समाजको अलिकति डर थियो । स्वयंम व्यक्तिले नै संघर्ष गर्न आवश्यक छ । मेरो अनुपस्थितिमा कचहरी पनि भएको थियो । जस्तो भन्छस् त्यस्तै केटी बिहे गराउँछौं भन्ने आयो । जात भनेको महिला पुरुष नै हो । श्रीमानलाई श्रीमती छोड भनेका थिए,’ उनी भन्छिन्, ‘मेरो छोरालाई सिन्की र आटो मनपर्छ भने मलाई पनि मनपर्छ भन्दै सासुआमाले भन्नु भएछ ।’ अहिले परिवारमा कुनै पनि भेदभाव नभएको उनको भनाई थियो ।

‘छुवाछुत तथा भेदभाव हटाउन राज्यको मात्रै नभएर आम नागरिकको पनि भूमिका छ । कानून पनि बनेका छन् । कानून बनाउने लेखेर मात्रै होइन । कार्यान्वयनमा जानै पर्छ । छुइ छितो नगरेर भित्र जाने अवस्था थिएन । अन्ध विश्वास, भैसी रुख चढछ भन्ने अन्धविश्वास थियो । चिनिएकै दलित पनि समस्यामा थिए,’ उनी भन्छिन्, ‘सबै मान्छे एकै रहेछन् भन्ने जनचेतना जनयुद्धले ल्यायो । अहिले अब अन्तिम धक्का हान्न बाँकी छ । हरेक स्थानीय तहमा अभियान लैजान जरुरी छ । जातीय छुवाछुत मुक्त पालिका बनाउन जरुरी छ ।' उनले जातीय भेदभाव उन्मुलन गर्नका लागि व्यावहारिक अभियान लिन जरुरी रहेको बताउँछिन् । भन्छिन्, 'समाजको कलंकको रूपमा रहेको यो प्रथालाई हटाउन ढिला गर्न हुँदैन ।’

*****

युद्धकालमा पूर्णकालीन हुँदा एरिया सदस्य, २०५७ शुरूमा एरिया सेक्रेटरी चिंगाडको, चैतमा जिल्ला कमिटी सदस्य, ०५८ मा जिल्ला सचिवालय सदस्य, ०६० मा राज्य सदस्य, फेरि घटुवा भएर जिल्ला कमिटीमा, पहिलो संविधानसभा निर्वाचन हुँदा जिल्ला सेक्रेटरी थिइन् उनी । दोश्रो संविधानसभा हुँदा २०६४ मा १६ सय मतले हारेकी थिइन् उनले । यामलाल कंडेलले जितेका थिए । 'केन्द्रीय सदस्य, २०७० मा संविधान सभा सदस्य, संविधान मस्यौदा समितिको सदस्य, दलितबाट एक जना मात्रै सदस्य थिएँ,' उनी सम्झिन्छिन् ।

‘संविधान निर्माणको बेला धेरै संघर्ष गर्नु परेको थियो । सकस थियो । संविधानमा धेरै कुरा लेख्न सफल भएका छौं,' उनी भन्छिन्, ‘संघीय संसदमा पनि सचेतक नै थिएँ । हाल पार्टीको प्रदेश कमिटी सदस्य छु ।’

*****

उनी समाजका लागि केही गरौं भन्ने भावनाबाट अघि बढिरहेको बताउँछिन् । जीवन नै राजनीतिका लागि समर्पण गरेको उनको भनाई थियो । 'जनताको सेवा गर्ने हो । स्वाभिमानको राजनीति गर्नुपर्छ,' उनले कुराकानीको बिट मार्दै भनिन् ।

शेरबहादुर थापा
शेरबहादुर थापा

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्