चीनको वुहानमा कोरोना भाइरसको प्रकोप : नेपाल सरकारको प्रतीक्षा गर्दै नेपाली विद्यार्थी

तस्वीर सौजन्य: नयाँ पत्रिका

सरकारले जहाजको व्यवस्था गरोस्, भाडा हामी दिन्छौँ : दिवंगर खोटेजा
हुवाचोङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी वुहानमा पिएचडीका विद्यार्थी
घर : भक्तपुर

तीन वर्षदेखि म यो सहरमा छु । हुपेई प्रान्तको यो सहर राजधानी बेइजिङदेखि १२ घन्टाको दूरीमा दक्षिण र सांघाईबाट नौ घन्टाको दूरीमा पश्चिम पर्छ । हुन त ३० डिसेम्बरमा नै यो रोगको विषयमा चिनियाँ सरकारलाई थाहा भइसकेको थियो । तर, यो कसरी फैलिन्छ भन्नेमा उनीहरू नै अलमलमा थिए । त्यसैले सरकारीस्तरबाट कुनै औपचारिक जानकारी आएको थिएन । अचानक २० जनवरीमा युनिभर्सिटीबाट इमेल आयो, ‘कोरोना भाइरस मान्छेबाट मान्छेमा फैलिन थालेको छ । सहरमा संक्रमण फैलिसकेको छ, त्यसैले सतर्क रहनु, बाहिर जाँदा मास्क लगाएर मात्र निस्किनु ।’ यस्तो इमेल आएपछि हामी सतर्क भयौँ, तर त्यस्तो डरलाग्दो केही हो भन्ने सोचका थिएनौँ । 


Advertisement

दुई दिनपछि ठूलो खबर आयो– कोरोना भाइरसबाट ११ जनाको मृत्यु भयो, चार–पाँच सयजनामा संक्रमण भेटिएको छ । धमाधम सार्वजनिक यातायात बन्द हुन थाल्यो । पसलहरू पनि बन्द हुन थाले । २३ जनवरी (बिहीबार) दिउँसो १० बजेदेखि औपचारिक रूपमा सरकारले वुहान सहरलाई ‘लक्ड–डाउन’ गर्‍यो । सहरभित्र पस्न र सहरबाट बाहिर निस्कन पूर्ण रूपमा निषेध गरियो । 

संक्रमण र मृत्युका अपडेटहरू लगातार आइरहे । शनिबार बेलुकीसम्म त ४१ जनाको मृत्यु भएको घोषणा भएको छ । तीमध्ये ३८ जना त वुहान सहरका हुन् । अहिले १२ सयभन्दा बढी संक्रमित भएको औपचारिक जानकारी आएको छ । संक्रमितका परिवारलाई पनि सरकारले क्वारेन्टाइनमा राखेको छ । अब भोलि के अपडेट आउने हो भनेर सारा मान्छे त्रसित छन् । 


Advertisement

अहिले चिनियाँ नयाँ वर्ष भएकाले सबै विश्वविद्यालय बन्द छन् । त्यसैले अधिकांश विद्यार्थी घर गइसकेका थिए । विश्वविद्यालय यसै पनि सुनसान थिए । तर, अहिले सहर पनि सुनसान छ । हामी पनि होस्टेलको कोठाभित्र सीमित छौँ । हामीलाई बाहिर जाँदा पनि गेटमै स्वास्थ्य जाँच हुन्छ । बाहिर आउँदा पनि गेटमा फेरि जाँच हुन्छ । शरीरको तापक्रम बढेको जोसुकैलाई पनि तुरुन्तै सरकारी अस्पतालमा लगिन्छ । 

यो सहरमा नेपाली विद्यार्थी सयभन्दा बढी छन् । अहिले हामीले बनाएको वी–च्याट ग्रुपमा ९२ जना विद्यार्थी जोडिएका छन् । शारीरिक रूपमा हामी सबै नेपाली विद्यार्थी ठीकै छौँ, तर मानसिक रूपमा धेरै कमजोर भएका छौँ । हाछ्युँ लाग्दा पनि र एक–दुईपटक खोकी लाग्दा पनि के भयो भनेर डराउनुपर्ने अवस्था छ । बजार खुला छैनन्, खुलेका पसलमा पनि जान डर छ । त्यसैले यहाँ बस्न असाध्यै गाह्रो छ । घरमा पनि छिनछिनमा कुरा भइरहेको छ । सबैजना अत्तालिनुभएको छ । यस्तो वेलामा नेपाल सरकारले हामीलाई यहाँबाट उद्धार गरे हुन्थ्यो भन्ने लाग्छ । अमेरिका र फ्रान्सजस्ता देशका सरकारले आफ्ना नागरिकलाई चार्टर्ड फ्लाइटबाट फर्काउने तयारी गर्दै छन् । हाम्रो देशको सरकारले पनि जहाजको व्यवस्था गरोस्, लागेको भाडा हामी आफैँ तिर्छौँ भनेर दूतावासलाई भनेका छौँ । दूतावासले आत्तिनुपर्दैन भनेको छ । तर, हामीलाई नेपाल फर्काउने विषयमा ठोस जवाफ दिएको छैन ।

