sarbottam and nepal life

सुशासन

पशुपन्छी मन्त्रालयको बिजोग, स्थापना दिवसमा मन्त्री नै आएनन् !

सुवास भट्ट

काठमाडौं, ८ पुस – भागबण्डा पु–याउनका लागि कृषि मन्त्रालयबाट फुटाइएको पशुपन्छी मन्त्रालयले शुक्रवार मन्त्रालय स्थापनाको प्रथम वार्षिकी मनाउँदै थियो । एक वर्षको वार्षिक समीक्षा र भावी योजना सम्बन्धमा मन्त्रालयमा औपचारिक कार्यक्रम तय गरिएको थियो ।

पशुपन्छी मन्त्रालयको समेत जिम्मेवारी सम्हालेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मन्त्रालयको महत्वपूर्ण कार्यक्रममा ५ गते नै निमन्त्रणा पठाइएको थियो । तर प्रचण्ड आफैंले सम्हालेको मन्त्रालयको वार्षिकोत्सव कार्यक्रममा आएनन् ।

कार्यक्रम आयोजना भएको झण्डै एकघण्टा बितिसक्दा पनि मन्त्री नआएपछि आयोजकलाई खलखली पसिना छुट्यो । अन्तिममा बल्ल प्रधानमन्त्री नआउने कुरा भयो । ‘मन्त्री नै नआउँदा साह्रै खल्लो भयो, नुनविनाको तरकारी खाएजस्तै भयो,’ मन्त्रालयका एक कर्मचारीले भने ।

बिहान सरकारी वकिलको राष्ट्रिय सम्मेलनमा भाषण गरेका प्रधानमन्त्री प्रचण्ड गोरखा महोत्सव उद्घाटन र गोरखामै एक निजी जलविद्युत् कम्पनीको विद्युत् उद्घाटनमा गएका रहेछन् । सट्टामा प्रधानमन्त्रीले आफ्ना सहयोगी रामदीप आचार्यलाई पठाइदिए । पशुपन्छी मन्त्रालयको विषयमा कुनै सरोकार नभएका आचार्यलाई विशेष अतिथि बनाइयो ।

‘प्रधानमन्त्री नआउँदा कार्यक्रम खल्लो महसूस भयो,’ पशुपन्छी मन्त्रालयका प्रवक्ता श्यामकृष्ण पौडेलले भने, ‘प्रधानमन्त्रीलाई जानकारी गराउनुपर्ने थुप्रै विषय थिए, छुटे ।’ प्रधानमन्त्री आउने भनेर सोही अनुसारको तामझाम गरिएपनि प्रचण्ड नआएपछि कार्यक्रम बेहुलाविनाको विवाह समारोह जस्तो देखिएको थियो । कार्यक्रम अवधिभर गाइँगुइँ चलिरहेको थियो ।

खासमा कार्यक्रममा प्रधानमन्त्रीलाई प्रमुख अतिथिका रूपमा निमन्त्रणा गरिएको थियो । उनी नआउने जानकारी पाएपछि आयोजकले संसदको कृषि तथा जलस्रोत समितिका वरिष्ठ सदस्य अमृत बोहोरालाई प्रमुख अतिथि बनाएर कार्यक्रम अघि बढाइएको थियो ।

आफ्नै मन्त्रालयमा जाँदैनन् मन्त्री

पशुपन्छी मन्त्रालयका अनुसार प्रधानमन्त्री चुनिएपछि पशुपन्छी मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री प्रचण्ड एकपटक पनि पशुपन्छी मन्त्रालय पुगेका छैनन् ।

‘समस्या पर्दा र केही जानकारी गराउनुपर्दा सचिव र सहसचिवज्यू स्वयं प्रधानमन्त्री कार्यालयमा पुगेर आवश्यक जानकारी गराउनुहुन्छ,’ उनले थपे, ‘तर प्रधानमन्त्री एकपटक पनि मन्त्रालय आउनुभएको छैन ।’ शुक्रवार, पौष ८, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ncell