अग्निविरुद्धको रिट न्यायाधीश फुयाँलले नहेर्ने, हट्यो सभामुख निर्वाचनको अवरोध

सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलले सभामुखका उम्मेदवार अग्नि सापकोटाविरुद्ध परेको रिटमाथिको सुनुवाइ नगर्ने भएका छन् ।

सर्वोच्चको न्यायाधीश हुनुअघि फुयाँलले सापकोटाविरुद्धकै अर्को मुद्दामा बहस गरेका कारण उनले रिटमाथिको सुनुवाइ नगर्ने बताएको सर्वोच्च स्रोतले जनाएको छ ।


Advertisement

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सापकोटालाई सभामुख नबनाउन माग गर्दै शुक्रवार सर्वोच्चमा रिट दायर गरेका थिए ।

सर्वोच्चले त्रिपाठीको रिट निवेदन सुनुवाइ गर्न फुयाँलको एकल इजलास तोकेको थियो ।


Advertisement

'उहाँ आफैंले रिटमाथि सुनुवाइ नगर्ने अडान लिनुभएको छ,' सर्वोच्च स्रोतले भन्यो ।

यसअघि सापकोटाविरुद्ध सुशील प्याकुरेलले दायर गरेको मुद्दामा न्यायाधीश फुयाँलले अधिवक्ताका रूपमा बहस गरेका थिए ।

सापकोटालाई सभामुख निर्वाचित गर्ने तयारी रोक्न माग गर्दै परेको रिटमा आइतवार सुनुवाइ नहुने भएपछि संसदलाई सभामुख निर्वाचनको प्रक्रिया अगाडि बढाउन बाधा नपर्ने भएको छ ।

आइतवार अपराह्न ३ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सापकोटालाई निर्वाचित गर्ने कार्यसूची रहेको छ । सभामुखका लागि सापकोटाको एकमात्र उम्मेदवारी परेको थियो ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्