ntc

सुशासन

पुनर्निर्माणमा भाँजो हाल्दै प्राविधिक र इन्जिनियर, दैनिक चारजनाको राजीनामा

सुवास भट्ट


काठमाडौं, २४ मंसिर – भूकम्पपीडितका लागि निजी घर निर्माण गर्ने जिम्मेवारी बोकेर प्रभावित जिल्लामा खटिएका प्राविधिक र इन्जिनियरले अनेक बहानामा पुनर्निर्माणको काममा भाँजो हालेका छन् ।  शहरी विकास मन्त्रालयका अनुसार अहिलेसम्म २ सय ५० भन्दा बढी इन्जिनियरले राजीनामा दिइसकेका छन् । ‘दैनिक ३÷४ जना इन्जिनियरको राजीनामा आउने क्रम जारी छ,’ मन्त्रालयका प्रवक्ता शिवहरि शर्माले लोकान्तरसँग भने । राजीनामा गर्ने क्रम दिनदिनै बढिरहेको छ ।

इन्जिनियरले तलब सुविधा कम भएको, आफूहरूलाई आवासको उचित व्यवस्था नभएको लगायतका कारण देखाउँदै राजीनामा दिएको मन्त्रालयको भनाई छ । विभिन्न माग राखेर इन्जिनियरले राजीनामा दिँदा पुनर्निर्माणको काम प्रभावित भएको मन्त्रालयले जनाएको छ ।  ‘विभिन्न बहानामा प्राविधिक र इन्जिनियरले अड्को थाप्दा पछिल्लो समय पुनर्निर्माणको काममा सुस्तता छाएको छ,’ प्रवक्ता शर्माले थपे ।

सरकारमाथि ‘कलेक्टिभ बार्गेनिङ’ भयो : मन्त्रालय

मन्त्रालयले पुनर्निर्माणको संवेदनशील घडीमा राजीनामा र आन्दोलन गरेर इन्जिनियरहरूले सरकारमाथि ‘कलेक्टिभ बार्गेनिङ’ गरेको आरोप लगाएको छ ।
‘सरकारले अहिले भूकम्पपीडितलाई अनुदानको दोस्रो किस्ता वितरण गरिरहेको छ । जनताले पनि धमाधम घर बनाउन थालेका छन्,’ प्रवक्ता शर्माले भने, ‘यस्तो बेला आन्दोलन र राजीनामा दिएर इन्जिनियरहरूले सरकारमाथि कलेक्टिभ बार्गेनिङ (सामूहिक सौदाबाजी) गरेका छन् ।’

कानूनबाहिर गए कारवाही : प्राधिकरण

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशीाल ज्ञवालीले सबै जिल्लामा खटिएका इन्जिनियर र प्राविधिकको आवश्यकता हेरी समस्या समाधान गर्ने अधिकतम प्रयास गरिएको बताए ।

‘प्राविधिकको क्षमता, कार्यसम्पादन, खटिएको क्षेत्र हेरी भत्ता, बीमा लगायतका सुविधाका लागि राष्ट्रिय पुनर्निर्माण कार्यकारी समिति र निर्देशक समितिबाट निर्णय गरेर बजेट व्यवस्था गर्ने प्रयास भइरहेको छ,’ उनले भने, ‘केही समयभित्रै यो निर्णय कार्यान्वयनको चरणमा पुग्छ ।’

भत्ता र प्रोत्साहनको निर्णय कार्यान्वयनमा आएपछि इन्जिनियर र प्राविधिकको समस्या समाधान हुने उनले बताए ।
नियम र कानून बाहिर गएर स्थिति अराजक बनाउन खोजे कारवाही हुने उनले बताए । ‘यस्तो संवेदनशील घडीमा कसैले स्थिति बिथोल्न खोज्छ भने त्यस्तामाथि कारवाही हुन्छ,’ उनले थपे ।

प्राधिकरणका अनुसार भूकम्पप्रभावित सबै जिल्लामा गरेर २७ सय प्राविधिक, इन्जिनियर, सब इन्जिनियर र ओभरसियर कार्यरत छन् । यीमध्ये १३ सय ४६ इन्जिनियर, ६ सय ५० सब इन्जिनियर र ५ सय ७५ ओभरसियर छन् ।  प्राधिकरणका अनुसार हालसम्म १६ हजार निजी घर बनिसकेका छन् । शुक्रवार, मंसिर २४, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam