Ruslan
Tata /sipradi
Nic Asia

सुशासन

जस्तापाताबाट चुहिने शीतले रातभर निदाउँदैनन् भूकम्पपीडित [भिडियो]

विमल गौतम/सुशील पन्त

मेलम्ची (तालामाराङ), ४ पुस – गएको शनिवार । समय दिउँसोको २ बजे । वि.सं. १९९० सालको भूकम्पको एक वर्षअघि जन्मिएकी धनकुमारी कार्की (८४) हातमा हर्लिक्स बोकेर मेलम्ची बजारदेखि ६ किलोमिटर उत्तरमा पर्ने तालामाराङ गाउँको बीचमा रहेको सडकमा हिँड्दै गरेको भेटिइन् ।

एक त बुढ्यौली उमेर । त्यसमा पुस महिनाको चिसो । जीवनको उत्तरार्धमा रहेकी उनको आँखा त्यसैपनि रसाएका थिए । छोरा–बुहारीबाट अपहेलित उनी २०७२ वैशाख १२ को भूकम्पले घर भत्काएपछि छाप्रोमा बस्दै आएकी छिन् । यो उमेरमा छोरा बुहारीबाट अपहेलित भएर बस्नुको पीडामाथि भूकम्पले बज्रपात गरेको छ ।

भूकम्पले घर भत्काइदिएपछि केही दिन उनी खुला आकाशमै सुतिन् । निकै कष्ट भोगिन् । तर उनको दुःखमा छोराबुहारीले साथ दिएनन् । गाउँकै एक नातिसमानका युवालाई गुहारेर सानो टहरा बनाइन् । र त्यसैमा गुजारा गर्दै आएकी छिन् ।

आफूसँग भुकम्पपीडित परिचयपत्र नभएका कारण घर बनाउने टुङ्गो नलागेको उनले गुनासो गरिन् । ‘बर्खाभरि सर्पको त्रास, अहिले चिसोले लैजाला जस्तो भयो,’ उनले दुःख पोखिन् ‘घर बनाउने टुङ्गो छैन ।’
धनकुमारी कार्कीको पीडा भूकम्पपीडितको प्रतिनिधि घटना हो । भूकम्प गएको २० महिना पूरा हुँदा समेत घर बनाउन नपाउँदा सिन्धुपाल्चोक जिल्लाका अधिकांश भूकम्पपीडितको जस्तै मेलम्ची बजार वरपरका गाउँका पीडितको बिजोग भएको छ ।

सेवासुविधाको माग गर्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियरहरूले आन्दोलन चर्काइरहँदा दुई बर्खा र दुई हिउँद त्रिपाल र जस्तापातामुनि बिताएका सर्वसाधारण घर बनाउने पर्खाइमा छन् ।

मेलम्ची नगरपालिका नेपाने तालामाराङकी सीता थापाको परिवार खेतको गरामा बनाइएको छाप्रोमा बस्दै आएको छ । बर्खाको समयमा घर (छाप्रो) भित्र पानीको मूल फुटेपछि घर तालमा परिणत भयो ।
‘दुःख पनि कति आइलागेको ? बर्खामा कुनबेला सर्पले टोक्छ भनेर रातभर सुतिएन, अहिले जस्तापाताबाट चुहिने शीतले रातभर निद्रा लाग्दैन । चिसोले मार्ने भयो,’ उनले गुनासो गरिन् ।

विश्वव्यापी जलवायु परिवर्तनका कारण उच्च पहाडी भेगमा पनि सर्पको बिगबिगी देखिएको स्थानीयहरू बताउँछन् । बर्खाभरि घरमा सर्प नआएको कुनै दिन नभएको उनीहरूको भनाइ छ । ‘बर्खामा बच्चाबच्चीलाई सर्पबाट बचाउन मुश्किल प—यो । अहिले चिसोले बिरामी परेका छन्,’ स्थानीय जुना थापाले भनिन् ।

प्राकृतिक विपत्तिले आफूहरूलाई बिचल्लीमा पारेपनि सरकारले समेत पीडितको आँसु पुछ्न नसकेको पीडितहरूको गुनासो छ ।

त्यहाँका स्थानीयहरू आजकल रातमा राम्ररी निदाउँदैनन् । चिसो भगाउन आगो बालेर सुत्नुपर्ने बाध्यता छ ।
भूकम्पपीडितलाई दिने राहतको विषयलाई लिएर दलहरूले राजनीति गरिरहेको समयमा पीडितहरू चाहिँ कहिले घर बनाउन पाइएला भनेर बसेका छन् ।

नेपाने आसपासका क्षेत्रमा चिसोमा शीतबाट बच्नका लागि कतिपयले टिनको छाप्रोमाथि खर र पराल लगाउन लागेका छन् । ‘नक्सा पास नगरी घर बनाउन नपाइने रे । नगरपालिकाको मापदण्ड अनुसार बनाउँदा दुईकोठे घर बनाउन न्यूनतम ६ लाख रुपैयाँ लाग्ने रे । हामीले कसरी घर बनाउने ?’ जुनाले प्रश्न गरिन् ।

प्राधिकरणको मापदण्ड र नगरपालिकाबाट नक्सा पास गर्नुपर्ने झन्झटका कारण उनीहरूले घर बनाउने सुर गरेका छैनन् ।

स्थानीय जानुका थापाले सरकारले दिएको अनुदानबाट मात्र घर बनाउन समस्या पर्ने चिन्ता व्यक्त गरिन् ।
त्यहाँका भूकम्पपीडितले अहिलेसम्म राहतस्वरूप ५० हजार रुपैयाँ पाएका छन् । त्यसबाहेक केही नपाएको गुनासो गर्छन् ।


कतिपयले आफ्नै खर्चमा जस्तापाता किनेर अस्थायी छाप्रो बनाएका छन् भने कतिपय चाहिँ चामलका बोरा, स्याउला, खर र परालले बारबुर गरेर कामचलाऊ छाप्रोमा बस्न बाध्य देखिन्छन् ।
सरकारले घर बनाउन रकम दिने भनेर प्रचार गरेपनि त्यो कहिले दिन्छ भन्नेमा भूकम्पपीडितहरू ढुक्क देखिनएनन् ।

जस्तापाताबाट बनाइएका छाप्रोमा बस्नुपर्दा वैशाख जेठमा गर्मीले सताएको र अहिले चिसोले दुःख दिएको पीडा उनीहरूले पोखे । चिसोका कारण खासगरी बालबच्चा र वृद्धलाई बढी समस्या भएको उनीहरूको भनाइ छ । चिसोकै कारण घाँटीमा टन्सिल बढेको, बारम्बार रुघा खोकी लागेको, ज्वरो आउने लगायका समस्या दोहोरिरहेको उनीहरूले बताए । सोमवार, पौष ४, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nepal Life insurence
ncell