नेपाली राजाहरू सहभागी भएका भारतका ती गणतन्त्र दिवस [संस्मरण श्रृंखला– ३]

विन्देश दहाल
विन्देश दहाल

विन्देश दहाल लोकान्तर डट् कममा अन्तर्राष्ट्रिय राजनीतिबारे लेख्छन् । 

भारतले आइतवार ७१औं गणतन्त्र दिवस मनाइरहेको छ । बेलायती उपनिवेशबाट सन् १९४७ मा स्वतन्त्र भएपछि भारतले राष्ट्रिय संविधान बनाएर सन् १९५० को जनवरी २५ का दिन लागू गरेको थियो । संविधान लागू भएकै दिनलाई भारतमा गणतन्त्र दिवसका रूपमा मनाउने गरिएको छ । 

त्यस संविधानले सन् १९३५ को गभर्नमेन्ट अफ इन्डिया याक्टलाई प्रतिस्थापन गरेर देशलाई स्वतन्त्र गणतन्त्र बनाउने प्रक्रियालाई पूर्ण बनाएकाले त्यो लागू गरिएको दिनलाई गणतन्त्र दिवसका रूपमा मनाउने गरिएको हो ।


Advertisement

भारतले गणतन्त्र दिवसमा विभिन्न राष्ट्रप्रमुख तथा सरकारप्रमुखहरूलाई विशेष अतिथिका रूपमा निम्त्याउने गरेको छ । कूटनीति र आतिथ्यको मिश्रण गर्दै भारतले गणतन्त्र दिवसमा विदेशी राष्ट्रप्रमुखलाई निमन्त्रण गर्ने गरेको भारतीय विश्लेषकहरूको मत छ । 

वास्तवमा भन्ने हो भने गणतन्त्र दिवसको परेडमा प्रमुख अतिथिलाई कूटनीति मर्यादाको हिसाबले सर्वोच्च सम्मान दिइने गरिन्छ । कुन राष्ट्रप्रमुख वा सरकारप्रमुखलाई निमन्त्रण गर्ने हो भन्ने कुरा गणतन्त्र दिवस आउनुभन्दा ६ महिनाअघिबाटै विचार विमर्श गर्ने गरिन्छ ।


Advertisement

भारतको विदेश मन्त्रालयले कुन देशको सम्बन्ध भारतसँग कस्तो अवस्थामा छ भन्ने कुराको निर्क्यौल गरेर प्रधानमन्त्री तथा राष्ट्रपतिसमक्ष त्यसको अनुमोदनका लागि प्रस्ताव पठाएर अनुमोदन भएपछि उक्त देशको प्रमुखलाई निमन्त्रणा पठाउने गरेको छ । अर्थात्, भारतले गणतन्त्र दिवसमा निकै गम्भीरतापूर्वक तयारी गरेर प्रमुख अतिथि निम्त्याउने गरेको छ र प्रमुख अतिथिलाई सर्वोच्च कूटनीतिक सम्मान दिने गरेको छ ।

आन्तरिक कारण लगायतले कुनै वर्ष प्रमुख अतिथि नबोलाइएको, कुनै वर्ष दुईजना प्रमुख अतिथि बोलाइएको र कुनै वर्ष राष्ट्रप्रमुख नआइदिँदा सरकारका मन्त्रीलाई प्रमुख अतिथि बनाइएका दृष्टान्त पनि छन् । 
यसक्रममा यस वर्षको गणतन्त्र दिवसमा भारतले ब्राजिलका राष्ट्रपति जेर बोल्सोनारोलाई निम्त्याएको छ । 

छिमेकी मुलुक भएका नाताले नेपालले पनि भारतको गणतन्त्र दिवसमा उपस्थितिको अवसर प्राप्त गरेको छ । तर अनौठो संयोग भन्नुपर्ला, भारतको गणतन्त्र दिवसमा नेपालका राजाहरूलाई प्रमुख अतिथि बनाइएको इतिहास छ ।
सन् १९५१ मा राजा त्रिभुवन भारतको दोस्रो गणतन्त्र दिवसका प्रमुख अतिथि बनेका थिए । त्यतिखेर भारतमा डा राजेन्द्र प्रसाद राष्ट्रपति थिए र उनले राजा त्रिभुवनलाई न्यानो स्वागत गरेका थिए ।