सामान्य खोकी लाग्दा र हाछ्युँ आउँदा पनि डराउने अवस्था छ : मोहम्मद हरून
हुवाचोङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी वुहानमा मास्टर्सका विद्यार्थी
घर : सीतापाइला

३१ डिसेम्बरमा चिनियाँ साथीले मलाई वी–च्याटमा म्यासेज गरेको थियो । एकैपटक १६ जनालाई निमोनिया लागेको छ, यो फैलिन सक्छ, सी फुड नखानू भन्ने सन्देश थियो । हुन त वी–च्याटमा यस्ता म्यासेज आइरहेका हुन्छन् । धेरैजसो चाइनिज भाषामा हुन्छन्, त्यसैले हामीले बुझ्दैनौँ र ध्यान दिन सक्दैनौँ । त्यो म्यासेजलाई पनि हामीले खास गम्भीरतापूर्वक लिएनौँ । अरूले पनि त्यो विषयमा धेरै चासो गरेनन् । २१ जनवरीमा एक्कासि डरलाग्दो समाचार आयो । कोरोना भाइरसको संक्रमणले ११ जनाको मृत्यु भयो, अरू चार–पाँच सय संक्रमित भएका छन् भन्ने खबर आयो । कोरोना भाइरस मान्छेबाट मान्छेमा सर्छ भन्ने थाहा पाएपछि मान्छेहरू आत्तिन थाले । 

खासमा यो भाइरस हाम्रै युनिभर्सिटीबाट फैलिएको रहेछ । एकजना बिरामी थिए, जसलाई न्युरोको सर्जरी गरिएको थियो । उनी कोरोना भाइरसबाट संक्रमित छन् भन्ने अस्पतालले संकेत पनि पाएको थिएन । तर, उनको सर्जरीमा सहभागी ११ नर्स र एकजना डाक्टरलाई भाइरस सरेछ । यो खबरले सबैलाई गम्भीर बनायो । 

२३ तारिख अर्थात् गत बिहीबारदेखि त सरकारले सहर नै बन्द गर्‍यो । सहरबाहिर मात्र होइन, सहरभित्रै ओहोरदोहोर गर्न पनि गाह्रो भएको छ । फाट्टफुट्ट खुलेका पसलमा गएर सामान किन्न पनि डर छ । हामीले केही तरकारी किनेर ल्याएका थियौँ, साथीहरू आलुका दाना गनेर बसिरहेका छन् । हाम्रो विश्वविद्यालयमा करिब १५ सय विदेशी विद्यार्थी होलान् । तर, चिनियाँ नयाँ वर्षको सन्दर्भमा एक महिना बिदा छ । त्यसैले आधाजति विद्यार्थी आ–आफ्नो घर गएका छन् । हामी नेपाली २५ जनामध्ये १० जनाजति घर गएका छन् । यहाँ भएका साथीहरू पनि तनावमा छौँ । हामी स्वस्थ छौँ, तर डराएका छौँ । केही गरी अस्पताल जानुपर्‍यो भने पनि झन् सर्ला भन्ने डर छ । सामान्य खोकी लाग्यो भने पनि कोरोना भाइरस हो कि भनेर शंका लाग्ने अवस्था आएको छ । 

चीनका विभिन्न सहर घुम्छौँ भनेर गएका चारजना साथीहरू इयु भन्ने सहरमा अड्किएका छन् । उनीहरू घुमेर युनिभर्सिटी फर्किने दिन नै वुहान सहर ‘लक्ड–डाउन’ भयो । अहिले उनीहरू सहरबाहिरै छन् । पैसा पनि सकियो, के गर्ने भनेर अलमलमा परेका छन् । 

