Nerolac and Nepal life

टिप्पणी

के विश्वमा रुसको पुनरुदय हुन लागेको हो ?

विन्देश दहाल

हालैका दुई घटनाले विश्वराजनीतिमा रुसको बलियो उपस्थितिलाई स्थापित गरेको देखिन्छ । पहिलो, अमेरिकाको राष्ट्रपति निर्वाचनमा रुसी ह्याकरहरूको हात रहेको भन्ने र डोनाल्ड ट्रम्पलाई फाइदा पुगेको भन्ने अमेरिकी जिम्मेवार अधिकारीहरुको अपुष्ट आरोप । दोस्रो, सिरियाको अलेप्पोमा रुसको समर्थन पाएको सिरियाली सरकारले पश्चिम समर्थक विद्रोहीहरूलाई हराएको घटना । पहिलो घटनाबाट शीतयुद्धपछि एकछत्र साम्राज्य चलाएको अमेरिकाको निरीहता झल्किन्छ भने दोस्रो घटनाबाट अमेरिका र युरोप सम्मिलित पश्चिमको पराजय प्रस्टिन्छ ।


हुन पनि शीतयुद्धको समाप्तिसम्ममा तहसनहस भएको रुस भ्लादिमिर पुटिनको उदयपछि भने उन्नतिपथमा अग्रसर देखिन्छ । आफूसँग भएको प्रचूर प्राकृतिक स्रोतलाई उपयोग गरेर रुस क्रमशः आर्थिक महाशक्ति बनिरहेको छ । प्रत्येक वर्ष उसको व्यापारमा अभिवृद्धि भइरहेको छ र संसारकै दोस्रो ठूलो सैन्यशक्ति उससँग छ । आणविक हतियार पनि प्रशस्त छन् रुससँग । शीतयुद्धका बेलामा जसरी नै अमेरिकालाई चुनौती दिने स्थितिमा छ रुस । यसरी आफ्नो आर्थिक विकास गरेर मजबुती हासिल गरेपछि रुसले विश्वराजनीतिमा चासो लिन थालेको छ ।

उता युरोपेली संघ रुसको उदयबाट त्रसित छ र उसलाई रोक्न राख्न उद्यत देखिन्छ । युक्रेनमा विद्रोह मच्चाएर रुसलाई अत्याउने र कृष्ण सागरको रणनीतिक भूभागमा कब्जा गर्ने पश्चिमको प्रयासलाई राम्रोसँग बुझेका पुटिनले क्राइमियालाई रुसमा गाभेर आफ्नो देशको सीमा थप मजबुत बनाए । पुटिनको यस कदमलाई दण्डित गर्न युरोपेली संघले रुसमाथि नाकाबन्दी लगाएर आर्थिक विप्लव मच्चाउन खोजेपनि त्यसको खासै असर नपरेको देखिन्छ । त्यसले त झन् रुसीहरूलाई पुटिनको पक्षमा लाग्न प्रेरित गरेको देखियो ।

यही बीचमा अतिवादी मुसलमानहरूले युरोपलाई तारो बनाएकाले पश्चिम त्यसैमा अल्झेर बस्नुपर्दा पनि रुसलाई फाइदा पुग्न गयो । इराक, सिरिया र लिबियामा पश्चिमले अनावश्यक द्वन्द्व मच्चाउँदा त्यहाँका धेरै मानिस युरोपतिर शरण खोज्न पुगे । आप्रवासीको भीडले युरोपेलीहरूको सहिष्णुताको कठिन परीक्षा लियो र आप्रवासलाई मन नपराउने उग्रदक्षिणपन्थीहरूलाई मौलाउने मौका दियो । रुस भने बाहिरका मानिसलाई आफ्नो देशमा स्थायी बसोवास गर्न प्रायः नदिने भएकाले आतंकवादको चपेटामा परेन । चेचेन्यामा चलेको द्वन्द्वलाई पनि आफ्नो समर्थनको सरकार बनाएर पुटिनले सामसुम बनाइसकेका छन् ।

तटस्थ भएर हेर्दा वास्तवमा रुसका पछिल्ला कदमहरू पश्चिमले बिगारेका काम बनाउनेतर्फ केन्द्रित देखिन्छ । रुसले सिरियाली राष्ट्रपति बशर अल-असदलाई मद्दत गरेर आतंकवादी समूह इस्लामिक स्टेट (आइएस) र असंख्य विद्रोही समूहलाई तह लगाउनुका पछाडि उसको साम्राज्यवादी सोच भन्दा पनि रणनीतिक सुरक्षाका लागि चालिएका कदमका रूपमा देखिन्छन् । यसका अलावा क्षेत्रीय स्थिरता पनि उसको लक्ष्य हो । रुस आफैंले द्वन्द्व निम्त्याएको होइन, पश्चिमले उचालेको द्वन्द्वलाई न्यूनीकरण गरेको हो ।

नाटो र युरोपेली संघले क्षेत्रीय स्थिरता र शान्तिको जतिसुकै नारा उचालेपनि रुसका विरुद्ध आक्रमणको तानाबाना बुनिरहेकोमा रुस चनाखो हुनु स्वाभाविक हो । उसले आफ्नो सीमाको सुरक्षाको कदम चाल्नुलाई बंग्याएर रुस नै विश्वव्यापी शान्ति र सुरक्षाको बाधक हो भनी चित्रित गरिरहेछ पश्चिमले । हुँदाहुँदा स्थिति यस्तो आइसकेको छ कि टर्कीमा रुसी राजदूतको मृत्यु हुँदा त्यसलाई निन्दा गर्नुको साटो पश्चिमी मिडियाले आक्रमणकारीको वाक्यलाई नै हेडलाइन बनाए र आतंवादीको मुखपत्र जस्तो देखिन पुगे । पुटिनफोबियाका साथसाथै आफ्नो प्रभुत्व गुमेको चिन्ता पनि पश्चिमले देखाइरहेको यसैबाट पुष्टि हुन्छ ।

हिजै मात्र डोनाल्ड ट्रम्पको राष्ट्रिय सुरक्षानीतिमा रुसलाई प्राथमिकता नदिइएबाट पनि पुटिनले अमेरिकाको चिन्ता लिनुनपर्ने देखाएको छ । अझ ट्रम्पका विदेशमन्त्री रेक्स टिलरसन त रुसनजिकका मानिस हुन् र उनलाई रुसले अर्डर अफ फ्रेन्डशिप नै दिएको छ । त्यसैगरी चीन र रुसबीचको सम्बन्ध पनि राम्रो भइरहेको छ । अनि बेलायतको बहिर्गमनपछि युरोपका अन्य देश पनि संघबाट बाहिरिनसक्ने सम्भावना जीवितै रहेको अवस्थामा युरोपले रुसलाई चुनौती दिन गाह्रै छ । यसकारण रुस महाशक्तिका रूपमा विश्वराजनीतिमा उदाउँदैछ । शीतयुद्धपछि अमेरिकाको एकध्रुवीय साम्राज्य चलेकोमा रुसको पुनरुदयले त्यसलाई सन्तुलनमा राख्ने अपेक्षा गरिएको छ । बुधवार, पौष ६, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
ncell