भारतीय गणतन्त्र दिवसमा सहभागी राजा त्रिभुवन । तस्वीर : भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको ट्विटरबाट
राजा त्रिभुवनलाई २००७ सालमा भारतले प्रमुख अतिथि बनाउनुमा त्यसभन्दा अघिको ऐतिहासिक घटनाक्रम जिम्मेवार छ । जहाँनिया राणा शासनमा सुनको पिँजडामा कैद भएको र अपमान गर्ने गरिएको राजा त्रिभुवनलाई चित्त बुझिरहेको थिएन भनी एरिका ल्युखतागको पुस्तक विद अ किङ इन द क्लाउड्समा लेखिएको छ । 

त्यसैले राणाहरूको शासन ढाल्न उनले नेपालमा नेपाल प्रजा परिषद् लगायतका राणाविरोधी दलहरूलाई भित्रभित्रै सहायता गरिरहेका थिए । अनि भारतमा बारम्बार उपचारका लागि जाने क्रममा राजा त्रिभुवनले भारतमा निर्वासित नेपाली प्रजातान्त्रिक नेताहरूसँग पनि सम्पर्क राख्ने गरेको माइकल पेइसलको पुस्तक टाइगर फर ब्रेकफास्टमा पनि उल्लेखित छ ।

त्यसैक्रममा १९४९ सालको इन्द्रजात्राको दिन नेपाली कांग्रेस पार्टीले सैन्य कू गराउने अनि राजा त्रिभुवनलाई पश्चिम नेपाल बोलाएर नेपालमा संवैधानिक राजतन्त्रको घोषणा गर्ने योजना बनाएको थियो । तर राणाहरूले यो कुरा थाहा पाए अनि सेनाका शीर्ष दर्जाका अधिकारीहरूलाई पक्राउ गरे । त्यसपछि तत्कालीन राणा प्राइममिनिस्टर मोहनशसमशेरले उनलाई राजगद्दीबाट हटाउन खोजेका समेत थिए । 

अवसर मिलाएर राजा त्रिभुवन २००७ कार्तिक २१ गते शिकार खेल्ने बहानामा दरबारबाट सपरिवार निस्के अनि भारतीय दूतावासमा शरण लिन पुगे । त्यहाँ पाँच दिनसम्म रहेपछि भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुको हस्तक्षेपपछि राजा त्रिभुवन सपरिवार दिल्लीका लागि उडे । काठमाडौं र दिल्लीबीचको हवाईमार्गमा राणाहरूले प्रतिबन्ध लगाएर राजा त्रिभुवनलाई दिल्ली जान नदिने कोशिश गरे पनि भारतीय वायुसेनाका दुई विमानले राजा र राजपरिवारलाई दिल्ली पुर्‍यायो । 

त्यसपछि भारतले राणा शासनको अन्त्य गर्दै नेपालमा प्रजातन्त्र ल्याउनका लागि राजा त्रिभुवन र राणाहरूबीच सम्झौता गरायो । त्यसमा नेपाली कांग्रेसले पनि करबलले सहमति जनायो किनकि राणालाई पूर्ण रूपमा फ्याँक्ने कुरा उक्त सम्झौतामा थिएन । 

अनि नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र आयो । अर्थात् राणाहरूको पञ्जाबाट फुत्कनका लागि भारत गएकै बेलामा राजा त्रिभुवनलाई भारतले गणतन्त्र दिवसको प्रमुख अतिथि बनायो । राजालाई शरण दिएर अनि प्रमुख अतिथि बनाएर भारतले त्यतिखेर राणाहरूको एकमना शासन अन्त्यका लागि कूटनीतिक पहल गरेको थियो । कूटनीति र आतिथ्यलाई उसले यसरी एकैचोटि अघि बढाएको थियो । 

