ntc

सुशासन

शिलान्यास गरेको १२ वर्षमा पनि बनेन मनोहरामा तरकारी बजार

सुवास भट्ट

काठमाडौं, १७ पुस – शिलान्यास भएको १२ वर्ष पुग्दा पनि भक्तपुरमा निर्माण गर्ने भनिएको तरकारी तथा फलफूल थोक बजार निर्माण अलपत्र परेको छ ।

कालीमाटी तरकारी तथा फलफूल बजार साँघुरो भएको भन्दै तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०६१ सालमा मनोहरामा थोक तरकारी बजार निर्माणका लागि शिलान्यास गरेका थिए । तर, वर्षौं बितिसक्दा पनि उक्त स्थानमा तरकारी बजार निर्माणको काम अघि बढ्न सकेको छैन ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डका अनुसार मनोहरामा तरकारी बजार विस्तारका लागि उतिबेलै जग्गाको टुंगो समेत लागिसकेको थियो । तरकारी बजार निर्माणका लागि सरकारले सरकारी स्वामित्वको करीब ९७ रोपनी जग्गाको टुंगो समेत लगाइसकेको थियो । त्यही जग्गामा तत्कालीन प्रधानमन्त्री देउवाले शिलान्यास गरेका थिए ।

तरकारी बजार निर्माणका लागि उतिबेला जापान सरकारले कामसमेत अघि बढाएको थियो । तरकारी बजार निर्माणका लागि टेण्डर आह्वान भएर काममा प्रगति हुँदै थियो । तर, जग्गा विवाद र सुकुम्बासी समस्याका कारण काम बीचैमा रोकियो ।

सुकुम्बासी हटाउन नसक्दा निर्माण अघि बढ्न सकेन

तरकारी बजार बनाउने भनेर शिलान्यास समेत भइसकेको जग्गा उतिबेलैदेखि सुकुम्बासीले कब्जा गर्दै आएका छन् । ती सुकुम्बासीको उचित व्यवस्थापन गर्न नसक्दा निर्माण अघि बढ्न नसकेको बोर्डको भनाइ छ । ‘सरकारले निर्धारण गरेको जग्गामा तरकारी बजार निर्माण गर्ने निर्णय भए पनि त्यहाँ रहेका सुकुम्बासीको उचित व्यवस्थापन गर्न सकिएन,’ बोर्डका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले लोकान्तरसँग भने । जग्गामा रहेका सुकुम्बासीलाई अन्य स्थानमा प्रतिस्थापन नगरी तरकारी बजार निर्माणको काम अघि बढाउन नसकिने बोर्डको ठहर छ ।

‘सुकुम्बासी व्यवस्थापनको टुंगो नलागी र जग्गा खाली नभई तरकारी बजार निर्माण अघि बढाउन सकिन्न,’ बोर्डका कार्यकारी निर्देशक पौडेलले भने । सुकुम्बासी समस्या राजनीतिक भएकाले राजनीतिक तहमै समस्या सुल्झिनुपर्ने बोर्ड बताउँछ ।

कालीमाटी अत्यन्तै साँघुरो

बोर्डका अनुसार कालीमाटी तरकारी बजार बर्सेनि साँघुरो बन्दै गएको छ । ‘उपत्यकाको सालैपिच्छे बढ्दै गएको जनसंख्या र मागलाई हेर्दा कालीमाटी बजार अत्यन्तै साँघुरो छ,’ पौडेलले भने ।

बोर्डका अनुसार कालीमाटी तरकारी तथा फलफूल बजारको कुल क्षेत्रफल ४५ रोपनी मात्र छ । उक्त क्षेत्रफलमा झण्डै ५ सय तरकारी तथा फलफूलका स्टल छन् ।

उक्त तरकारी बजारबाट हाल दैनिक करीब ८ सय मेट्रिक टन तरकारी तथा फलफूल किनबेच हुने बोर्ड बताउँछ ।
‘उपत्यकाको तरकारी तथा फलफूल व्यवस्थापनका लागि कम्तीमा पनि सय रोपनी क्षेत्रफलको तरकारी बजार आवश्यक छ,’ कार्यकारी निर्देशक पौडेल भन्छन् ।

कालीमाटी बजार अहिले पनि काठमाडौं उपत्यकासहित छिमेकी जिल्लाहरूको तरकारी तथा फलफूल किनबेच गर्ने प्रमुख थलो हो ।

बोर्डका अनुसार कालीमाटी बजारले काठमाडौंको ६० देखि ७० प्रतिशत माग पूरा गर्दै आएको बोर्डको दावी छ । सरकारले २०४३ सालमा कालीमाटी तरकारी बजारको स्थापना गरेको थियो ।

कालीमाटीबाहेक बालाजु माछापोखरीमा पनि सरकारले तरकारी तथा फलफूलको थोक बजार निर्माण गरेको छ । तर, कालीमाटीको तुलनामा माछापोखरीको बजार निकै सानो छ । मूलतः यी दुइवटा बजारमार्फत उपत्यकामा तरकारी तथा फलफूलको थोक खरिद तथा बिक्री हुन्छ ।

तरकारी बजार विस्तारका लागि सरकारसँग पटक–पटक आग्रह गरे पनि हालसम्म मूर्त रूप पाउन नसकेको बोर्ड बताउँछ ।

ट्राफिक जामले समस्या, बजार चक्रपथबाहिर विस्तार गर्नुपर्ने

बोर्डका अनुसार कालीमाटी तरकारी बजार सञ्चालनका लागि धेरै अप्ठ्यारा झेल्नु परिरहेको छ । ट्राफिक जाम र खुला स्थानको अभावले व्यवस्थापनमा अवरोध सृजना गरेको बोर्ड बताउँछ । ‘तरकारी बजार व्यवस्थित गर्ने हो भने यसलाई चक्रपथबाहिर विस्तार गर्नुपर्छ,’ कार्यकारी निर्देशक पौडेलले भने ।

पछिल्लो समय सरकारले काठमाडौंको चोभारमा केन्द्रीय फलफूल तथा पुष्प थोक बजार स्थापना गर्ने काम अघि बढाएपनि बाहिरी चक्रपथले प्रभावित पार्ने देखिएपछि निर्माण कार्य प्रभावित भएको छ । आइतवार, पौष १७, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam