सुशासन

नेपाल यसरी बन्दैछ लागूऔषध तस्करहरूको ट्रान्जिट

केही दिनअघि प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले झण्डै तीन करोड मूल्य बराबरको डेढ किलो लागूऔषध कोकिनसहित दुई मलेसियाली नागरिकलाई पक्राउ गर्‍यो ।

पक्राउ पर्नेहरूको नाम एलिस जोसेफ र माहाजेन फिरान हो । प्रहरीका अनुसार त्यो कोकिन ब्र्राजिलको साओपाओलोबाट आबुधाबी काठमाडाैं हुँदै हङकङ लगिँदै थियो । तर प्रहरीले त्रिभुवन विमानस्थलबाट नेपाल भित्रिएको कोकिन ठमेलको होटलबाट नै नियन्त्रणमा लियो । यो घटना त एउटा पछिल्लो उदाहारण हो । यसअघि करीब ६ महिनाको अवधिमा लागूऔषध नियन्त्रण ब्युरोले ६ वटा यस्तै ठूला घटनामा सफलता हात पारिसकेको छ ।

६ महिनाका चर्चित ६ घटना
घटना नम्बर १
२.७२२ किलोग्राम कोकिनसहित दुई विदेशी पक्राउ
कोकिनको बजार मूल्य ५ करोड ४० लाख रुपैया“

घटना नम्बर २
५४ किलोग्राम लागूऔषध एम्फेटामाइन अस्ट्रेलिया पु—याएको आरोपमा तीनजना पक्राउ

एम्फेटामाइनको बजार मूल्य २७ लाख अमेरिकी डलर अर्थात २७ करोड रुपैया“

घटना नम्बर ३
तीन सय दुई ग्राम लागूऔषध एम्फेटामाइनसहित दुईजना पक्राउ

एम्फेटामानइको बजार मूल्य झण्डै १ करोड

घटना नम्बर ४
दुई किलोग्राम ६८३ ग्राम कोकिनसहित चारजना पक्राउ

कोकिनको बजार मूल्य झण्डै साढे ५ करोड

घटना नम्बर ५
४९२ किलोग्राम लागूऔषध रसायनसहित व्यवसायी रतन सांघाइ पक्राउ

रसायनको बजार मूल्य झण्डै ३२ करोड

घटना नम्बर ६
डेढ किलोग्राम कोकिनसहित दुई मलेसियाली नागरिक पक्राउ

कोकिनको बजार मूल्य झण्डै तीन करोड

प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले चैतको दोस्रो साता अन्तर्राष्ट्रिय बजारमा महङ्गो मानिने कोकिनलाई तरलमा परिणत गरी तस्करी गर्दै गर्दा दुई विदेशीलाई पक्रियो । त्यसयता भएका अपरेसनमा एम्फेटामाइन, कोकिन, लागूऔषध रसायन हुँदै अन्तिम डेढ किलो कोकिनसम्मको घटनामा आइपुग्दा ६ नया“ घटना सार्वजनिक भएका छन् ।

यस सम्बन्धमा लागूऔषध नियन्त्रण ब्युरोका प्रमुख डिआइजी जयबहादुर चन्द भन्छन्, ‘पछिल्लो ६ महिनायता सार्वजनिक भएका घटनासँगै लागूऔषध तस्करीमा सक्रिय अन्तर्राष्ट्रिय गिरोहले नेपाललाई ट्रान्जिट बनाएर लागूऔषध युरोपेली मुलुकमा पुर्‍याउने गरेको देखिएको छ ।

उता लागूऔषध विश्लेषक कृष्णप्रसाद त्रिपाठीका अनुसार पनि पहिले—पहिले लागूऔषध तस्करले ट्रान्जिट परीक्षणका लागि नेपाली भूमि प्रयोग गर्ने तर अहिले तस्करहरूले नेपाललाई ट्रान्जिट प्वाइन्टको रूपमा प्रयोग गरी भारत, फिलिपिन्स तथा युरोपेली मुलुकहरूमा लागूऔषध पठाउने गरेको देखिएको छ ।

ब्युरोका प्रमुख डिआइजी चन्द भन्छन्, ‘अहिलेसम्म भएका यी घटनामा पक्राउ परेकाहरू अन्तर्राष्ट्रिय गिरोहका सदस्य भएपनि मुख्य व्यक्ति भने होइनन् ।’

आर्थिक अवस्था कमजोर भएका सामान्य परिवारका व्यक्तिलाई गिरोहले प्रयोग गर्ने गरेको डिआइजी चन्दको भनाइ छ । पुस ५, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस