Nic Asia
Tata /sipradi
Sarbottam Cement

सुशासन

लापरवाहीको हदः काम छोडेर नौ सरकारी कर्मचारी शेयर किनबेचमा व्यस्त

सुवास भट्ट

 

काठमाडौं, ८ मंसिर – सरकारी कर्मचारी कार्यालय समयमा शेयर किनबेचमा व्यस्त हुने गरेको पत्ता लागेको छ । राष्ट्रिय सतर्कता केन्द्रको अनुगमनले निजामति कर्मचारीले आचरण विपरित काम गरेको भेटिएको हो ।

केन्द्रले मंंगलवार गरेको अनुगमनमा सूचना तथा संचार मन्त्रालय, पशुपंक्षी मन्त्रालय, नेपाल राष्ट्र बैंक, उद्योग विभाग, सिंचाई विभागमा कार्यरत कर्मचारी शेयर किनबेचमा व्यस्त रहेका भेटिएका हुन् ।

nepalese_governement_official

काम छाडेर शेयर कारोबारमा संलग्न रहेको भेटिएपछि केन्द्रले विभिन्न निकायमा संलग्न ९ कर्मचारीको नामावली संकलन गरी कारवाहीको प्रक्रिया अघि बढाएको छ ।

‘नेपाल सरकारका कर्मचारीहरू कार्यालय समयमा कार्यालयमा बसी कामकाज गर्नुको सट्टा शेयर बजारमा लाइन लागेको भेटियो,’ सतर्कता केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले लोकान्तरसँग भने ।

केन्द्रले मंगलवार एनआइडिसी क्यापिटल मार्केटको कार्यालयमा बिहान साढे १० बजेदेखि दिउँसो साढे ३ बजेसम्म अनुगमन गरेको थियो । ‘कार्यालयको कामै छाडेर व्यक्तिगत कामका लागि हिँड्नु गैरजिम्मेवारीपूर्ण काम हो,’ लामिछानेले थपे ।

महालेखा परीक्षक कार्यालयका निर्देशक जयाराम घिमिरे, सूचना तथा सञ्चार केन्द्र, टेकुका जनस्वास्थ्य अधिकृत संजय कुमार दाहाल, संचयकोष ठमेलमा कार्यरत पाँचौ तहकी कर्मचारी संगिता लुइँटेल र निमावी तहका शिक्षक श्री प्रसाद ढुंगानाले कामै छाडेर शेयर किनबेचमा व्यस्त रहेको पाइएको केन्द्रले पुष्टी गरेको छ ।

officials

शेयर कारोवारमा व्यस्त रहने कर्मचारीहरूमा पशुपंक्षी मन्त्रालयका नासु खुमानन्द ज्ञवाली र सूचना तथा सञ्चार मन्त्रालयका कम्प्युटर अपरेटर श्री प्रसाद गौतम पनि छन् ।

त्यस्तै नेपाल राष्ट्र बैंकका सहायक निर्देशक दण्डप्रसाद खरेल, उद्योग विभागका कार्यालय सहयोगी रमेश महर्जन, सिंचाई विभागका कम्प्युटर अपरेटर प्रदीप शाहाले कार्यालयको कामै छाडेर शेयर कारोबारमा लागेको अनुगमनका क्रममा भेटिएको हो ।

केन्द्रले कार्यालय समयमा शेयर कारोवारमा भेटिएका कर्मचारीउपर कारवाही गर्न सम्बन्धित निकायलाई सिफारिस गरेको छ । आचरण विपरित काम गर्ने कर्मचारीलाई विभागीय कारवाहीदेखि बढुवा रोक्का, ग्रेड रोक्का लगायतको कारवाही हुन सक्ने कानुनी प्रावधान छ ।

पूर्वसचिव खेमराज नेपालले कर्मचारी कार्यालयको काम छाडेर निजी काममा व्यस्त हुनु गैरजिम्मेवारीको पराकाष्टा भएको टिप्पणी गरे । ‘निजामती सेवा ऐनले कुनै पनि कर्मचारीले कार्यालय समयमा कामै छाडेर व्यक्तिगत कामका लागि कम्पनी धाउने कुरालाई नियन्त्रण गरेको छ,’ उनले भने ।

त्यस्ता काममा लाग्ने कर्मचारीलाई निजामती सेवा ऐनअनुसार कारवाही हुने उनले बताए । कारवाहीका लागि सम्बन्धित मन्त्रालयले लोकसेवालाई प्रस्तावसहित सिफारिस गरेर लोकसेवालाई पठाउने र लोकसेवाले कारवाही गर्ने कानूनी प्रावधान रहेको उनले बताए ।

ती कर्मचारीलाई भविष्यमा अयोग्य ठहरिने र नठहरिने गरी दुई प्रकृतिका कारवाही गर्न सकिने उनले बताए । ‘अपराधको प्रकृतिअनुसार तिनीहरूलाई कारवाही हुन्छ,’ उनले थपे ।

शुक्रवार, मंसिर १७, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nic Asia
Nepal Life insurence
ncell