राजा त्रिभुवनलाई प्रमुख अतिथि बनाएको निकै वर्षपछि सन् १९९९ (२०५५ साल) मा उनकै नाति राजा वीरेन्द्रलाई भारतले गणतन्त्र दिवसको प्रमुख अतिथि बनायो । राजा वीरेन्द्रलाई प्रमुख अतिथि बनाउनुभन्दा डेढ वर्षअघि भारतले पोखरणमा आणविक परीक्षण गरेको थियो । आणविक परीक्षण गरेपछि अमेरिकाले उसलाई व्यापारिक प्रतिबन्ध लगाएको थियो र भारतलाई आफ्नो पक्षमा सरकारहरूको समर्थन आवश्यक थियो । 

२०५५ वैशाखमा आणविक परीक्षण गरेलगत्तै भारतका राष्ट्रपति के आर नारायणनले २०५५ जेठ १४ देखि १६ सम्म नेपालको राजकीय भ्रमण गरे । त्यसक्रममा उनले भारतले आणविक हतियार र युद्धमा जोड नदिएको पनि बताए अनि भारत र नेपालबीच द्विपक्षीय सहकार्यमा जोड दिए पनि । अनि उनले राजा वीरेन्द्रलाई भारत आउन निम्ता दिए ।

त्यही निम्तो स्वीकार्दै त्यसै वर्षको गणतन्त्र दिवसको अवसर पारेर राजा वीरेन्द्र र रानी ऐश्वर्याले वि.सं. २०५५ माघ १० देखि १५ सम्म भारत भ्रमण गरेका थिए ।

त्यतिखेर भारतमा भारतीय जनता पार्टीको सरकार थियो र अटलविहारी वाजपेयी प्रधानमन्त्री थिए । उक्त भ्रमणका क्रममा राजा वीरेन्द्रले दुई देशको सम्बन्धलाई उचाइमा पुर्‍याउनका लागि गरेको योगदानको भारतीय नेताहरूले प्रशंसा गरेको उल्लेख राजकुमार सिंहको पुस्तक ‘ग्लोबल डाइमेन्सन्स अफ इन्डो–नेपाल पोलिटिकल रिलेसन्स’मा लेखिएको छ । 

तिनै लेखकको अर्को पुस्तक ‘रिलेसन्स अफ यूपीए यान्ड एनडीए विद नेबर्स’को पृष्ठ १९९ मा गणतन्त्र दिवसको प्रमुख अतिथि बनाएर भारतले नेपालको राजतन्त्रलाई ‘उच्च सम्मान’ दिएको भनी लेखिएको छ ।

त्यसरी ‘उच्च सम्मान’ लाई उद्धरण चिह्नमा राख्नु भनेको पछि गएर भारतले राजतन्त्र फ्याँकनका लागि दिल्लीमा १२ बुँदे सम्झौता गराउनुप्रतिको व्यंग्य हुनसक्छ । तर तत्कालीन अवस्थामा भारत र नेपालमा छिटोछिटो सरकार परिवर्तन भइरहेको भए पनि राजा वीरेन्द्रले दुई देशको सम्बन्धलाई ‘उल्लेख्य मात्रामा उन्नयन’ (सिग्निफिकेन्ट अप्ग्रेडेसन) गरेको भनी त्यतिखेर भारतले प्रशंसा गरेको सिंहको पुस्तकमा उल्लेख गरिएको छ ।

भारतीय गणतन्त्र दिवसमा सहभागी राजा वीरेन्द्र । तस्वीर : भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको ट्विटरबाट
राजा वीरेन्द्रलाई गणतन्त्र दिवसको अतिथि बनाउँदा नेपाल र भारतको सम्बन्धमा अभूतपूर्व आत्मीयता आएको अवस्था थियो भन्न त मिल्दैन तर हिन्दूवादी पृष्ठभूमिको भाजपा सरकार र राष्ट्रिय स्वयंसेवक संघका सदस्य रहेका प्रधानमन्त्री अटलविहारी वाजपेयीले त्यतिखेरका एक मात्र हिन्दू राजालाई उच्च सम्मान दिएको सञ्जय उपाध्याय आफ्नो पुस्तक नेपाल यान्ड द जियो–स्ट्राटेजिक राइभलरी बिटवीन चाइना यान्ड इन्डियामा लेख्छन् । वाजपेयीलाई संसारकै एक मात्र आधिकारिक हिन्दू राज्यप्रति व्यक्तिगत चासो र सहानुभूति रहेको उपाध्यायको दाबी छ । 