अहिले वुहानमा भएका नेपाली विद्यार्थी वी–च्याट ग्रुपमा छन् । नेपाली दूतावासको तर्फबाट भन्दै कसैले एउटा फर्म सेयर गरेको छ । त्यो फर्म हामीले भरेर पठाएका छौँ । हामीलाई यो सहरबाट बाहिर निकाल्ने प्रयास गर्नुहोस् भनेर हामीले दूतावासलाई अनुरोध गरेका छौँ । सरकारले जहाजको व्यवस्था गरिदिने हो भने हामी आफै टिकट काटेर नेपाल जान्थ्यौँ । जसोतसो नेपाल पुग्ने हो भने हामीलाई मात्र होइन, परिवारलाई पनि ढुक्क हुन्थ्यो । तर, दूतावासको तर्फबाट भरपर्दो जानकारी पाएका छैनौँ । 

बाहिर निस्कनै डर छ : सन्दीप उप्रेती
वुहान युनिभर्सिटी अफ टेक्नोलोजी

घर इटहरी हो, अहिले वुहान युनिभर्सिटी अफ टेक्नोलोजीमा सिभिल इन्जिनियरिङमा मास्टर्स गर्दै छु । यो युनिभर्सिटीमा १५ जना नेपाली छौँ । बिदाका कारण ६ जना मात्रै होस्टेलमा छौँ । एकजना स्विट्जरल्यान्ड गएका छन्, अर्को अस्ट्रेलिया, बाँकी नेपाल गएका छन् । 

अहिलेसम्म हामी सुरक्षित नै छौँ । डर र त्रासचाहिँ छ । बाहिर खासै निस्किएका छैनौँ । कोठामै बसिरहेका छौँ । ‘स्प्रिङ फेस्टिभल’को समय भएकाले अलि धेरै सामान किनेका थियौँ, त्यसैले बाहिर निस्कने बाध्यता छैन । बाहिर निस्कन डर पनि छ । युनिभर्सिटीका तर्फबाट लगातार म्यासेज आइरहेका छन् । त्यहीबाट हामी अपडेट भइरहेका छौँ । सार्वजनिक यातायात बन्द छ, त्यसैले नेपालीबीच पनि प्रत्यक्ष भेट्न अहिले सम्भव छैन । वी–च्याट ग्रुपमा कुरा भइरहेको छ । नेपाल सरकारले हाम्रोबारे केही सोचोस् भन्ने अपेक्षा छ । अमेरिकाले आइतबारदेखि आफ्ना नागरिक लग्दै छ । हाम्रो सरकारको त्यति क्षमता नहोला, तर केही न केही त गर्ला भन्ने आशा छ ।

घुम्न निस्केका थियौँ, बीचमै फसेका छौँ : समिन वैद्य
हुवाचोङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी, वुहान

मेरो घर कैलालीको टीकापुर हो । इलेक्ट्रोनिक इन्जिनियरिङ पढ्दै छु । फर्स्ट सेमेस्टर सकियो, यही वेला चिनियाँ नयाँ वर्षको बिदा पनि थियो । त्यसैले चारजनाको समूह बनाएर घुम्न निस्किएका थियौँ । 

नानजिङ, सांघाई, हाङचोउ, इयु घुमेर वुहान फर्किने तयारीमा थियौँ । हाम्रो लास्ट स्टप इयुमा थियो । एक रात त्यहाँ बसेर अस्ति बिहीबार वुहान फर्किने टिकट थियो । हाम्रो रेलको टिकट साँझको थियो, तर त्यही दिन बिहान १० बजेदेखि वुहान सहर ‘लक्ड–डाउन’ भयो । हामी बीचमै अड्किएका छौँ । 

एक दिन भनेर होटेल बुक गरेका थियौँ, तर दोस्रो–तेस्रो दिन बसेपछि होटलवालालाई शंका लागेछ । तिमीहरू कहाँबाट आएका हौ भनेर सोध्यो, हामी वुहानका विद्यार्थी हौँ भनेपछि उनीहरू सतर्क भएका छन् । धन्न अहिलेसम्म बस्न दिएका छन् । तर, हामीले व्यवस्था गरेको पैसा सकिन थालेको छ । अझै कति दिन बस्नुपर्ने हो भन्ने ठेगान छैन । वुहान तुरुन्तै सामान्य अवस्थामा फर्किने सम्भावना कम छ । यो सहरभित्रै जान कहिले पाइने हो थाहा छैन, जान पाए पनि डर छ । युनिभर्सिटीका साथीहरू पनि भन्नुहुन्छ, ‘तिमीहरू भाग्यमानी रहेछौ, बाहिरै छौ । उतैबाट नेपाल जाऊ ।’ हामीले पनि त्यही विचार गरेका छौँ, तर टिकट पाएका छैनौँ । टिकट पाए पनि महँगो छ । तर, जसोतसो गरेर नेपाल फर्कने तयारीमा छौँ । नयाँ पत्रिकामा खबर छ ।

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्