सभामुख निर्वाचनमा सहयोग गरेको भन्दै कांग्रेसलाई पनि धन्यवाद दिए सापकोटाले

प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्रको मूल्य, मान्यता र आदर्शलाई कायम गर्दै जनताको सार्वभौम सर्वोच्च संस्थाको ओझ र गरिमालाई कायम राख्न आफू सधैँ दत्तचित्त र इमान्दार भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको आइतवारको बैठकबाट निर्वाचित भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभामुख सापकोटाले आफू तटस्थ, निष्पक्ष र सन्तुलित भूमिका निर्वाहका लागि लाग्ने स्पष्ट पारे ।


Advertisement

उनले आफूलाई उम्मेदवार बनाउने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तथा सहयोग गर्ने नेपाली काँग्रेस, राष्ट्रिय जनता पार्टी, सङ्घीय समाजवादी पार्टीलगायत सबैलाई धन्यवाद दिए ।

सर्वोच्च अदालतमा आफूविरुद्ध परेको पछिल्लो रिट निवेदनका सम्बन्धमा सोधिएको प्रश्नमा उनले कुनै प्रतिक्रिया दिएनन् ।


Advertisement

राष्ट्रपतिसँग शपथ लिएपछि नवनिर्वाचित सापकोटाले पदभार लिनेछन् ।

प्रतिनिधिसभाको आइतवारको बैठकमा नेकपाका नेता सापकोटा सर्वसम्मतरूपमा निर्वाचित भएका हुन् ।

बैठकमा सभामुखको हैसियतमा रहेका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुख पदका लागि एक मात्र उम्मेदवारीको सूचना प्राप्त भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ बमोजिम सापकोटा सर्वसम्मतरूपमा निर्वाचित हुनुभएको घोषणा गरेका थिए ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्