डेढ वर्षअघि वाजपेयीको निधन हुँदा नेपालका पूर्व परराष्ट्रसचिव तथा राजदूत मदन भट्टराईले यस्तो प्रतिक्रिया दिएका थिए, ‘प्रधानमन्त्रीका रूपमा वाजपेयीले नेपालसँग सुमधुर सम्बन्ध बनाउनका लागि जोड दिएका थिए । उनले २०५५ मा राजा वीरेन्द्र र रानी ऐश्वर्यलाई नयाँ दिल्ली विमानस्थलमा आफैं उपस्थित भएर बिदाइ गरेको दृश्य म अझै पनि सम्झिन्छु । त्यतिखेर राजालाई गणतन्त्र दिवसमा अत्यन्तै उच्च सम्मान दिइएको थियो ।’

पछि राजा वीरेन्द्रको वंशनाश हुने गरी हत्या भएपछि नेपालमा ज्ञानेन्द्रको शासन आयो । उनले स्वेच्छाचारी चरित्र देखाउँदै शासन आफ्नो हातमा लिएपछि मूलधारका दलहरू र विद्रोही माओवादीबीच सहमति बनेर लोकतन्त्र र गणतन्त्रका लागि जनआन्दोलन चर्कियो । सात दल र माओवादीलाई भारतले नै १२ बुँदे सम्झौता गराएको थियो । 

नेपालमा गणतन्त्र आएको एक दशकभन्दा बढी समय भइसक्दा पनि नेपालका राष्ट्रपति वा प्रधानमन्त्रीलाई भारतले गणतन्त्र दिवसमा प्रमुख अतिथि बनाएको छैन । अझ भारतमा नरेन्द्र मोदीले सरकार बनाएर ‘छिमेकी पहिलो’ (नेबरहूड फर्स्ट) नीति ल्याएको भए पनि छिमेकी मुलुक नेपालको राष्ट्रप्रमुख वा सरकारप्रमुखलाई गणतन्त्र दिवसमा बोलाएर उच्च सम्मान दिएका छैनन् । 

भारतले गणतान्त्रिक नेपालका नेतालाई किन आफ्नो गणतन्त्र दिवसमा नबोलाएको होला भन्ने प्रश्नमा त्रिभुवन विश्वविद्यालयमा राजनीतिशास्त्रका सहप्राध्यापक दीपक गजुरेल भन्छन्, ‘भारतकै सदिच्छामा शासनमा पुगेका अहिलेका नेताहरूले भारतलाई देखिनेगरी वा नदेखिनेगरी बारम्बार धोका दिइरहेकाले उनीहरूप्रति भारतको अविश्वास छ । अविश्वास गरेकालाई उच्च सम्मान दिने कुरै आउँदैन ।’

‘राजसंस्था हुँदाखेरी ऊ जहिले पनि प्रतिष्ठामा बस्थ्यो र उसको आफ्नो मर्यादा हुन्थ्यो । त्यसैले भारतले राजाहरूलाई सम्मान गर्थ्यो । तर अहिलेका नेताहरूले त्यो मर्यादा कामय राख्न सकेनन् । अनि भारतले आफ्नो सुरक्षामा खतरा हुने गरी आईएसआई लगायतले नेपालको भूमिमा गतिविधि गरिरहेका छन् भनी चिन्ता व्यक्त गर्दै आएको छ । त्यसका लागि अहिलेको व्यवस्था र नेताहरू नै जिम्मेवार रहेको उसको ठहर छ,’ गजुरेलले थपे ।

हेर्नुहोस्, अघिल्ला भागहरू :

आमाको त्यो सपना, नरभूपालको चड्कन अनि पृथ्वीनारायणको जन्म ! [संस्मरण श्रृंखला– २]

दोस्रो विश्वयुद्धपछि क–कसले भोगे सुलेमानीकै नियति ? [संस्मरण श्रृंखला– १]

विन्देश दहाल
विन्देश दहाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्