छाउपडी नियन्त्रणमा चुनौती कायमै, देवताकै डरले गयो १४ जनाको ज्यान

‘घरमाथि देवता छन् । त्यसैले छाउ हुँदा महिला घरभित्र बस्न सक्ने अवस्था छैन । झन् छाउगोठ भत्काएपछि त बिचल्ली भएको छ । बस्न घरगोठ दुवैबाट वञ्चित हुँदा महिला रोइरहेका छन् । पहिला यी समस्याबारे बुझ्नुप¥यो । विकल्प चाहियो ।’ मंगलसेन नगरपालिका ४ की आरती चन्द शाहले मंगलसेनमा आयोजित छाउपडी गोठ अन्त्यको अवस्थाबारे सार्वजनिक सुनुवाइमा गुनासोको पोको फुकाउँदै भनिन्, ‘छाउ अन्त्य गर्ने हो भने पहिला देवता व्यवस्थापन गरिदिनुस् ।’ 

सँगै थिए, प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ, डिएसपी दीपक भारती, र विभिन्न स्थानीय तहका जनप्रतिनिधि । अगुवा महिला, धामीझाक्री पनि थिए । उनी त्यतिमा मात्र रोकिइनन्, हुनेखाने र ठूला घर भएकाले जस्तै गरी खरको छानोमा बस्ने गरिब परिवारका महिलालाई महिनावारी हुँदा सँगै बस्न सक्ने सहजता नरहेको पीडा सुनाइन् । ‘खरको सानो छानोमा देवता, गाईवस्तु, घरपरिवार, खाने–पकाउने सबै गुजारा चलाइरहेकाहरूले महिनावारी हुँदा कहाँ बस्ने ?’ उनको प्रश्न थियो । जीवनस्तर नबुझी छाउगोठ भत्काउँदा महिलाले पाल, ओडार र ढोकोमुनि रातकाट्नुपर्ने बाध्यता आएको उनको भनाइ थियो । 


Advertisement

पीडा उनको मात्र छैन । मंगलसेन नगरपालिकाकी कार्यपालिका सदस्य पारू नगर्जीको पीडा बेग्लै छ । गोठ भत्काउन टोलीसहित गाउँ छिरेदेखि स्थानीय बारधमकोटी देवताका धामी नर ओडले उनलाई हरेक दिन ज्यान लिने धम्की दिएका छन् । ‘अभियानमा हिँडेदेखि मैले रातदिन धम्की सहनुपरेको छ,’ उनले भनिन्, ‘छोरीसमेत असुरक्षित छिन् । धामीले जहिल्यै देवता लगाउने धम्की दिइरहेको छ । मलाई न्याय कसले दिने ?’ टोलमा भएका छाउगोठहरूको विवरण संकलन गर्न गएदेखि नै उनलाई धामी ओडले धम्क्याएका हुन् ।  

स्थानीय पदमबहादुर शाहले पनि अभियानमा धामीहरू बाधक देखिएको बताए । ‘धामीहरू यो अभियानप्रति सकारात्मक छैनन्,’ उनले भने, ‘धामीहरूले यहाँ आएर छोरीबुहरी सबैलाई घरमा राख्छौँ भनेर प्रतिबद्धता जनाए पनि गएर त्यो व्यवहार गर्दैनन् ।’ मंगलसेनकी मनसरा ढुंगानाले केही सीमित धामीले महिनावारीका वेला सुरक्षित रूपमा घरमै बस्न आग्रह गरे पनि देवताको डरले महिला घर फर्किन अस्वीकार गर्ने गरेको बताइन् ।  


Advertisement

मंगलसेन नगरपालिकाका मेयर पदमबहादुर बोहराले अभियान प्रभावकारी बनाएरै छाड्ने दृढता सुनाए । जस्तोसुकै परिस्थिति आइलागे पनि छाउ बार्ने सबैलाई कानुनी कठघेरामा उभाइने उनले चेतावनी दिए । ‘जनप्रतिनिधि र कर्मचारीका घरमा छाउ बार्न गोठमा बसेको देखे पनि जेल हाल्छौँ । अब कुनै पनि बहानामा छाउ बार्न गोठमा बस्न पाइने छैन,’ उनले भने । छाउगोठ भत्काउने मात्र नभएर चेतना विस्तार गर्ने अभियानसमेत चलिरहेको भन्दै प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ र डिएसपी दीपक भारतीले अभियानमा सहयोग गर्न सबैलाई आग्रह गरे । तर, छाउपडी प्रथा अन्त्यमा चुनौती कायमै देखिन्छ ।

देवताकै डरले गयो १४ जनाको ज्यान 

अछाममा छाउ बार्ने चलनको मुख्य कारण देवी–देवता प्रतिको अन्धविश्वास हो । महिनावारी हुँदा घरमा बसे देवता लागेर जनधनको क्षति हुने भन्दै छुट्टै साँधुरो छाउगोठमा बस्ने चलन छ । जसका कारण पछिल्लो ११ वर्षमा १४ किशोरी र महिलाले ज्यान गुमाइसकेका छन् । छाउगोठमा बस्दा निसास्सिएर, आगोले जलेर र सर्पले डसेर उनीहरूको मृत्यु भएको हो । 

गत १६ मंसिरमा छाउगोठमा ज्यान गुमाएकी साँफेबगरको डिग्रेनीकी पार्वती बुढा राउत पनि देवताकै डरले छाउ बार्न गोठ बसेकी थिइन् । तर, अकालमै उनको ज्यान गयो । महिला अधिकारकर्मी पशुपति कुँवरले भनिन्, ‘त्यो गाउँमा देवताकै कारण गोठमा बस्छन् । छाउ हुँदा घरमा नबस्नुपर्ने अरू कुनै कारण छैन । यो समस्या जिल्लाभर छ ।’ 

२४ पुस ०७४ मा छाउगोठमा निसास्सिएर मृत्यु भएकी तुर्माखाँद गाउँपालिका ३ की गौरी बुढा र २८ जेठ ०७५ मा मृत्यु भएकी सोही गाउँपालिका ४ की पार्वती बुढाले पनि छाउबार्न गोठ बस्नुपर्ने अरू कारण थिएन । ‘उनीहरू दुवैजना घरमा बसे देवताले क्षति गर्ने भ्रमका कारण महिनावारी हुँदा रात कटाउन साँघुरो छाउगोठमा बसेका थिए,’ तुर्माखाँद गाउँपालिकाकी उपाध्यक्ष अमृता बुढाले घटना स्मरण गर्दै सुनाइन् । 

तीन वर्षअघि बान्नीगढी जयगढ गाउँपालिका ४ की डम्मरा उपाध्याय र वडा नम्बर १ गाज्राकी रोशनी तिरुवा पनि देउता खुसी बनाउन छाउगोठ बसेका थिए । उनीहरू दुवैले पनि मृत्यु रोज्नुप¥यो । छाउगोठमा छोरीको मृत्युभएपछि रोशनीका बुबा भरत बदलिएका छन् । तर, अरू धेरै भरत अन्धविश्वासमै छन् । जसलाई तोड्न निकै सकस परिरहेको छ । नयाँ पत्रिकामा खबर छ ।

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्