सम–सामयिक

छमछमी नाचेर मधेसमा भोट माग्दै शान्ता चौधरी (भिडियोसहित)


औराही बारा २८ भदौ - बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको वडा औराही भन्ने स्थानमा बुधवार नेकपा एमालेले चुनावी सभा आयोजना गरेको थियो । कार्यक्रमको प्रमुख अतिथि थिइन्, पूर्वसांसद एवं नेकपा एमालेकी केन्द्रीय सदस्य शान्ता चौधरी ।

एमालेको तर्फवाट मेयरमा उम्मेदवार डा. कृष्ण पौडेल केहीबेर सभामा सहभागी भएर फर्किहाले । मेयरका उम्मेदवारले भोजपुरी भाषामा भाषण गरेर फर्केपछि थारु बाहुल्य रहेको औराहीमा शान्ता चौधरीले भाषण शुरु गरिन् । ‘एमाले मधेस विरोधी पार्टी होइन, तपाईहरूको सेवक पार्टी हो’ झण्डै २ सय ५० को संख्यामा उपस्थित भेलालाई सम्बोधन गर्दै शान्ताले भनिन्, ‘दुई नम्बर प्रदेशमा पनि एमाले पहिलो पार्टी बन्छ ।’

उनले सभामा थारु महिलालाई पढ्न र सीप सिक्न उत्प्रेरित गरिन् । ‘म संसदको प्राकृतिक स्रोत साधन समितिको सभापति हुँदा अरुले लेखेको पनि पढ्न जान्दिन थिएँ, तर इच्छाशक्ति भए सकिंदो रहेछ’ स्थानीय महिलाहरुलाई पढ्न प्रोत्साहित गर्दै भनिन्, ‘अर्को बर्ष एसइइ दिने तयारीमा छु ।’

उनले परिपक्क नेताहरूको शैलीमा भाषण गरेर सर्वसाधारणको मन जितिन् । केही युवालाई खादा ओडाएर पार्टी प्रवेश गराइन् ।

मधेशमा शान्ता सेलीब्रेटी
प्रदेश नम्बर २ को चुनाव प्रचार प्रसारमा शान्ता चौधरी एमालेको ‘सेलीब्रेटी’ नेता बनेकी छिन् । औराहीको कार्यक्रम नसकिदै अर्को ठाउँको सभामा लैजान आयोजकहरू हतार हतार गर्दैथिए ।

हिँड्दा हिड्दै शान्ताले स्थानीय महिलालाई ‘रामराम बा’ भनेर सम्बोधन गरिन् । पश्चिम तराईका थारुको भाषा भोजपुरी बोल्ने महिलाले बुझेनन् । शान्ताले नेपालीमा नमस्कार भनेको भनिन् ।
‘थारुवान’ भनिने प्रदेश नम्बर ५ बाट चुनाव प्रचारका लागि शान्ता ‘मधेस’ आइपुगेकी हुन् । उनले बुधवार बारा र सर्लाहीका कार्यक्रममा सम्वोधन गर्दैछिन् । ‘बिहीवार सप्तरी पुग्ने कार्यक्रम छ, धेरै ठाउँवाट साथीहरुले अनुरोध गर्नु भएको छ’ शान्ताले भनिन् ।

जातीय मुद्दा उठेको छैनः
मधेस केन्द्रित दलका नेताहरुले जातीयको नारा लगाएपनि मधेसी बाहुल्य रहेको भनिएको प्रदेश नम्बर २ मा जातीय कुरा नपाएको उनले बताइन् । ‘पूर्वको नेता पश्चिम, पश्चिमको पूर्व, हिमालको नेता तराइ र तराइको नेता हिमाल पहाडमा पुगेमात्र सद्भाव फैलिन्छ’ शान्ताले लोकान्तरसँग भनिन्, ‘मधेसमा घुम्दा जातीयको भन्दा राष्ट्रियताको कुरा सुनें ।’ भदौ २८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस